नागरिक पोष्ट News


निर्मला हत्या प्रकरण : घटनाको अनुसन्धानबारे असन्तुष्टि स्थानीयको आक्रोश, वास्तविकता यस्तो

1.9K
मृतकका आफन्तले बिष्टविरुद्ध उजुरी दिन अस्वीकार

 १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानबारेको विवाद झन् बढ्दै गएको छ । प्रहरीको कार्यशैली र प्रस्तुतीका कारण विवाद झन् बढेको हो । घटनाको अनुसन्धानबारे असन्तुष्टि बढेपछि प्रहरीले अब अभियुक्तको डिएनए परीक्षण गर्ने भएको छ । पक्राउ परेका अभियुक्त दिलीपसिंह बिष्टको डिएनए परीक्षण गर्न लागेको कञ्चनपुर प्रहरीले जनाएको छ । 

डिएनए परीक्षणबाट उनले नै बलात्कार गरेको हो अथवा होइन भन्ने पुष्टी हुने बताईएको छ । निर्मलाको बलात्कार तथा हत्या गरेको आरोपमा  प्रहरीले ४१ वर्षीय दिलीपसिंह बिष्टलाई पक्राउ गरेको छ । स्थानीयले भने, उनी वास्तविक अभियुक्त नभएको दावी गरेका छन् । प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गर्दा नै मानसिक अवस्था ठिक नभएको बताएपछि आफन्त तथा स्थानीयले अझ शंका गरेका हुन् । उनीहरुले झुठा व्यक्ति पेश गरेर झुक्याउन खोजेको भन्दै दिनहुँ प्रदर्शन गरिरहेका छन् । आफन्त तथा स्थानीयले जिल्लाको सिडिओ र एसपीको सरुवाको समेत माग गरेका छन् । 

गएको साउन १० गते १३ वर्षीया पन्तलाई एक्लै देखेपछि विष्टले बलात्कार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।  उनी यौन विक्षिप्त व्यक्ति भएको र  एकान्तमा महिला देख्ने वित्तिकै यौनअंग देखाउने गरेको प्रहरीको विज्ञप्तीमा जनाएको छ ।  बाटोमा एक्लै किशोरीलाई देखेपछि बलात्कार गरेको र पक्राउ पर्ने डरले हत्या गरेको अभियुक्तले बताएका छन् । तर, प्रहरी अनुसन्धानबारे स्थानीयहरु विश्वस्त हुन सकेका छैनन् । 

आफन्तले उजुरी दिन मानेनन्  मृतकका आफन्तले बिष्टविरुद्ध उजुरी दिन अस्वीकार गरेका छन् । उनीहरुले वास्तविक हत्यारालाई जोगाउन खोजेको भन्दै उजुरी दिन नमानेका हुन् । 

अभियुक्तलाई पक्राउ गरेपछि प्रहरीले निर्मलाका बुबालाई बोलाएर उजुरी दिन भनेका थिए । तर, झुठा व्यक्ति खडा गरेको भनेर उनी उजुरी नै दिन्न भनेर प्रहरीसँग रिसाएर बाहिर निस्किए । 

मृतकका आफन्तले स्थानीय आँचन भन्ने रोशनी बमलाई जोगाउन खोजेको आरोप लगाएका छन् । बमकै घरबाट फर्कदा निर्मलाको बलात्कारपछि हत्या भएको थियो । 

छोरी हराएपछि बमको घरमा गएका आमा बाबुलाई उनले ‘पोइला गई होला’ भन्ने जवाफ दिएकी थिइन् । त्यही कारण उनीप्रति मृतकका आफन्तले शंका गरेका हुन् ।  

एसपीको कार्यशैलीले विवाद बढ्यो निर्मला हत्याको घटनामा स्थानीयहरु पहिलेदेखि नै असन्तुष्ट रहनुको मूल  कारण कञ्चनपुरका एसपी दिल्लीराज बिष्टको कार्यशैली पनि हो । उनीसँग पहिलेदेखि नै स्थानीय असन्तुष्ट थिए । कतिपय घटनालाई निष्पक्ष रुपमा अनुसन्धान नगरेको तथा बोली व्यवहार पनि राम्रो नगरेकाले स्थानीयहरु रिसाएका हुन् । 

छिमेकी भन्छन्–दिलीपसिंह निर्दोष निर्मला हत्याबारे एकपछि अर्को कुरा बाहिर आईरहेका छन् । महेन्द्रनगर बजारबाट ५ किलोमिटर पर भीमदत्त–१९ धर्मभक्त टोलमा हो दिलीपसिंहको घर । छिमेकी शान्ता सुवेदीले ‘निर्दोषलाई फसाउन नदिनुस् । उसको रुने–कराउने कोही छैन । बोलिदिने पनि कोही छैन । मानसिक सुन्तुलन गुमाएका मागेर खाने दिलीपका पक्षमा बोलिदिने कोही नभएका कारण प्रहरीले उसलाई फसायो’ भनिन् । 

उनलाई सानैबाट चिनेकी वृद्धा लक्ष्मी विष्टको कुरा सुन्ने हो भने, दिलीप महिला नजिक पनि लान लजाउने, सबैसँग डराउने, अहिलेसम्म कुनै महिलाप्रति नराम्रो व्यवहार नगरेकोसम्मको चालचलन छ । 

उनले अगाडि भनिन्, ‘खानेकुरा दिँदा पनि सोझै हातबाट नसमातेर भुइँमै राख्न भन्थ्यो ।’ झिसमिसेमै दूध बेच्न जाने महिला देख्दा पनि दिलीपले बाटो छोडेर हिँड्ने गरेको स्थानीय सीतादेवी थापाले बताईन् । 

दिलीपका बुबा कमलसिंह विष्ट ८२ वर्ष पुगे । तर, उनी मानसिक अवस्था गुमाएको छोरालाई झुठा आरोप लगाएकोमा निकै दुःखी छन् । उनले छोराको मानसिक अवस्था विग्रिएको कुरा पनि सुनाए । उनले भने, ‘मेरो छोराले मानसिक सन्तुलन गुमाएको छ । उसले कसैको केही विगार्दैन थियो । सानोमा पढाइमा अब्बल थियो । ९ कक्षा पढ्ने बेला कुटाई खाएपछि मानसिक सन्तुलन गुमायो ।’

Must View