Heart Touching १२ वर्षीया छात्राको मर्मस्पर्शी चिट्ठी– घरमा खान छैन, मलाई स्कुलबाट निकाल्दिनू
जामुनाखर्क माध्यमिक विद्यालय, बेनी नगरपालिका–६ म्याग्दीमा । 2075 भदौ १ गतेको बिहान उनको ‘करिअर’कै अपत्यारिलो घटना घट्यो । आफ्नै विद्यालयमा ६ कक्षामा पढ्ने छात्रा पूजा खत्रीले भावुक पत्र कोरिन् ।
“सर ! आजदेखि म विद्यालयमा आउन असमर्थ छु । घरमा खानेकुरा छैन । कापीकलम किन्ने पैसासमेत छैन । बाध्यताले म विद्यालयमा आउन सकिनँ सर !”– पूजा खत्रीका किरिङमिरिङ, बाङ्गाटिङ्गा यी हरफले उनका आँखा रसाए । दृष्टि धमिलियो । पूजाको अभाव र वेदनाले मन अमिल्लिनुसम्म अमिल्लियो ।
पछिल्लो समय सरकारले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क घोषणा गरेको छ । त्यसो त निरक्षता प्रतिशतलाई शून्यमा झार्न वैशाखको पहिलो साता प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, सरकारका उच्च पदस्थ अधिकारीदेखि जनप्रतिनिधिले ‘एक व्यक्ति एक विद्यार्थी भर्ना’ गर्ने अभियान चलाए । गरिब, अनाथ, असहाय बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने होडबाजी नै चल्यो ।
तर, पूजाहरू आज पनि घरमा खानेकुरा नहुँदा र कापी–कलम किन्न नसक्दा ‘रेस्ट्रिकेट’को याचना गर्न अभिशप्त छन्
बेनी बजारमा रहेको बालमन्दिर आधारभूत विद्यालयबाट प्राथमिक तह उत्तीर्ण गरेकी पूजाको पढाइमा लगावै थियो । सरहरूले अह्राएको गृहकार्य खुरूखुरू गर्थिन् । सधैँ हँसिली, खुसिली देखिन्थिन् । समयमै स्कुल आउँथिन् । साथी–संगतीसँग हाँसखेल पनि गर्थिन् ।
तर, साउनको अन्तिम हप्तादेखि उनी एकाएक स्कुल आउन छाडिन् ।
पूजा आइनन्, पत्रचाहिँ आयो ।
पत्रमा लेखिएको थियो, “घरमा खानेकुरा छैन । कापीकलम किन्ने पैसा पनि छैन । स्कुल आउँदिन सर । बरु ‘रेस्टिगेट’ गरिदिनू !”
“आर्थिक विपन्नताका कारण पढ्न नसकेको, पढाइ बीचमै अलपत्र परेको कुरा हामीले नसुनेका होइनौँ । कसैले मुख खोल्न सक्दैनथे । तर, पूजाले आफ्नो गरिबी, अभाव र निर्धनता पत्रमै ओकलेइन्,”
पूजाले घरको बेलिबिस्तार लगाइन् ।
बाबुआमा दुवै छन् तर कोही घर बस्दैनन् । आमा घर छाडेर बाग्लुङ गएको निकै समय भइसकेको छ । बाबु बजार छेवैमा फर्निचरमा काम गर्छन् तर घर खासै आउँदैनन् ।
कहिलेकाहीँ महिना, दुई महिनामा आउँदा रहेछन् । घर आउँदा एक्लै नआउने, रक्सीको दुर्गन्ध पनि साथै लिएर आउने । पूजाले कहिलेकाहीँ कापीकलम किन्न पैसा माग्दिरहिछन् ।
“यत्री भइसक्दा पनि पैसा माग्छेस् । बरु बिहे गरेर जा !,” पैसा दिने त कहाँ हो कहाँ पिटाईचाहिँ भेट्दिरहिछन् उनले ।
बालमन्दिरमा पढ्ताताका पूजाले शिक्षकलाई घरमा खाना नभएको र कापी किन्नसमेत पैसा नभएको गुनासो गरेकी थिइन् । शिक्षकले बाबुलाई छोराछोरीलाई कापीकलमको जोहो गरिदिन आग्रहसमेत गरे ।
“घरको कुरा स्कलुमा गएर सुनाउँछेस् । घरको कुरा शिक्षकलाई भन्दै हिँड्ने हो ?,” भन्दै उल्टै उनले बाबुको हातबाट पिटाइ भेटिन् ।
हजुरबाले वृद्धभत्ता थापेको केही हप्तासम्म उनीहरूको चुल्हो तात्दो रहेछ ! त्यसपछि भोकै । त्यसदिन बिहान पनि बाटो हिँड्नेले दिएको मकै खाएर पेट भरेका रहेछन् उनीहरूले ।
हजुरबाको हातखुट्टा चलुञ्जेलसम्म त उनीहरू जसोतसो स्कुल जान सकेका रहेछन् । हजुरबाको हातखुट्टा बसेपछि पूजाको स्कुल जाने बाटो ठप्प भएछ ।
आफ्नो जीवन रातै नपरी अँध्यारो भइहाल्यो । भाइ–बहिनीलाईचाहिँ पढाउनुपर्छ भनेर उनले आफ्नो गाँस काटेर भए पनि भाइबहिनीलाई स्कुल पठाएकी रहिछन्
अहिले पूजा खत्रीलाई स्कुलमा फर्काउन पहल गरिरहेका छन् बालमन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगाना । त्यसमा बेनी नगरपालिकालेसमेत सघाएको छ ।
-(विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगाना ९८५७६२२२१५ मार्फत् बालिकालाई सीधा सहयोग गर्न सकिनेछ ।)