नागरिक पोष्ट News


समाचार साभार गर्दा पत्रकार प्रहरी हिरासतमा, समाचार लेखेकै भरमा हिरासतमा लिन पाइँदैन -काउन्सिल

2.5K

समाचारले चरित्र हत्या गरेको भन्दै परेको मुद्दामा प्रहरीले खोजतलास साप्ताहिक र खोजतलासडटकमका प्रकाशक तथा प्रधानसम्पादक राजु बस्नेतलाई प्रहरीले सोमबार बिहान उनको घर ललितपुर ठेंचोबाट पक्राउ गरेको छ।

खोजतलास  साप्ताहिक र खोजतलासडटकमले दृष्टि साप्ताहिकमा प्रकाशित ‘हरिसिद्दि को जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सांसदहरूकै दबाब’ शीर्षकको समाचार साभार गरेको थियो। दृष्टिमा उक्त समाचार ‘जनप्रतिनिधि कि जग्गा दलाल’  शीर्षक छापिएको थियो। समाचार नेकपाकी सांसद पम्फा भुषाललगायत हरिसिद्दि इँटा उद्योगको जग्गा व्यक्तिको नाममा नामसारी गर्न दबाब दिएको उल्लेख छ। सो समाचारले आफ्नो चरित्र हत्या भएको भन्दै सुशील खनालले बस्नेतविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका थिए।

जिल्ला अदालतले पक्रनु भनेकाले समातेका हौं ’ ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले  भने, ‘अदालतले दिएको म्यादसम्म उहाँ हिरासतमै रहनुहुन्छ।’ अदालतले बस्नेतलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सांसद भुषालले आफू बस्नेतविरूद्ध मानहानीको मुद्दा लिएर अदालत जाने बताइन्। 

समाचार प्रकाशन गर्ने दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले समाचारको विषयमा उजुरीकर्ताले आफूहरूसँग कुनै छलफल नगरेको बताए। श्रेष्ठले भने, ‘यस्ता विषयमा पत्रकार समातेर हिरासतमा लिनु साइबर क्राइम कानुनको दुरूपयोग हो। राज्यआतंक हो।’

पत्रकार  र समाचारका विषयमा परेका उजुरीको छानबिन गर्ने आधिकारिक निकाय प्रेस काउन्सिल नेपालले भने बस्नेत पक्राउ परेको औपचारिक जानकारी नआएको बताएको छ।

पहिला यस्तो कुरा आउँदा प्रहरीले हामीलाई जानकारी गराउँथ्यो तर यसपालि केही सूचना दिएन,’ काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भने समाचार लेखेकै भरमा पत्रकारलाई प्रहरीले हिरासतमा लिन पाइँदैन। जे भयो गलत भयो। यस घटनामा थप क्षति हुन नदिने पहल गर्छौं,’। 

- Setopati.com

Must View