नागरिक पोष्ट News


प्रधानमन्त्रीको आदेश : कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी सडक भदौ १५ गतेभित्र कालोपत्र गरिसक्नु

3.2K

रमेश लम्साल, काठमाडौँ – सरकारले कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी सडक आगामी भदौ १५ गतेभित्र कालोपत्र गरिसक्ने भएको छ ।

पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीय बासिन्दा पीडित भएको चर्को गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशनमा नै ती सडक आगामी भदौ १५ गतेभित्र निर्माण सम्पन्न गर्न लागिएको हो ।

प्रधानमन्त्री ओलीले यही साउन १५ गते सरोकार भएका सबै मन्त्रालयका मन्त्री, सचिव र सम्बद्ध सबै संस्थाका पदाधिकारीलाई बोलाएर सडक मर्मतमा ध्यान दिन र तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

वर्षाका समयमा पानी परेर सवारी आवागमनमा समस्या भएको भन्दै स्थानीय बासिन्दाले तत्काल मर्मतमा ध्यान दिन आग्रह गरेपछि ती सडक कालोपत्र गर्ने र विभिन्न करिडोरका सडकको निर्माण तथा मर्मत सम्भारलाई उच्च प्राथमिकता दिइने भएको छ ।

काठमाडौँ प्रवेश गर्ने प्रमुख मार्गका रुपमा रहेको कलंकी–नागढुंगा सडकमा समेत उस्तै समस्या रहेको छ । स्थानीय बासिन्दाले समस्या समाधान नभएको र निर्माण व्यवसायीलेसमेत समयमै काम नगरेका कारण सो सडकखण्ड निर्माण शुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न हुन सकेको छैन ।

प्रधानमन्त्रीले स्थानीय र यात्रुको चासोलाई सम्बोधन गर्दै सडक निर्माण तथा मर्मत सम्भारलाई विशेष ध्यान दिन निर्देशन दिनुभएको हो ।

यस्तै काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने, मुख्य सडकमा सडक बत्तीको व्यवस्था गर्ने, सडकमा सडक संकेतको व्यवस्थासमेत गरिने भएको छ ।

कानूनी तथा प्रशासनिक झमेलाका अतिरिक्त वर्षात्ले काठमाडौँ उपत्यकको सडक निर्माण र विस्तारले तीव्रता पाउन नसकेको भए पनि नागरिकले भोग्नुपरेको समस्यालाई समाधान गर्न प्रधानमन्त्री आफँैले चासो व्यक्त गर्नुभएको हो ।

यस्तै खानेपानी मन्त्रालयले मेलम्ची खानेपानीका पाइपलाइन बिच्छ्याउने, पानी वितरण गर्नेलगायतका काम समयमै सम्पन्न गर्नसमेत निर्देशन दिइएको छ ।

कलंकी–नागढुंगा सडकखण्डमा सर्वोच्चको आदेशका कारण समस्या भएको भन्दै सरकारले पुनरावेदनकोसमेत तयारी गरेको छ ।

यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सडक निर्माणमा अवरोध भएका पोल सात दिनभित्रै हटाउने र नयाँ पोल स्थापना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलेसमेत सडक निर्माणमा अवरोध रहेकामध्ये यही साउन १६ गतेदेखि नै पोल हटाउने र नयाँ पोल राख्ने कार्य अगाडि बढाइसकेको छ ।

विद्युत्, टेलिफोन, खानेपानी, ढल निकास, सडक, शहरी विकास एंव शहरी सौन्दर्यको काम सँगसँगै एकीकृतरुपमा समन्वयात्मक तवरले अगाडि बढाउन लागिएको जनाएको छ ।

Must View