नागरिक पोष्ट News


मजदुर नेताहरु र होटल सञ्चालकहरुको बीचको मजदुर मारा सम्झौतामाथि मजदुरहरुको प्रश्नचिन्ह

3.4K

काठमाडौं । होटल तथा क्यासिनोमा कार्यरत मजदुरहरुले आगामी दिनमा आफ्नो अधिकार माग गरेर आवाज समेत उठाउन नपाउने भएका छन् । मजदुर सम्बद्ध केही नेताहरुले मजदुरको अधिकारमाथि नै कुठाराघात गरेका छन् । होटल सञ्चालकसँग मजदुरका लागि घातक सम्झौता भएको खुलाशा भएको छ । २०७५ साल जेठ १८ गतेदेखि लागु हुनेगरी मजदुर नेताहरु र होटल सञ्चालकहरुको बीच मजदुर अधिकारलाई कुठाराघात हुनेगरी सम्झौता भएको पाइएको हो । मजदुर नेता र होटल सञ्चालकबीच भएको १९ बुँधे सम्झौता मजदुरकै लागि घातक रहेको समेत टिप्पणी हुन थालेको छ । नेपाल होटल संघ हान, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुँरा मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट युनियन, नेपाल पर्यटन तथा होटल सम्बन्द्ध श्रमिक संघबीत यस्तो सम्झौता भएको हो । होटल तथा क्यासिनोमा आउने सेवाग्राहीबाट १० प्रतिशत सेवा शुल्क उठाउने र सो रकम मजदुर संगठन र होटल सञ्चालकबीच भागबण्डा गर्ने समेत सहमति भएको छ । सम्झौताको डरलाग्दो यो छकी होटल तथा क्यासिनोमा कार्यरत मजदुरले आफ्नो अधिकार माग राखी आवाज समेत उठाउँन पाउँदैनन् । ‘भविष्यमा होटल रेष्टुरेन्टमा कार्यरत कामदार/कर्मचारीहरु, क्रियाशिल वा आधिकारिक युनियन कोही कसैले पनि प्रतिष्ठानलाई आर्थिक भार पर्ने गरी तलब, महँगी भत्त, वार्षिक ग्रेड, उपदान शिर्षकमा बृद्धि गरीपाउँ भनी प्रतिष्ठानलाई प्रत्यक्ष रुपमा भार पर्ने गरी सामुहिक सौदेबाजी सम्बन्धि मागदावी पेश गर्ने छैनन्,’ सम्झौतामा भनिएको छ,‘सामुहिक सौदाबाजी लगायत कुनैपनि विवाद वा मागदावीको कारणबाट श्रम ऐन, नियम विपरित होटल वा रेष्टुरेन्ट बन्द र गैरकानुनी तालाबन्दी गर्ने गराउने छैनन् ।

होटल वा रेष्टुरेन्टहरुमा कुनै पनि प्रकारको गैरकानुनी प्रकारको हड्ताल हुने छैन ।’ २०७५ जेठ १२ गते भएको उक्त सम्झौता गोप्य राखिएको भएपनि अहिले मजदुरबीच यो सम्झौता विवादमा अाएकाे छ । त्यसैगरी सेवा शुल्कबापतको १० प्रतिशत रकम समेत भाग बण्डा गर्ने सहमति भएको छ । उनीहरुले ७२ प्रतिशत मजदुरलाई दिने भनिएता पनि २३ प्रतिशत रकम भने प्रतिष्ठानलाई दिनुपर्ने सम्झौतामा उल्लेख गरेका छन् । ग्राहकबाट आउने सेवा शुल्कको २ प्रतिशत रकम समेत होटल संघ र रेवानले भागबण्डा गर्ने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै तीन प्रतिशत रकम भने सम्झौतामा हस्ताक्षेर गर्ने ट्रेड युनियन संगठनहरु, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुँरा मजदुर संघ, नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा मजदुर युनियन, नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले भाग बण्डा गर्ने उल्लेख गरिएको छ । सेवा शुल्कबापत पाउने रकमको ५ प्रतिशत सबै रकम होटल सञ्चालकहरुको संस्था हानको खातामा जम्मा गर्नुपर्ने सर्त समेत सम्झौतामा उल्लेख छ । हानको खातामा जम्मा भएको रकम १५ दिन भित्र ट्रेड युनियनलाई भाग बण्डा गर्नुपर्ने सम्झौताको १३ (च)मा उल्लेख छ ।

स्रोतका अनुसार यो सम्झौता अनुसार तीन मजदुर संगठनहरुको खातामा प्रतिमहिना ६ देखि ७ लाख रुपैयाँ जम्मा हुन्छ । श्रम ऐन विपरित ग्रेड घटुवा यस अघि होटल क्यासिनोमा कार्यरत मजदुरहरुले बार्षिक १० प्रतिशत ग्रेड बृद्धि पाउँदै आएका थिए तर, यो सम्झौता पश्चात भने ५ प्रतिशतमा झारिएको छ । ‘हामीले वार्षिक ग्रेड समेत घटुवा गरिएको छ । यसले तमाम मजदुरलाई अन्याय गरेको छ,’ मजदुर संगठनमै लागेका नानीकाजी बस्नेतले भने,‘हेर्दा मजदुरको पक्षमा जस्तो देखिएपनि सारमा यसले मजदुरमाथि घातक परिणाम निम्त्याउने छ ।’ सम्झौतामा हानका तर्फबाट अमरमान शाक्य, सिर्जना राणा, विनायक शाह लगायतले हस्ताक्षेर गरेका छन् । मजदुर संगठनका तर्फबाट तत्कालिन नेकपा एमाले तथा हाल नेकपा निकट नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु)का अध्यक्ष सुर्य बहादुर कुँवर, नेपाल पर्यटन होटल सम्बद्ध श्रमिक संघका अध्यक्ष खेमराज ढकाल, अखिल नेपाल होटल क्यासिसनो तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष तथा तत्कालिन माओवादी केन्द्र तथा हाल नेकपा निकट माधव पाण्डेले हस्ताक्षेर गरेका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मीले पेशागत संगठनले सम्झौता गरेको र आफूलाई थाहा नभएको बताएपनि उनी आफै उक्त कार्यक्रममा सहभागी भएका थिए । सेवा शुल्क सम्झौता सार्वजनिक गर्ने कार्यक्रममा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको साथमा रेग्मी । नेकपाका नेता तथा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मीले उक्त सम्झौता मजदुरको पक्षमा रहेको बताए । ‘पेसागत संगठनले गरेको सम्झौतामा के कति भाग बण्डा भएको छ भन्ने मलाई थाहा भएन,’ उनले भने,‘यो आम मजदुरको पक्षमा छ ।’ कांग्रेस निकट एक मजदुर नेताले यस्तो सम्झौता मजदुर आन्दोलनको लागि ठूलो गद्दारी भएको बताए । ‘यो सम्झौता जसले गरेको भए पनि हामी मान्दैनौँ । यसले मजदुरको अधिकारमाथि धावा बोलेको छ,’ उनले भने,‘मजदुरको नाममा दलाली भएको छ । ब्रोकरहरुले गरेको सम्झौता प्रजातन्त्रमा कुनै मजदुरले मान्ने छैन ।’ नेकपाका नेता तथा अखिल नेपाल होटल क्यासिसनो तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष माधव पाण्डेले आफूहरुले मजदुरकै पक्षमा यस्तो सम्झौता गरेको बताए ।

Must View