बिमस्टेकमा उच्च सुरक्षा : हवाइ गस्तीदेखि साइबर सुरक्षासम्म
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।सम्मेलनलाई लक्षित गरेर बनाइएको सुरक्षा योजना अनुरुप सबै तयारी पूरा भएको समेत गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका उपसचिव एकराज अधिकारीका अनुसार भीआईपीको सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा ४ वटै सुरक्षा निकाय परिचालित हुनेछन् ।
साइबर सुरक्षामा सतर्कता
बिमस्टेक सम्मेलनलाई लक्षित गर्दै गृह मन्त्रालयले साइबर सुरक्षा पनि विशेष सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
स्रोतका अनुसार नेपाल टेलिकम, एनसेलसहितका अन्य दुरसंचार कम्पनीहरुलाई फायरवाल बजबुत बनाउन समेत भनिएको छ ।
त्यस्तै, सरकारी वेवसाइटहरुको सुरक्षाका लागि सेवाप्रदायकसँग समन्वय भइरहेको गृह स्रोतको भनाइ छ । ‘विशेष गरी परर्राष्ट्र मन्त्रालयको वेवसाइटलाई सेक्यूड गर्ने काम भइरहेको छ’, स्रोतले भन्यो ।
‘विशिष्ट पाहुनाको सुरक्षाका लागि भित्री तहमा नेपाली सेना खटिनेछ भने मध्यमा नेपाल प्रहरी रहनेछ’, अधिकारीले अनलाइनखबरसँग भने, ‘बाहिरी भागमा सशस्त्र प्रहरी रहनेछ ।’
सम्मेलनका भीआईपी पाहुना काठमाडौंमा रहुञ्जेल नेपाली सेनाले हवाई गस्ती समेत गर्ने भएको छ । नेपाल प्रहरीका डिआईजी मनोज नेउपाने विमस्टेकमा जनपथ प्रहरीतर्फबाट पनि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताउँदै उच्च तहको सुरक्षा प्रदान गरिने बताउँछन् । स्रोतका अनुसार सम्मेलनको सुरक्षाका लागि १८ हजार बढी सुरक्षाकर्मी खटिनेछन् ।
नेपाली सेनाबाट ५ हजार, जनपथ प्रहरीबाट ९ हजार ७ सय, सशस्त्र प्रहरीबाट २ हजार ५ सय र राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार प्रहरी सम्मेलनको सुरक्षार्थ खटिने स्रोतको भनाइ छ ।
प्रहरीले उपत्यका छिर्ने नाकाहरुमा पनि विशेष निगरानी गरेको छ । मुख्य नाका नागढुंगासहित साँखु, जगाती, बालाजु, दक्षिणकाली र टोखामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
ती क्षेत्रहरुमा सादा पोशाकका सुरक्षाकर्मीहरु खटाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । प्रहरीले काठमाडौंका होटलहरुमा पनि निगरानी बढाएको छ । होटलमा बस्ने ग्राहकको सम्पूर्ण विवरणहरु फोटोसहित लिएर मात्र बस्न दिन प्रहरीले होटल सञ्चालकलाई निर्देशन दिएको छ ।