मोटरसाइकल चलाउने युवायुवतीलाई ढाडको गम्भीर समस्या, बेलैमा सावधानी अपनानुहोस् !
मोटरसाइकल हाँक्दै हुनुहुन्छ भने पटक पटक सोच्नेपर्ने हुन्छ । किनकी लामो समय स्कुटी वा मोटरसाइलकल चलाउँदा यसले दिर्घकालमा स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने देखिएको छ ।
काठमाडौको सडकको दुरावस्थाले गर्दा निरन्तर मोटरसाइल तथा स्कुटरलाई यात्राको साथी बनाउनु आत्मघाती हुने देखाएको छ । काठमाडौं वा अन्य ठाउँको खाल्डाखुल्डीमा नियमित मोटरसाइकल चलाउनेमध्ये धेरैमा घाँटी तथा ढाडको समस्या देखिने ट्रमा सेन्टरका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.बद्री रिजाल बताउँछन् । बाइक तथा स्कुटीमा यात्रा १८ देखि ३०र३५ वर्ष उमेर समूहका युवायुवती घाँटी तथा ढाडको समस्या लिएसर ट्रमा सेन्टरमा जाने गरेका छन् ।
‘सामान्यतया मोटरसाइकलचालकलाई अगाडि खाल्डाखुल्डी भएको पूर्वजानकारी छ भने उसले आˆनो शरीरलाई पहिल्यै तयारी बनाउँछ । तर, अचानक खाल्डोमा पर्दा भने चालकको शरीर तयारी अवस्थामा हुँदैन । यस्तो बेलामा मांसपेशी तथा नशाहरु च्यातिने सम्भावना हुन्छ ।’
कहिले काहीँ बाइक चलाउँदा शरीरको सन्तुलन मिल्दैन । शरीरको लोड एक ठाउँमा मात्रै पर्दा उक्त ठाउँको मांसपेशी थाक्ने तथा च्यातिने गर्छ । यसले गर्दा ढाडमा पीडा हुने गर्छ ।
बसमा लामो यात्रा गर्ने, दैनिक एक/डेढ घण्टा बाइक चलाउने तथा लामो समय एउटै आसनमा बसेर काम गर्नेहरुमा समेत यो समस्या देखिन्छ । ४० वर्ष बढि उमेरका मानिसहरुमा पनि यो समस्या छ । यस उमेरमा शरीरको हड्डी कमजोर हुन थाल्ने भएकाले पनि बढि जोखिम हुन्छ ।
डा. रिजाल भन्छन्, ‘ढाड तथा घाँटीबाहेक हात तथा घुँडाका जोर्नी, कुम, हत्केलालगायत शरीरका अन्य अंगहरुमा पनि क्षति पुग्न सक्छ । जसले गर्दा ती ठाउँका जोर्नी तथा लिगामेन्ट च्यातिने र मर्किने सम्भावना उच्च हुन्छ । समयमै उपचार नगरेको खण्डमा यस्ता दुखाइले ‘क्रोनिक पेन’का रुप लिन सक्छ ।’
ढाड सम्बन्धी समस्या भएमा यी लक्षणहरु देखा पर्छन् –
– ढाड, कुम, घाँटी तथा शरीरका अन्य अंगमा पीडा महसुस हुने – आधा घण्टाभन्दा बढी समय कुर्सीमा बस्न नसक्ने – धेरै थकाइ लाग्ने – थोरै काम गर्दा पनि मांसपेशी गल्ने, झम्झमाउने, हातखुट्टा निदाउने – थोरै हिँड्दा खुट्टा तथा घुँडा दुख्ने
यस्ता लक्षणहरु भएमा तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
दैनिक जीवनशैलीमा सन्तुलित भोजनदेखि बस्ने पोजिसनसम्म पर्छन् । सन्तुलित आहारमा भिटामिन, मिनरल्स, प्रोटिन, कार्बोहाइड्रेड, क्याल्सियम, भिटामिन ‘डी’ लगायत पर्छन् । तर, आजकलको व्यस्त जीवनशैलीका कारण शरीरले पर्याप्त मात्रामा पोषणतत्व पाइरहेको हुँदैन । जुन शरीरका लागि आवश्यक छ ।
त्यस्तै, व्यस्त जीवनशैलीका कराण शरीरले पर्याप्त मात्रामा आराम पाउँदैन । जबकि, पञ्चतत्व (आकाश, पृथ्वी, जल, अग्नि, वायु) द्वारा निर्मित मानव शरीरलाई चलायमान बनाउनका लागि कामसँगै आरामको पनि आवश्यकता पर्छ ।
व्यस्त जीवनशैलीका बीच ढाडको बोझ कम गर्ने सबैभन्दा उत्तम उपाय भनेको दिनमा कम्तिमा चार किलोमिटरको हिँडाइ हो । त्यसबाहेक, फिजियोथेरापिस्टको एक्सरसाइज गरेर पनि ढाड तथा मेरुदण्डलाई बलियो बनाउन सकिन्छ ।