नागरिक पोष्ट News


Om Prakash Mishra २८ औँ प्रधानन्यायाधीश बने मिश्र !

4.2K
'शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्मको यात्रा’ यस्तो छ

२८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा ओमप्रकाश मिश्र  २०७५ भाद्र २५ गते नियुक्त भएका छन् । नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभयो । 

रुपन्देही जिल्ला रायपुरमा विसं २०१० पुस २८ गते पिता महेशदत्त र माता अन्नपूर्ण मिश्रको सन्तानका रुपमा जन्मनुभएका ओमप्रकाश मिश्रले विसं २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गरेका थिए।

त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक, राजनीतिकशास्त्रमा स्नातकोत्तर र भारत नयाँदिल्ली विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर मिश्रले कानून मन्त्रालयमा शाखा अधिकृतका रुपमा काम गर्दागदै २०४२ साल कात्तिक ११ देखि मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा जगेडा जिल्ला न्यायाधीशका रुपमा काम शुरु गरे।

banner

त्यसैगरी उनले जाजरकोट, प्युठान, कैलाली, मोरङ र काठमाडौँमा जिल्ला न्यायाधीशका रुपमा क्रियाशील भएर काम गरे। मिश्रले विसं २०६२ चैत १० गतेदेखि पुनरावेदन अदालत विराटनगरको न्यायाधीशका रुपमा काम शुरु गरी विशेष अदालत हुँदै २०६९ पुस २६ गतेदेखि तत्कालीन पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधीशका रुपमा काम गरे।

वातावरण र भ्रष्टाचार मुद्दामा छवि 

विसं २०७१ जेठ १३ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशका रुपमा काम शुरु गरेका मिश्रले वातावरण, भ्रष्टाचारलगायत मुद्दामा राम्रो फैसला गर्ने न्यायाधीशको छवि बनाएका छन्। मिश्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्यायिक अनुभव पनि छ।

नवनियुक्त प्रधानन्यायाधीश मिश्रले जापान र दक्षिण कोरियामा पुगेर मेलमिलाप पद्धतिको थप विकास र परिमार्जनसम्बन्धी अध्ययन गरेका छन । सूचना प्रविधिलाई थप प्रभावकारी बनाउन उहाँले चीनको अदालतको अभ्यासको अध्ययन गरेका छन् ।

त्यसैगरी न्यायपालिकाको योजना, अभ्यास र प्रक्रियाका सम्बन्धमा फ्रान्स, जर्मनी, बेलायत, बेल्जियम र अमेरिकामा उनले अध्ययन भ्रमण गरेका छन् । उनले मुद्दा व्यवस्थापन र मेलमिलाप सम्बन्धमा जापान र न्याय प्रणाली एवं न्यायपालिकासम्बन्धी अध्ययनमा अष्ट्रेलिया, श्रीलङ्का र फिलिपिन्सको अध्ययन भ्रमण गरेका छन्।

Must View