काठमाडौंमा एकाबिहानै गाडीहरु साइरन बजाउँदै हुइँकिए, बिम्स्टेक स्कर्टिङको रिहर्सल
२०७५ भाद्र ११ गते सोमबार एकाबिहानै मानिसहरु केही घण्टा जाममा परे । पैदल यात्री समेत हिँड्न नसक्ने गरी किन जाम भयो । एयरपोर्ट बानेश्वरतिरबाट माइतीघरतर्फ केही थान गाडीहरु साइरन बजाउँदै हुइँकिए । स्कर्टिङसहितका गाडीहरु गइसकेपछि थाहा भयो–त्यसमा कुनै भीभीआईपी थिएनन् । त्यो त बिम्स्टेक सम्मेलनमा आउने विदेशी पाहुनाहरुको लागि स्कर्टिङको रिहर्सल थियाे ।
एयरपोर्ट, तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर हुँदै सोल्टी होटलसम्म स्कर्टिङको रिहर्सल गरिएको ट्राफिक प्रहरी स्रोतले बतायो ।
बिम्स्टेक सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ । त्यसको तयारी लगभग पूरा गरेको सरकारले विदेशी सरकार प्रमुखहरुको आगमनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारेको छ । सम्मेलनलाई लक्षित गरी नेपाली सेनाले हवाई गस्तीसमेत गर्नेछ ।
बिम्स्टेकमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यानमार र थाइल्याण्ड सदस्य छन् । सदस्य राष्ट्रका सरकार प्रमुखहरु १२ भदौदेखि नेपाल आउन सुरु गर्नेछन् ।