नागरिक पोष्ट News


माथिल्लो तामाकोशीको शेयर दोलाखाबासीले काठमाडौँमै बसेर भर्न पाउने

2.5K

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ ।  गोरखा भूकम्पका कारण दोलखामा बसोबास गर्दै आएका नागरिक काठमाडौँ उपत्यकामा बसोबास गर्ने क्रम बढेका कारण उनीहरुका लागि आफू बसेको स्थानबाटै शेयरमा आवेदन गर्न पाउने व्यवस्था गरिएको हो ।  नेपालको आफ्नै लगानीमा निर्माण भइरहेको ४५६ मेगावाट क्षमताको सो आयोजनामा धेरैभन्दा धेरै नागरिकको सहभागिता गराउने लक्ष्यका साथ सरोकार भएका सबै पक्षसँग सहमतिसमेत जुटाएको छ ।  सहमतिअनुसार हितग्राही खाता नभएका दोलखावासीलाई शेयर आवेदन गर्न दिइनेछ । नेपाल स्टक एक्सचेञ्जमा शेयर सूचीकृत हुन केही समय लाग्ने भएकाले तत्काल हितग्राही खाता नभए पनि केही फरक नपर्ने देखिएको छ । शेयर आवेदकलाई सहजताका लागि स्वयंसेवक परिचालन गरी दोलखाका गाउँ गाउँमा परिचालन गरिनेछ । उनीहरुले स्थानीयवासीको घर घरमा नै गएर शेयर संकलन गर्ने, शेयर फाराम भराउने काम गर्नेछन् । 

तामाकोशीको साधारण शेयर यही साउन १६ देखि भदौ १४ गतेसम्म बिक्री गरिनेछ । आयोजना प्रभावित दोलखाका स्थानीयवासी र सर्वसाधारणलाई गरी रु दुई अर्ब ६४ करोड ७५ लाख बराबरको दुई करोड ६४ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । स्थानीयवासीलाई शेयर बाँडफाँड गरेपछिमात्रै आमनागरिकलाई शेयर बिक्री गर्ने तयारी गरिएको छ ।  आयोजनाको व्यवस्थाअनुसार स्थानीयवासीलाई रु एक अर्ब पाँच करोड ९० लाखबराबरको एक करोड ९० लाख कित्ता शेयर बिक्री गरिनेछ । यस्तै सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड ८५ लाखबराबरको एक करोड ५८ लाख ८५ कित्ता साधारण शेयर बिक्री गरिनेछ । आयोजना प्रभावितले प्रतिकित्ता न्यूनतम ३० देखि अधिकतम ३०० कित्ता शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै सर्वसाधारणले ५० देखि बढीमा एक हजार कित्तासम्म शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । 

Must View