अबदेखि ठूलो आवाज निकाल्ने मोटरसाइकललाई ठाउँको ठाउँ कारवाही हुने
ठूलो आवाजका कारण आम सर्वसाधारणले समस्या व्यहोर्नु परेको निष्कर्षसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ । ठूलो आवाज निकाल्ने सवारीका कारण दुर्घटना बढ्नुका साथै ध्वनी प्रदुषण हुने गरेको छ । ‘त्यस्ता मोटरसाइकलहरुबाट निस्कने ध्वनीका कारण कतिपय अपाङ, असशक्त एवं बिरामीहरु तर्सिने गरेका छन् । कतिपय अचानक ढल्ने पनि गरेका छन्’, ‘त्यस्ता बाइकहरु ओभर स्पीडमा कुदाइने गरिएको छ । ठूलो आवाजमा बाइक आउँदा के रहेछ भनेर हेर्दा समेत दुर्घटना हुने गरेको देखिन्छ ।’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी वसन्त पन्तले भने ।
ट्राफिक महाशाखाका अनुसार त्यसरी ठूला आवाज निकाल्ने मोटरसाइकलमा डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्स लगायत छन् ।
‘ती मोटरसाइकलहरु कतिपय ३ सय ५० सीसी, कपितय ८ सय त कतिपय ६ सय सीसीका छन्’, । त्यसरी समातिएकाहरुलाई जरिवाना स्वरुप १ हजार रुपैयाँ समेत लिने गरिएको छ ।
स्रोतका अनुसार महाशाखाले त्यसरी अस्वभाविक आवाज निकाल्ने मोटसाइकललाई उपत्यकामा सञ्चालनका लागि अनुमति नदिन यातायात व्यवस्था विभागलाई पत्रचार समेत गरिसकेको छ ।