युट्युबमा हेर्ने कथा च्यानलको लोकप्रियता, ५० हजार सब्स्क्राइबर : विद्याले लेखिन पत्र रिपोर्ट
प्रिय तपाईं,
हेर्ने कथाको युट्युब च्यानलको सब्स्क्राइबर ५० हजार पुगेको छेको पारेर म तपाईंसँग मनका केही कुरा पोख्दैछु । उत्साहका कुरा, भावनाका कुरा, चुनौतीका कुरा ।
सुरुमा तपाईंलाई धन्यवाद र हामीलाई बधाई , अरुका कथा भन्ने कर्मको मैदान मैले युट्युबलाई बनाएँ । परिवेश र जीवनशैली बदलिँदो छ । सूचना लिनेदिने प्रमुख माध्यम इन्टरनेट बनेको छ । विदेशिएका लाखौं नेपाली पनि इन्टरनेटबाटै घरआँगनमा जोडिएका छन् । मलाई लाग्यो इन्टरनेटबाट कथा भनियो भने धेरैले सुन्छन् । अनि धेरैका कथा पनि सुनिन्छ । कथैकथाको एउटा बलियो संवाद हुन्छ ।
म गलत सावित भइनँ – बितेका ५ महिनामा ११ वटा कथा भनिसक्दा सुरुमा मैले बनाएका अपेक्षाका रेखाहरु अब निकै तल परिसके । धेरै जनामा पुग्न म निकै लामो धैर्य गर्न तयार थिएँ । तर मैले धैर्य गर्नै परेन । हेर्ने कथाका सबै अंकहरु कम्तिमा १ लाख पटक हेरिएका छन् । अनि हाम्रा अभिलिखित दृश्यपाठकहरुको संख्या पनि ५० हजार पुगेको छ ।
तपाईं जस्तै लाखौं स्वतन्त्र र तीक्ष्ण मस्तिष्कहरुले यसरी हेरिदिँदा मन भरिँदो रहेछ अनि चुनौती थपिएको पनि महशुस हुँदो रहेछ । तपाईं र मेरा अपेक्षा झनै बढ्दा रहेछन् ।
मैले बीबीसी किन छोडेँ ?– शायद मलाई पछिल्ला केही महिनामा सबैभन्दा धेरै सोधिएको प्रश्न हो यो । यसको जवाफ पनि अहिले नै दिन चाहन्छु । छोटो जवाफःकुनै असन्तुष्टि भएर वा कुनै रणनीतिक योजनाको अंश भएर होइन
म साझा सवाल कार्यक्रममा जागिर खान्थेँ । नेपालको एउटा औसत पत्रकारले खानसक्ने सबैभन्दा राम्रो जागिर थियो त्यो । ३ वर्ष प्रस्तोताको रुपमा र त्यसअघि २ वर्ष उत्पादकको रुपमा काम गरेँ ।
कुनै एक विहान मलाई लाग्यो: म अझै राम्रा कथा भन्न सक्छु कि ! म अझै नसुनिएका र नदेखिएका मान्छेहरुमाझ पुग्न सक्छु कि ! मैले विषय ठान्दै आएका विषयबाहिर पनि अरु विषय छन् कि ! नेताहरुसँगको एकैखालको ‘आश्वासन’ ‘प्रतिबद्धता’ र ‘जवाफदेहीता’को पट्यारलाग्दो बहसबाट बाहिर निस्किन सकिन्छ कि ! कथा भन्ने शैलीलाई अझै सुमधुर बनाउन सकिन्छ कि !
