नागरिक पोष्ट News


बिमान उडाउने पाइलट नै ‘मापसे’ मा परेपछि ...

2.9K

त्रिभुवन विमानस्थलमा काम गर्ने फ्लाइ दुबईका नेपाली ‘ग्राउन्ड स्टाफ’ हरूले जहाज कमान्ड गर्ने क्याप्टेनको अवस्था असामान्य देख्नासाथ ‘क्याप्टेनले मादक पदार्थ सेवन’ (मापसे) गरेको पत्तो पाइहाल्छन् र तुरुन्तै विमानस्थल व्यवस्थापनलाई खबर गरी ‘मापसे परीक्षण गर्नुपर्ने’ भन्दै निवेदन दिन्छन्।

त्यसपछि विमानस्थलका एक कर्मचारी फ्लाइ दुबईका कर्मचारीको निवेदन लिएर विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकोमा पुग्छन्। क्षेत्रीले सबै कुरा बुझेपछि उड्डयन सुरक्षा नियमअनुसार कारबाही अगाडि बढाउन निर्देशन दिन्छन्।

उनको निर्देशनपछि मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको उड्डयन सुरक्षा विभागका इन्जिनियरको एक टोली तुरुन्त विमानस्थल पुग्छ। र, विमानस्थल प्रहरीको उपस्थितिमा फ्लाइ दुबईका क्याप्टेन हुसेन र कोपाइलटको मुखमा ‘ब्रेथलाइजर’ राखेर फुक्न लगाउँछ। ‘क्याप्टेन हुसेनले ब्रेथलाइजरमा फुक्दा मादक पदार्थको मात्रा देखियो,’ उड्डयन सुरक्षा विभागका एक अधिकारीले भने,

‘क्याप्टेनले जहाज उडाउनुअघि मदिरा सेवन गरेको अस्पतालबाट पुष्टि हुनासाथ हामीले फ्लाइ दुबईको दुबईस्थित मुख्यालयमा घटनाबारे सबै जानकारी गरायौं,’ त्रिभुवन विमानस्थलका महाप्रबन्धक क्षेत्रीले भने, ‘उताबाट क्याप्टेनलाई जहाज उडाउन नदिनू, हामी अर्को चालकदल र जहाज लिएर आउँछौं भनेपछि त्यो उडान रोक्यौं।’

विमानस्थल व्यवस्थापनले आन्तरिक उडान गर्ने पाइलटहरूका लागि भने बेला–बेला ‘मापसे’ परीक्षण गर्ने गरेको क्षेत्रीले जानकारी दिए। विगतमा मापसे गरेका आन्तरिक उडानका पाइलटलाई कारबाही गरिएका उदाहरण रहेको उनले बताए।

त्रिभुवन विमानस्थलमा कार्यरत फ्लाइ दुबईका एक अधिकारीले बिहानको उडान रोकिएपछि त्यसमा जान तयार रहेका सबै यात्रुलाई आराम गर्न तथा खाजा खुवाउन होटलमा लगिएको थियो।

‘मदिरा सेवन गरेका क्याप्टेन हुसेन, कोपाइलटदेखि चालकदलका एयरहोस्टेस, स्टेवार्डलगायत सदस्य सबैलाई दिउँसो ४ः४० बजेको हाम्रो अर्को उडानबाट दुबई पठायौं,’ ती अधिकारीले भने, ‘उड्न नपाएका यात्रुलाई लिन राति ७ः२० बजे हाम्रो उडान नम्बर एफजेड ५७० भएको अर्को जहाज आयो र लिएर गयो।’

सम्बद्ध स्रोतका अनुसार फ्लाइ दुबईका क्याप्टेन हुसे शनिबारै काठमाडौं आएका थिए। उनले शनिबारको पूरै रात काठमाडौंकै एक क्यासिनोमा बिताएका थिए। त्यसपछि आइतबार बिहान ९ः४० बजेको जहाज कमान्ड गरेर दुबई लैजान उनी त्रिभुवन विमानस्थल पुगेका थिए। (नागरिक दैनिकबाट)

Must View