निशान अपहरण र हत्या प्रकरणको विश्लेषण : 'माफियाकरण मौलाएको छ, समाजमा अपराध अझै बढ्छ'
काँडाघारीका ११ वर्षे बालक निशान खड्काको हत्या भएपछि पूर्व सुरक्षा अधिकारीले गरेको विश्लेषणले अहिलेको नेपाली समाजको सामाजिक र राजनीतिक परिस्थितिको चित्रण गरेको छ । सुरक्षा विज्ञले अनलाइनखबर लाई दिएको समसामयिक विषयवस्तुलाई हामीले यहाँ साभार गरेका छौं ।
पटके अपराधीहरु कहिल्यै सुध्रिदैनन् । म अहिले पनि भन्छु- तिनीहरु सुध्रिँदै सुध्रिँदैनन् । बाहिर राख्यो भने अर्को हत्या गर्छन् । अर्को अपराध गर्छन् । समाजमा यस्ता अपराधहरु हुँदै गर्छन् । नयाँ टेक्नोलोजी र नयाँ मान्छेहरुसँगै अपराधहरु पनि हुँदै गर्छन् । त्यसैकारण पुलिस चाहिन्छ । तर, पुलिसले कानूनको परिधिभित्र बसेर कानून मनाउने हो र कानून मान्ने हो । पुलिसले कानूनलाई हातमा लिनुहुँदैन ।अपहरणको केसमा ‘हार्ड एण्ड फास्ड’ हुँदैन
अपहरणको केसमा ‘हार्ड एण्ड फास्ट’ यसरी नै जानुपर्छ भन्ने कुनै सिद्धान्त छैन । कहिलेकाहिँ हल्लाखल्ला गर्दाखेरि पनि मान्छे छुटेको अवस्था छ । अपराधीहरुले हल्ला भयो यसलाई छाड्नुपर्छ भनेर छाडिदिने गरेको पनि पाइन्छ । कसैले चाहिँ यसले चिनेको छ, यसले बकीहाल्छ भनेर भनेर मारेको स्थिति पनि छ । दुईवटैखाले अवस्थाहरु हुने भएकाले प्रहरीले यही नै गर्नुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन यस्तो केसमा ।
भक्तपुरको केसमा पुलिसले कति चाँडो सक्रियता देखायो, खोजतसास गर्यो, त्यो थाहा भएन । तर, जिउँदै रेस्क्यु गर्न सकेको भए सबैभन्दा राम्रो हुन्थ्यो । अपराधीसम्म पुगेर बालकलाई छुटाउन सकेको भए त्यो सबैभन्दा ठूलो सफलता हुन्थ्यो ।
माफियाकरण मौलाएको छ, समाजमा अपराध अझै बढ्छ
हामीले इटालीमा माफियाको उदयसँगै प्रशासन र राजनीति सबैतिर अपराध बढ्यो भन्ने पढेका थियौं । राजनीतिमा अपराधिक पृष्ठभूमिका मान्छेहरु बढी आए भन्ने पढेका थियौं । ठ्याक्कै त्यो स्थिति नेपालमा हुँदैछ । पढ्नु पर्दैन । योग्यता केही छैन । समाजमा डरत्रास फैलायो र पैसा कमायो भने त्यो मान्छेलाई पार्टीले पिकअप गरिहाल्छ ।
अहिले नेपाली समाजमा एकथरि कानून नमान्ने मान्छेहरु बढ्दैछन् । कानून नमान्ने र सत्ताको नजिक पुगेपछि कानून मान्नुपर्दैन भन्ने मानसिकता बढ्दैछ । हिजो पञ्चायत कालमा पनि पञ्च भएपछि उनीहरुले सानातिना सामाजिक अपराधहरुमा उन्मुक्ति पाउँथे । अहिले आएर कुनै राजनीतिक पार्टीको छहारी पायो भने उसलाई मुद्दा लगाउन बडो गाह्रो भो । समाजले अपराध देखिराखेको हुन्छ । तर, उसले सजायँ पाउँदैन ।
