नागरिक पोष्ट News


बिमिस्टेक १ - २ - ३.. राजधानीबासीले भोगेका ३ दिनका पाँच पाटा ।

4K

बिमिस्टेक - १

काठमाडौं उपचारका लागि ल्याइएकी आमा बितेर पशुपति आर्यघाटमा पुर्‍याइएको छ , छोरो पोखराबाट माइक्रोबस चढेर आएको कलङ्कीमा जाममा परे । नेताजीलाई सुरक्षा दिनका लागि भएको सरकारी बन्दले आमाको अन्त्येष्टिमा पाँच घन्टा ढिलो भयो । उनको सरापले नेताजी ढल्ने भएको भए ठाउँका ठाउँ ठहरै हुने , कसो श्रापले मान्छेलाई केही हुँदैन र पो ।

बिमिस्टेक - २ 

छोरी बिरामी भएर टिचिङ अस्पताल महाराजगन्जमा राखेको छ । उनी चढेको बस लैनचौरबाट महाराजगन्जतिर नभई ट्राफिक पुलिसले गोङ्गबुतिर पठाइदियो । हातमा खानाको झोला छ , आँखामा आँसुका धारा । उनको सरापले दुई तिहाइको दम्भ नासिने भएको भए आजै सरकार ढलिसक्थ्यो ।

बिमिस्टेक - ३

छिमेकी गुहारेर बल्लतल्ल पाएको प्राइभेट जागिर । अफिस पुग्नुपर्ने बिहान साढे आठमा , साढे दससम्म पनि यो गल्ली र त्यो गल्ली कुद्दै छ । असिनपसिन हुँदै तीन घन्टा हिँडेर पुगेको अफिसमा बोसको आँखा तराइबाट तर्सेको मनलाई जनपक्षीय समाजवादी सरकारको विदेशी चाकरीको कुन ओखतीले निको पार्ला ? 

बिमिस्टेक -४ 

दीर्घ रोगी बाबुलाई taxi मा राखेर नियमित डाइलोसिस गराउन हिँडेको ऊ जाममा परेको डेढ घन्टा भयो । अस्पताल पुग्न अझै पन्ध्र मिनेट लाग्छ । बुढा बाबुलाई झारेर हिँडाउन नि सक्दैन , जाम खुल्ने सम्भावना पनि देखिँदैन । Taxi को waiting बिलले सातो लिइसक्यो , बाका कन्चटबाट बगेका पसिनाले उहाँको कष्ट उसले अनुमान लगाइसक्यो । taxi को बिल र बाको कष्टले उसका दाह्रा किटिएका छन् । आफ्नो मतका कारणले पाएको यो पीडाको छुटकारा उसलाई कसले दिन सक्छ ?

बिमिस्टेक-५

माइजूलाई मोटरसाइकलले ठक्कर दिएको खबर आउँछ । आफू कलङ्की , पुग्नुपर्ने अत्तरखेल । कुर्ने मान्छे नभएर मामाले पालो दिन भान्जी बोलाएका । आफ्नो स्कुटीको नम्बर जोर , आज बिजोर मात्र चलाउन पाइने । चोकमा उभिएर गाडी कुरेको एक घन्टाभन्दा पनि बढी भयो । गाडी आउनै महाभारत , आएको गाडीमा तिल राख्ने पनि ठाउँ छैन । मन पोलेर खलखली पसिना आइसक्यो । यो छटपटीको शमन नेताजीको कुन टुक्कामा भेटिएला ? ६,७,८,९ .........९९९ जति पनि कथा छन् , बिमिस्टेकका । जनतालाई अकल्पनीय सास्ती दिनका लागि भएको यो खालको नाटकको मञ्चन जरुरी थियो वा जनतालाई दु:ख नदिईकन पनि अन्तर्राष्ट्रिय सम्मेलन हुन सक्थ्यो ?

-Bhola nath regmi (Facebook Page)

Must View