आमाको दागबत्ती दिन गएका छोरा घाटबाटै लखेटिएपछि........
झापाको कन्काइमाई नदीको किनारमा बुद्धशान्ति गाउँपालिका जयपुर निवासी अम्विका चिमोरियाको दाहसंस्कार हुँदै थियो । पेसाले शिक्षक छोरा चुडामणि रुँदै आमाको शवतर्फ जाँदै थिए दागबत्ती दिन । तर, दागबत्ती दिनुअगावै उनीमाथि हातपात भयो ।
एक्ला छोरा उनले दागबत्ती दिन पाउने आफ्नो अधिकार भएको दाबी गर्दै केहीबेर प्रतिवाद गरे । तर नसकेपछि उनी आफै ज्यान जोगाउन त्यहाँबाट कुलेलम ठोके ।
छोरा चुडामणिलाई दागबत्ती दिनुअगावै कुटपिट गर्ने अरु कोही होइनन्, उनकै आफन्त र मालामी हुन् ।
बाँचुन्जेल रेखदेख नगरेकाले मरेपछि दागबत्ती दिने कुनै अधिकार नभएको भन्दै उनकी सहोदर बहिनी र मामाका छोराले मलामीको सहयोगमा चुडामणिलाई घाटबाटै लखेटेका हुन् ।
झापा सदरमुकामस्थित वीरेन्द्र उच्च माध्यमिक विद्यालयका शिक्षक चुडामणिले आमालाई दागबत्ती दिनबाट समेत रोकेको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका छन् ।
घाटबाट भागेका उनी प्रहरीको सहयोगमा १५ किलोमिटर टाढा रहेको देवनियाँ खोलामा पुगेर कपाल खौरिएर सेतो कपडा लगाइ आफ्नै घर भद्रपुर नगरपालिका चैतुमन्दिरमा किरिया बारेर बसेका छन् । उता छोरी ज्वाईंले समेत आफ्नै घरमा किरिया बारेर बसिरहेका छन् ।