काठमाडौंको प्रदुषित हावापानी, मानिसहरुमा नाक, कान, घाँटीको समस्यै समस्या
काठमाडौंको वायु यति दूषित छ कि, त्यसले हरेक क्षण नगरवासीको फोक्सोलाई शिथिल बनाइरहेको छ । यही कारण त अहिले नाक, कान, घाँटीको समस्याले नगरवासी आक्रान्त छन् ।
यस हिसाबले अक्सिजनको सिलन्डिर नै पछाडि बोकेर हिडेको अतिरिञ्जित तस्विर, भिडियो कुनै दिन काठमाडौंको वास्तविकता नबन्ला भन्न सकिदैन ।
धुलो, धूवाँ तथा ध्वनि प्रदूषणले मानिसहरूमा नाक, कान, घाँटी र छातीसम्बन्धी समस्या बढाएका छन् । बालबालिका र वृद्धवृद्धाको रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले प्रदूषणको कारण उनीहरूको जीवन बढी जोखिममा छ ।
धूवाँ, धुलो र प्रदूषणले नाक, कान, घाँटीको स्वास्थ्यमा यस्ता समस्या देखिन्छन्ः
-नाक, कान, घाँटीमा एलर्जीको समस्या तथा रुघाखोकीको समस्या बढ्छ ।
-धुलो धूवाँको कारण घाँटीमा संक्रमण भएर टन्सिलाइटिस हुन सक्छ ।
-एलर्जीको समस्या बढ्दै गएर कहिलेकाहीं पिनासको समस्या पनि निम्तन सक्छ र नाकमा मासु पलाउने समस्या बढ्छ ।
-ध्वनि प्रदूषणको कारण वा चर्को ध्वनि आउने क्षेत्रमा धेरै समय बस्नाले मानिसको श्रवण शक्तिमा विस्तारै ह्रास आउँछ र मानिसहरू तिखो स्वर सुन्न नसक्ने हुन्छन् ।
-त्यस्तै नाकको बाटो हुँदै छातीमा धुलो, धूवाँ पस्छ र त्यसले दम, निमोनिया लगायतका अन्य समस्या देखिन्छन्। छातीको क्यान्सर समेत हुन सक्छ भने मुटुसम्बन्धी रोगहरूको जोखिम पनि बढ्छ ।
प्रदूषणको कारण नाक, कान, घाँटीमा निम्तने स्वास्थ्य समस्याबाट जोगिन निम्न उपाय अपनाउनुपर्ने उनको सल्लाह छः
-प्रदूषणबाट बच्न लागि धुलोधूवाँ धेरै हुने ठाउँमा जान कम गर्ने । त्यस्तै ध्वनि प्रदूषणबाट उत्पन्न हुन सक्ने कानको समस्याबाट बच्न धेरै कोलाहल र कर्कश आवाज आउने ठाउँमा धेरै नबस्ने ।
-धुलो धूवाँयुक्त स्थानमा जानैपर्ने भएमा अलि बाक्लो खालको मास्क प्रयोग गर्नुपर्छ । पातला मास्कले त खासै प्रभावकारी रूपमा धुलो धूवाँबाट बचाउन सक्दैन। बाक्लो खालको विशेष मास्क लगाए प्रदूषणको असरबाट धेरै हदसम्म बच्न सकिन्छ ।
-वातावरणमा कीटाणु, भाइरस सबै कुरा हुन्छन् त्यसैले तिनबाट जोगिन रुघाखोकी लागेका मानिसहरूको वरिपरि जानु हुँदैन। यसो गर्दा रुघाखोकी र छातीको इन्फेक्सनबाट बच्न सकिन्छ ।