नागरिक पोष्ट News


नागपञ्चमी : श्रावण शुक्ल पञ्चमी !! अष्टकुल, बासुकी, कर्कट र शंखनागको पूजा अर्चना !

6K

श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी तिथि । हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबर सहित नागको पूजा अर्चना गर्ने गर्छन् ।

नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नागका अष्टकुल– अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको चित्रमा दूध, दही, अक्षता, फूल, दूबोले पूजा गरी दूध र लावाको नैवेद्य चढाई घरको मूल ढोकामाथि टाँस्ने चलन छ ।

नागको पूजाले धनधान्य र सुख समृद्धि प्राप्त हुने, दैविक, भौतिक र प्राकृतिक आपत्ति र अनिष्ट नाश हुने र कालसर्पजस्ता योग पनि नष्ट हुने विश्वास गरिन्छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

हिन्दु परम्परा अनुसार नागलाई मन पर्ने दूध, दूबो चढाई स्तुति र पूजा गर्नाले घरमा चट्याङ नपर्ने, सर्पको डर नहुने, आगलागी र दैवी विपत्ति नपर्ने विश्वास छ ।   नाग पञ्चमीका दिन नागका अष्टकुल अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनागको पूजा अर्चना गरिन्छ ।

नाग पञ्चमीको अवसरमा बिहानैदेखि काठमाडौको टौदह, नक्सालको नागपोखरी, ललितपुरको धापाखेलमा रहेको नागदह, भक्तपुरको सिद्धपोखरी, काभ्रेको पनौती लगायत देशभरीका नाग मन्दिरहरुमा दर्शनार्थीको घुईंचो लाग्ने गर्दछ ।

काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।

वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ

 

Must View