नागरिक पोष्ट News


Happy Janai Purnima ह्यप्पी जनै पूर्णिमा ! येन बद्धो वलिःराजा दानवेन्द्रो महावलः।

5.3K

येन बद्धो वलिःराजा दानवेन्द्रो महावलः। तेन त्वां प्रतिबध्नामि रक्ष माचल माचल ॥

अर्थात् "जसरी सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई बचाउन गुरु वृहस्पतिले रक्षाविधान गरी तयार गरेको रक्षाबन्धन(डोरो)बाट अत्यन्त वलशाली दानवराज वलिलाई बाँधेका थिए, त्यसरी नै म तिमीलाई बाँद्दछु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ । "भन्ने अर्थ भएको पौराणिक मन्त्र पढेर रक्षाबन्धन बाँध्ने को परम्परा आज पनि त्यत्तिकै प्रचलित छ । जनैमा प्रयुक्त हुने नौ डोरा ३ ग्रन्थि वा शिखाहरूले ईश्वरीयज्ञान र जीवनचक्रबारे वास्तविक रहस्य बुझ्ने कुरामा मार्गदर्शन गर्न सहयोग गर्छन । यी कर्महरू गर्दा व्यक्ति, देवऋण, ऋषिऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । दानवी शक्तिबाट रक्षित हुनका लागि आजैका दिन रक्षाबन्धन वा हातेडोरो बाँध्ने गरिन्छ । जनैपूणिर्माको दिन बाँधिएको रक्षाबन्धन गाई तिहारका दिन गाईको पुच्छरमा बाँधि दिएमा मृत्युपछि वैतरणी नदी सजिलै पार हुने जनविश्वास छ । सिद्धार्थ गौतमले आजकै दिनमा काम शक्तिमाथी विजय प्राप्त गरेको स्मरण गर्दै बौद्ध धर्मावलम्वीहरूले पवित्र तिर्थहरूमा गई मेला भर्ने गर्दछन् । आजका दिन शैलुङ, कालिञ्चोक, हलेसी, नगरकोट लगायतका पर्वतीय शिखरहरूमा समेत मेला लाग्ने गर्दछ ।

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणीपूर्णीमाका दिनअध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूर्णिमापनि भनिन्छ । नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ । वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् । त्यस पछिजौ तिल कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद-वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यस पछि आ-आफ्ना गोत्रप्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी,यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम)गर्दछन् ।

Must View