मलाई त्यो विहान जे लाग्यो मैले त्यसलाई विश्वास गरेँ । अनि बीबीसीको जागिर छोडेर हेर्ने कथा खोज्न थालेँ । बीबीसीका सहकर्मी र पत्रकारिताको पहिलो दिनदेखिकै साथी कमलकुमार पनि म हिँडेकै बाटो हिँड्ने भए ।
चुनौती– कथा भन्ने काम मात्र जानेकी थिएँ । आफैंले संस्था सुरु गरिसकेपछि त्यसका कैयौं आर्थिक, प्रशासनिक र कानुनी झन्झट हुँदा रहेछन् । बिस्तारै थाहा भयो । सिक्दैछु । सबैभन्दा ठूलो चुनौती चाहिँ पैसा नै हुँदो रहेछ ।
भिडियो खर्चिलो माध्यम हो । मैले यही खर्चिलो माध्यम नै रोजेँ । किनभने यो सबैभन्दा शक्तिशाली माध्यम पनि हो ।
आर्थिकश्रोत- दर्शकका मायाले मात्र हाम्रा व्यक्तिगत र संस्थागत व्यवहारिक र आर्थिक आवश्यकता पुरा हुँदो हो त कति गज्जब हुँदो हो । दर्शकका मायाले दिएको बलमै अडिएकी छु ।
हेर्ने कथा उत्पादन गर्न अहिले उज्यालो मल्टिमिडियाले सघाएको छ । त्यतिले मात्र पुग्दैन हामीले आफैं लगानी पनि गरेका छौं । उज्यालोको सहायता पनि अब दुई महिना मात्र हो । अहिलेकै अवस्थामा अक्टोबरदेखि हेर्ने कथा हाम्रो आफ्नै लगानीमा मात्र भर पर्ने देखिन्छ ।
केहीविकल्पहरु
विज्ञापन– हेर्ने कथा समाजका बलिया कथा त हुन् नै । हजारौं उपभोक्ताले उपभोग गर्ने डिजिटल उत्पादन पनि हो । यही कुरा भन्दै हामी विज्ञापनदाताहरुकोमा पनि धाउन सुरु गरेका छौं । तर सानो टिम अनि बजार र विज्ञापन जस्ता विषयमा हाम्रा ज्ञानको कमीले यो प्रयास त्यति प्रभावकारी सावित भइसकेको छैन । विज्ञापनदाताहरुलाई पनि बुझाउन सकिएको छैन । यद्यपी प्रयास जारी छ ।
एनजिओ/आइनजिओ– अनुभव र भोगाइले के भन्छ भने एनजिओ आइएनजिओबाट पैसा लिएपछि हामी निश्चित विषयवस्तु र शैलीमा बाँधिनुपर्छ । दाताका आवश्यकता अनुसारका असत्य रिपोर्टहरु पनि तयार पार्नुपर्छ । त्यसो हुँदा हेर्ने कथाको मर्म मर्छ । हाम्रो कर्म दुख्छ । अनि मैले त्यो विहान मनमा लागेको जे कुरालाई विश्वास गरेको थिएँ त्यो विश्वास पनि कमजोर हुन्छ । कथाका विषय पात्र र कथा भन्ने शैलीमा सम्झौतानगरीकन हामी दाताका पैसा पनि लिन तयार छौं ।
दर्शकबाट पैसाउठाउने– हेर्ने कथा चलाउन हामीले यो विकल्पलाई मनले विश्वास गरेको छौं तर दिमागले सोच्दा कति व्यवहारिक र यथार्थपरक होला अझै अलमलमा नै छौं । केही समय पहिला सेतोपाटीले पनि पाठकबाट स्वैच्छिक पैसा लिने व्यवस्था सुरुवात गर्ने घोषणा गरेको थियो । तर त्यसले निरन्तरता पाएको देखिएन । दर्शकबाट मासिक शुल्क उठाउने कि, स्वतस्फूर्त सहयोग लिने कि जस्ता विभिन्न विकल्पमा सोच्दैछौं ।
तपाईंकोपालो
तपाईंलाई केही आग्रह गर्न चाहन्छु : हेर्ने कथाको च्यानल सब्स्क्राइब गरिदिनुहोला । अबको हाम्रो लक्ष्य १ लाख सब्स्क्राइबर हो । यो लक्ष्यलाई हामी कति छिटै भेट्टाउनेछौं हेरौं । महिलाहरुलाई मेरो विशेष आग्रह । च्यानलको कूल सब्स्क्राइबर मध्ये महिलाहरु एक चौथाइ पनि हुनुहुन्न ।
हेर्ने कथाको निरन्तरता र आर्थिक दिगोपनका लागि तपाईंका सुझावहरु चाहियो । माथि मैले उल्लेख गरेका ३ वटा विकल्पमा तपाईंलाई कुन ठीक लाग्यो । अनि हेर्ने कथाका कार्यक्रमहरु तपाईं पैसा तिरेर हेर्नुहुन्छ कि हुन्न? कतिसम्म तिर्न सक्नुहु्न्छ । कृपया कमेन्टमा लेखिदिनुहोला । हामी तपाईंलाई बुझ्न चाहन्छौं ।
- तपाईंकी विद्या चापागाई – पाठकको बिचार बिद्या चापागाईको फेसबुकमा पनि राख्न सक्नु हुने छ@स्वदेसनेपाल