नागरिक पोष्ट News


डीडीसीले उत्पादन गर्ने दूधमा सोडा, छापापछि दूधको बिक्री घट्यो

452

सुरेशकुमार यादव

काठमाडौँ, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले दूध उद्योगमा छापा मारी नमुना सङ्कलन गरी त्यसको प्रतिवेदन सार्वजनिक गरेपछि उपभोक्ताले दूध खरिद गर्न छाडेका छन् । सङ्कलन गरिएको दूधको ल्याब जाँच गर्दा स्वास्थ्यलाई असर गर्ने खालका अखाद्य वस्तु फेला परेको प्रतिवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले सार्वजनिक गरेपछि दूध बिक्रीमा २० प्रतिशतले कमी आएको दूध उद्योगीले बताएका छन् । मन्त्री चन्द्रपाणि खनालको नेतृत्वमा गएको टोलीले छापा मारेको सरकारी स्वामित्वमा रहेको दूध विकास संस्थान (डीडीसी) को दूधमा पनि स्वास्थ्यलाई असर गर्ने अखाद्य वस्तु पाइएको छ । डीडीसीले उत्पादन गर्ने दूधमा सोडा पाइएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चन्द्रपाणि खनालको नेतृत्वमा जेठ २८ गते छापा मारी सङ्कलन गरिएको नमुना जाँच गर्दा सोडा भेटिएको हो । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा मन्त्रालयका प्रतिनिधिले डीडीसीलगायत विभिन्न ब्रान्डका दूधको नमुना सङ्कलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागमा जाँचका लागि पठाइएको थियो । डीडीसीको गाईको दूध, पूर्ण क्रिम भएको दूध, स्टाण्डर्ड दूध, एसटडी दूध, चियाको दूध गरी छ प्रकारको दूध जाँच गरेको थियो । दूधमा अरु सबै ठीक भए पनि छवटै प्रकारको दूधमा सोडा भेटिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी गराउनुभयो । डीडीसीका साथै आधुनिक डेरी, गल्फ विनायक डेरी, आकृति दूध तथा कृषि, जय श्री कृष्ण डेरी, भक्तपुर डेरी, एचडी मिल्क एन्ड बेभरेज, हिमालय डेरी प्रोडक्ट, जगदम्बा डेरी फुड एन्ड बेभरेज, खरीपाटी डेरी, कालिका डेरी, सन्जु डेरी, नवप्रभाव डेरी, नेपाल डेरी, कन्ट्री फुड प्राइभेट, राजधानी डेरी, सुजल डेरी, सन्जिवनी डेरी उद्योग, शिवम् डेरी, सीताराम डेरी, सामूहिक कृषक डेरी, हिमालयन डेरी, तुल्सा डेरी प्रोडक्ट, संयुक्त डेरीबाट प्राप्त गरेको दूधमा पनि सोडा भेटिएको विभागले जनाएको छ ।

Must View