प्यारागोनिमियासिस ठ्याक्कै क्षयरोगसँग मिल्दो छ, “कहिलेकाँही दुबै रोगलाई औषधीले छुदैन
प्यारागोनिमियासिस रोगको अर्को पक्ष झन् डरलाग्दो छ । यो रोगको प्रकृति क्षयरोग (टीबी) सँग ठ्याक्कै मिल्छ । दुबै रोगहरू नेपालमा उल्लेख्य मात्रामा व्याप्त छन् । प्यारागोनिमियासिसको पहिचान गर्न केही कठिनाइ भएका कारण मात्र यसको उपस्थिति कम देखिएको हो । हुन त अधिकांश अवस्थामा यस रोगलाई पनि क्षयरोग नै मान्ने गरिएको छ ।
दुबै रोगका लक्षण पनि उही नै हुन्ः छाती दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, बेलाबेला ज्वरो आउने । दुबैले आक्रमण गर्ने भनेको फोक्सोलाई नै हो । दुबै रोगको पहिचानका लागि अपनाइने प्रविधि पनि उही हो ।
प्यारागोनिमियासिसका बिरामीको खकारमा परजीवीका फुल देखिन्छन् भने क्षयरोगका बिरामीमा यस्तो देखिँदैन । तर, समस्या के हो भने खकार जाँचले सधैँ यस्तो फुल देखाउन सक्दैन ।
“परजीवीको फुल देखिने सम्भावना शत प्रतिशत भएको प्रविधि पनि विकास नभएको होइन । प्यारागोनिमियासिसको परीक्षणका लागि यो प्रविधि एकदमै उपयोगी हुन्छ,” तर त्यो प्रविधि हालसम्म नेपालमा उपलब्ध छैन ।
रोगसँग जुध्ने इसिनोफिल्स नामको सेता रक्तकोषको सङ्ख्यामा आएको परिवर्तनले पनि यो रोग क्षयरोग हो कि प्यारागोनिमियासिस भन्ने सङ्केतसम्म दिन्छ । प्यारागोनिमियासिसको हकमा यो सङ्ख्या बढेर जान्छ ।
रोग पहिचानका लागि यी सबै दोस्रो प्र्राथमिकताका कुरा हुन् । बिरामीले विगत एक वर्षभित्र आफूले काँचो गँगटा वा यस्तै किरा खाएको वा नखाएको बताए भने रोग पत्ता लगाउन सबभन्दा सजिलो हुन्छ ।
गलत औषधीका जोखिम
प्यारागोनिमियासिसलाई क्षयरोग भनी गलतरूपमा पहिचान गरेपछि डाक्टरहरूले क्षयरोगकै औषधी लेखिदिन्छन् । तर, यसको असर एकदमै भयावह हुन्छ ।
क्षयरोगका सामान्य बिरामीमा औषधीले केही महिनाभित्रै काम गर्न थाल्छ । “कहिलेकाँही औषधीले काम गर्दैन । हामी सोच्छौँ कि बिरामीको रोग एकदमै बलियो छ । हामी त्यसैअनुसार बलियो औषधी चलाउन थाल्छौँ । प्यारागोनिमियासिसका हकमा पनि औषधीले काम गर्दैन, तर अझ बलियो औषधी चलाउँदा अझ धेरै नराम्रा असर देखिन्छन् ।”
डा. रञ्जित साह थप्छन्, “क्षयरोगको औषधी साइड इफेक्टका लागि कुख्यात छन् । प्यारागोनिमियासिसका बिरामीलाई त्यो औषधी दियो भने करिब दुई वर्षभित्र उसको मृत्यु निश्चित छ ।”
प्यारागोनिमियासिस तिन प्रकारका हुन्छन् । पहिलो प्रकारले फोक्सोलाई असर गर्छ जसलाई पल्मोनरी प्यारागोनिमियासिस भनिन्छ । दोस्रो प्रकारले मस्तिष्क लगायतका अन्य अङ्गलाई असर गर्छ जसलाई एक्स्ट्रापल्मोनरी प्यारागोनिमियासिस भनिन्छ ।
तेस्रो प्रकारले फोक्सोको आवरणलाई असर गर्छ जसलाई प्लुरोपल्मोनरी प्यारागोनिमियासिस भनिन्छ । पल्मोनरी प्यारागोनिमियासिसको मुख्य जोखिम गलत पहिचान, गलत औषधी र अकाल मृत्यु हो भने एक्स्ट्रापल्मोनरी प्यारागोनिमियासिसको जोखिम फरक, तर उत्तिकै डरलाग्दो छ ।
यदि यो रोगले दिमागलाई असर गर्याे भने बिरामीलाई नियमित टाउको दुख्त, पक्षघात हुन्छ र छारे रोग लाग्छ । यस्ता बिरामी पल्मोनरी प्यारागोनिमियासिसका बिरामीभन्दा धेरै बाँचे पनि उनीहरूको जीवन अत्यन्त कष्टपूर्ण हुन्छ, ।