यसकारण स्पेनले विश्वकप २०१८ को प्रिक्वाटर हार्न सक्छ , डिफेन्स फितलो हुँदा
स्पेनिस टिम आफ्नो फुटबलदेखि सन्तुष्ट छैन । समूह चरणका तीन खेलमा पाँच गोल खाएको स्पेनको विशेष गरी डिफेन्स लाइन राम्रो नभएको ठम्याई छ ।
समूह चरणमा पोर्चुगलसँग तीन/तीन गोलको बराबरी गरेको स्पेनले इरानलाई १-० ले हराएको थियो भने मोरक्कोसँग दुई/दुई गोलको बराबरी खेलेको थियो । एउटा सानो गल्तीले स्पेनिस टिमलाई समूह चरणबाटै फर्काइदिन सक्थ्यो ।
डिफेन्डर ड्यानी कार्भाजलले स्पेनको डिफेन्स लाइनमा देखिने समस्याका बारेमा सोधिएको प्रश्नमा सामान्य गल्तीहरु भएको मात्रै बताए । उनले सामान्य भनेकै गल्तीमा पनि स्पेनका प्रशिक्षक फर्नान्डो हिरेरो भने चिन्तित देखिएका छन् । विश्वकप छनोट चरण र त्यसपछि भएका मैत्रीपूर्ण खेलमा स्पेनले जे गरेको थियो त्यो लय विश्वकपमा देखिँदैन ।
‘डिफेन्समा हामीले एकाग्रता गुमाउँदा भएको गल्तीहरु हो । पोर्चुगलले गरेका दुई गोल त पेनाल्टी र फ्रीकिक थियो । त्यो दुवै हाम्रो असावधानीले भएको थियो ।
जेरार्ड पिके, सर्जिओ रामोस, जोडी अल्बा, कार्भाजल, नाचो फर्नान्डेजजस्ता क्लब फुटबलका उत्कृष्ट डिफेन्स लाइन हुँदा हुँदै पनि सामान्य गल्ती दोहोरिरहेको छ ।
प्रशिक्षक हिरेरो पनि खेलाडीहरुको सामान्य गल्तीलाई नियालिरहेका छन् । अहिले भएको खेलमा धेरै नै सुधार हुनुपर्ने उनको बुझाइ छ । विश्वकपमा अन्तिम १६ को खेलमा आयोजक रसियाविरुद्ध खेल्दा डिफेन्स नसुधि्रने हो भने स्पेनिस टिम निराश बन्न सक्छन् । रसियाले समूह चरणका तीन खेलमा आठ गोल गरेको थियो भने चार गोल खाएको थियो ।
डिफेन्स लाइनको सुधार सँगै प्रशिक्षक हिरेरो रसियाविरुद्ध खेल्ने सुरुवाती ११ मा पनि केही परिवर्तन गर्न खोजिरहेका छन् । आइतबार बेलुका पौने ८ बजे हुने खेलमा कोकेलाई सुरुवातमै ल्याउने तयारी उनको छ ।
कोकेले रसियन स्ट्राइकरलाई मिडफिल्डमै रोक्न सक्ने र त्यसले डिफेन्स लाइन बलियो हुने विश्वास हिरेरोको छ ।
डेभिड सिल्भाले आश गरेअनुरुप खेल देखाउन नसकिरहेकाले उनको स्थानमा मार्को एसेन्सियोलाई सुरुदेखि नै खेलाउने तयारी पनि प्रशिक्षक हिरेरोले गरिरहेका छन् ।
गोलकिपर डेभिड डेगाले गरेका सामान्य गल्ती सुधार हुनै पर्ने र टिमले उनीमाथि विश्वास राखेको प्रशिक्षक हिरेरोको भनाई छ ।