नागरिक पोष्ट News


अबदेखि शेयरमा लगानी गर्दा बिचार पुर्याउनुहोस्, जलविद्युत् कम्पनीका शेयर घट्नुको कारण यस्तो

2.9K

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १९ जलविद्युत् कम्पनीमध्ये एकाध कम्पनीको मात्रै शेयर मूल्य ५ सय रुपैयाँभन्दा माथि छ । धेरैजसो कम्पनीको शेयर मूल्य न्यूनतम बिन्दुमा छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार चिलिमे जलविद्युत् कम्पनीको मात्रै शेयर मूल्य ७ सय४० रुपैयाँ छ । यस्तै बुटवल पावर कम्पनीको मूल्य ४ सय ३६ रुपैयाँ छ । बाँकी रहेका १६ वटा कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ । गत फागुनमा थप शेयर निष्काशन गरेपछि बुटवल पावर कम्पनीको शेयरसमेत बजारमा निरन्तर ओरालो लागिरहेको छ । सरकारले सबै नागरिकलाई शेयर उपलब्ध गराउने बताइरहँदा शेयर बजारमा भने जलविद्युत् कम्पनीको उपस्थिति चिन्ता गर्नुपर्ने अवस्थामा पुगेको छ । नेशनल हाइड्रो पावर कम्पनीको शेयर त खरीद मूल्यभन्दा पनि तल झरेको छ । सो कम्पनीको प्रतिकित्ता शेयर ८६ रुपैयाँमा खरीद बिक्री भइरहेको छ । गत वर्ष ६ सय ५६ रुपैयाँमा खरीद बिक्री भएको अपि पावर कम्पनीको शेयर हाल  २ सय ७४ रुपैयाँमा खरीद बिक्री भइरहेको छ । यस्तै अरुण कोबेलीको २ सय ५५, अरुण भ्यालीको १सय ४०, बरुण हाइड्रोपावर कम्पनीको शेयर १सय ४१ मूल्यमा खरीद बिक्री भइरहेको छ । निरन्तर ओरालो लागेको शेयर बजारमा अरु समूहजस्तै जलविद्युत् कम्पनीको शेयर मूल्य पनि ओरालो लागेको छ । यस्तो अवस्थाले ठूला लगानीकर्तालाई तत्काल बेफाइदा नभए पनि साना लगानीकर्तालाई भने समस्या पारेको छ । स्टकका अनुसार छ्याङ हाइड्रो पावरको शेयर १ सय २८ रुपैयाँमा खरीद बिक्री भइरहेको छ । हिमालयन पावर पार्टनरको २ सय ७४ रुपैयाँ, खानीखोला हाइड्रोपावरको १सय६ रुपैयाँमा शेयर खरीद बिक्री भइरहेको छ । सो कम्पनीको शेयर गत वर्ष पनि २ सय५ रुपैयाँमा बिक्री भएको थियो । यस्तै नेपाल हाइड्रो डेभलपमेन्टको १ सय ६५, न्यादी समूहको १ सय ६०, राधी विद्युत् कम्पनीको  २ सय ३२, रैराङ हाइड्रोको १ सय ५५, रिडी हाइड्रो पावरको  १ सय २२, सानिम माइक्रोको  ३ सय १९, सिनर्जी पावरको १ सय १८ र युनाइटेड मोदीको प्रतिकित्ता १ सय ६६ रुपैयाँमा शेयर खरीद बिक्री भएको छ । शेयर बजारमा जलविद्युत् कम्पनीको शेयर नाजुक अवस्थामा नै छ । पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाले हकप्रद तथा बोनस शेयर वितरण गर्ने प्रक्रियालाई तीव्रता दिएका कारण पनि शेयर बजारमा दबाब परेको छ । शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर लगातार गिरावट भइरहँदा नेपाल धितोपत्र बोर्डले विभिन्न १० वटा जलविद्युत् कम्पनीलाई गत आवमा साधारण शेयर बिक्रीकालागि अनुमति दियो । यस्तै शेयर बिक्रीको तयारीमा रहेका कम्पनीको संख्या ११ छन् । शेयर बजारको नियामक निकाय उक्त बोर्डले भने लगानीकर्ताले आफ्नै विवेक प्रयोग गरेर कुन कम्पनीको शेयरमा लगानी गर्ने भन्ने निर्क्यौल गर्दा राम्रो हुने सुझाव दिएको छ ।

-रमेश लम्साल/रासस 

Must View