खासगरी अर्थसित, पैसासित सम्बन्धित अपराधहरुमा संलग्न भएका व्यक्तिहरु जोगिएका छन् । आर्थिक अपराध नियन्त्रण गर्ने सरकारका सबैखाले संयन्त्रहरु कमजोर छन् । अदालत पनि कमजोर छ । यस चिजले समाजमा केही न केही प्रभाव पारेको छ । यसले गर्दा गाउँठाउँमा बसेको अनपढ वा पढेकै मान्छेमा समेत जसरी पनि पैसा कमाउनुपर्छ भन्ने मानसिकता देखिन थालेको छ ।
कानून, पुलिस र अदालत भन्ने कुरोमा भोलि कुनै न कुनै शक्तिकेन्द्रको आडबाट त्यसलाई छक्याउन सक्छौं र कारवाहीदेखि बाहिर बस्न सक्छौं भन्ने डरलाग्दो मानसिकता समाजमा बढिरहेको छ । त्यसकारण समाजमा कानून मान्ने नागरिकहरुको कमी भइराखेको छ ।
समाजलाई नेतृत्व गर्ने, राजनीति गर्ने मान्छेहरुबाट समाजले सकारात्मक पाठ सिक्नुपर्नेमा त्यो भइरहेको छैन । मेरो मान्छेले किन सजायँ भोग्ने भन्ने संरक्षणवादी सोच बढिरहेको छ । यसले गर्दा समाजमा अपराध अझै बढ्छ । अपराधीहरुको मनोबल बढेको छ र अझै पनि बढ्छ । अपराधीहरुको संख्या पनि बढ्छ ।
अपराध नियन्त्रण गर्ने निकायहरु कमजोर भएका छन् । शक्तिकेन्द्रबाट अपराधीलाई संरक्षण गर्ने प्रवृत्ति बढेको छ । अदालतबाट पनि प्रमाण पुगेका केसहरुमा समेत अपराधीले पैसाको चलखेलबाट उन्मुक्ति पाउने गरेका छन् ।
‘मृत्युदण्ड गरे हुन्छ, तर प्रहरीले कानून हातमा लिनुहुँदैन’
समयअनुसार सामाजिक धारणाहरु परिवर्तन हुँदै जान्छन् । म पनि पुलिसमा सुरुमा आलोकाँचो अवस्थामा भर्ना हुँदाखेरि अपराधीहरुलाई समाजबाट निमिट्यान्न पार्नुपर्छ र राम्रो उद्देश्यका लागि एकदुईजना मान्छेलाई पुलिसले मार्यो भने समाजमा अपराध कम हुन्छ भने त्यसो गर्नुपर्छ भन्ने सोच्ने गर्थें ।
पछि आएर बुझ्दै जाँदा होइन, हामी पुलिसले कानून अनुसार चल्नुपर्छ, पुलिसले कानून हातमा लिनु हुन्न धारणा विकसित भयो ।
हुन त पटके अपराधीहरु कहिल्यै सुध्रिदैनन् । म अहिले पनि भन्छु- तिनीहरु सुध्रिँदै सुध्रिँदैनन् । बाहिर राख्यो भने अर्को हत्या गर्छन् । अर्को अपराध गर्छन् । त्यस्तो स्थितिमा पनि म के भन्छु भने यो राज्यको दायित्व हो, राज्यले तिनीहरुमाथि कारवाही चलाउने छुट दिनुपर्छ । बरु तिनीहरुलाई मृत्युदण्डको व्यवस्था गर्ने हो कि केही हुनुपर्यो । अन्यथा त्यो व्यवस्था छैन भने पुलिसले कानून हातमा लिनुहुँदैन । कानूनसम्मतै कारवाही गर्नुपर्छ भन्ने मेरोचाहिँ कुरा हो ।
समाजमा यस्ता अपराधहरु हुँदै गर्छन् । नयाँ टेक्नोलोजी र नयाँ मान्छेहरुसँगै अपराधहरु पनि हुँदै गर्छन् । त्यसैकारण पुलिस चाहिन्छ । तर, पुलिसले कानूनको परिधिभित्र बसेर कानून मनाउने हो र कानून मान्ने हो । पुलिसले कानूनलाई हातमा लिनुहुँदैन ।