विनियोजित विधेयकमाथी छलफल हुन सकेन
काठामाडौं ।प्रतिनिधि सभाको बैठकमा आईतबारदेखि शुरु हुने भनिएको विनियोजन विधेयक २०७५ को विभिन्न शीर्षकहरुमाथिको छलफल अन्तिम अवस्थामा आएर स्थगित भएको छ ।आईतबारको कार्यसूचीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय गरी ४ वटा मन्त्रालय अन्तर्गतका विभिन्न शिर्षकहरु माथि छलफल तय गरिएको थियो ।
तर बैठकको अन्तिममा सभामुख कृष्णबहादुर महराले वजेटको विस्तृत वितरण सम्बन्धी पुस्तक विविध कारणले वितरण गर्न लिाई भएकाले बैठक स्थगित गरिएको जानकारी गराउँदै बैठक भोलि बिहान ११ बजे सम्मका लागि स्थगित गरेका छन् ।
प्रतिनिधि सभाको आईतबारको बैठकको शुरुमा सांसदहरुले समसामयिक विषय र पूर्वाधार निर्माण लगायतका विषयमा सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद खगराज अधिकारीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढिसकेकोे अवस्थामा विशेषज्ञको नाममा पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन सक्दैन भन्ने रिपोर्ट दिएको भन्ने कुरा आएकाले त्यस्तो रिपोर्ट बुझाउनेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।विमानस्थल निर्माणका लागि स्थानीय बासिन्दाले ज्यादै न्यून मुआब्जामा समेत सरकारलाई जग्गा उपलब्ध गराएर सहयोग गरेको तथा सरकारले बजेट नै बिनियोजन नगर्दा पनि चिनियाँ कम्पनीले करिब १५ प्रतिशत काम अगाडि बढाइसकेको अवस्थामा अहिले सो कार्यलाई प्रभावित गर्ने गरी यस्तो अभिव्यक्ति आउनु दुःख भएको र विमानस्थल निर्माणलाई अबरुद्ध गर्नका लागि यस्तो रिपोट दिन लगाउने विचौलियालाई पनि कारबाही गर्न सरकारसँग माग गरेको छन् ।
त्यस्तै आजको विशेष समयमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र एक भई निर्वाचन आयोगले एउटै पार्टीको मान्यता दिइसकेकाको अवस्थामा शक्ति सन्तुलनका लागि सभामुख र उपसभामुख मध्ये एक पद अर्को दललाई दिनु पर्ने माग राख्दै सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
नेपाली कांग्रेसकै सांसद दिलेन्द्र प्रसाद बडुले साउदी अरवको जेलमा रहेका अमर बहादुर बम लगायतका नेपाली नागरिकहरुहको जीवन रक्षाका लागि सरकारले तत्काल विशेष कदम चाल्नु पर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराए ।
यसैगरी, नेकपा(नेकपा)की सांसद पूर्णाकुमारी सुवेदीले लक्ष्मणपुर बाँधका कारण बाँकेका स्थानीय जनता डुवानमा पर्ने गरेको भन्दै सो समस्या ससमाधानका लागि कुटनैतिक पहल गर्न सरकार सँग माग गरिन् ।
आजको विशेष समयमा सांसदहरु रामसहाय प्रसाद यादव, राजकिशोर यादव, रंगमती शाही, विरोध खतिवडा, झपड रावल, प्रेम सुवाल, दुर्गा पौडेल, हितबहादुर तामाङ, यज्ञराज सुनुवार लगायतले विशेष समयमा आफ्ना धारणा राख्दै समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।