Political Leader Krishna Bahadur Mahara, महराको राजनीतिक यात्रा यसरी
०३५/३६ को आन्दोलनमा सक्रिय रूपमा सहभागी भएको थिएँ । त्यसपछि म शिक्षक भएँ । शिक्षक भएपछि शिक्षककै संगठनभित्रको राजनीतिमा सक्रिय भएँ । जसले गर्दा अहिले यहाँ छु ।
मेरो विद्यार्थीजीवनको सुरुवात रोल्पाको बालकल्याण माध्यमिक विद्यालयबाट भएको हो । मैले त्यहीँबाट नै अक्षर सिक्न सुरु गरेँ । बिस्तारै अक्षर सिक्दै त्यही विद्यालयको प्रांगणमा हाँस्दै, खेल्दै, रमाउँदै कक्षा १० सम्मको शिक्षा हासिल गरेँ । त्यही विद्यालयबाट ०३३ मा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण भएँ । त्यसवेलाको एसएलसीमा जम्मा ५६० नम्बर ल्याएपछि प्रथम श्रेणी आउँथ्यो । तर, मेरो ५५९ मात्र आयो । यसरी १ नम्बर नपुगेर प्रथम श्रेणी गुम्यो ।
बुवा बिरामी भएपछि, डाक्टर बन्ने चाहना बढ्यो
मेरो बुवा बिरामी हुनुहुन्थ्यो । जसले गर्दा उहाँको रोगलाई सन्चो गराउनका लागि सानैदेखि डाक्टर बन्छु भन्ने चाहना थियो । तर, परिवार शिक्षित नभएकाले के पढ्दा के हुन्छ भन्ने कसैलाई पनि थाहा थिएन । तर, मलाई भने डाक्टर बन्ने इच्छा थियो । विद्यालय जीवनमा डाक्टर बन्छु भन्ने चाहना राखेको हुनाले डाक्टर नै बन्ने लक्ष्य पूरा गर्छु भनेर लागेँ । त्यसैले नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसबाट आइएस्सीमा बायोलोजी लिएर अध्ययन गरेँ । त्यसवेलासम्म मेरो डाक्टर बन्ने ठूलो धोको थियो ।
यसरी भएँ मास्टर
यसैबीचमा मैले अध्ययन गरेको विद्यालय बालकल्याण माविमा गणित र विज्ञान विषयको शिक्षकको माग भइरहेको थियो । त्यतातर्फ मेरो ध्यान गयो । मैले आवेदन दिएँ । त्यसपछि डाक्टर बन्नेभन्दा पनि असल मास्टर हुन्छु भन्ने लाग्यो । डाक्टर बन्न नसकेपछि आफैँले क, ख सिकेको सोही विद्यालयमा मास्टर भएँ । मास्टरको जागिर खाँदा अब मेरो जिन्दगी अध्यापनमै बित्छ भन्ने लागेको थियो । तर, १२ वर्ष मात्र शिक्षकको जिम्मेवारीमा रहेर काम गरेँ ।
०३५/३६ को आन्दोलनदेखि राजनीतिमा सक्रिय
मलाई ०३५/३६ को आन्दोलनले राजनीतितर्फ ध्यान खिचिसकेको थियो । आन्दोलनमा सक्रिय रूपमा सहभागी भएको थिएँ । त्यसपछि म शिक्षक भएँ । शिक्षक भएपछि शिक्षककै संगठनभित्रको राजनीतिमा सक्रिय भएँ । त्यसैले म विद्यार्थीजीवनमा परिस्थितिअनुसार चलेँ । जसले गर्दा अहिले यहाँ छु ।
पृथ्वीनारायण क्याम्पसबाट शिक्षाशास्त्र संकायमा स्नातक गरेँ
आइएस्सी सकेपछि शिक्षक भएँ । शिक्षक भइसकेपछि आफ्नो पढाइलाई पनि अघि बढाउन चाहेँ । मैले डाक्टर बन्ने सपना परिवर्तन गरिसकेपछि संकाय परिवर्तन गर्नुको विकल्प थिएन । त्यसैले मैले पोखराको पृथ्वीनारायण क्याम्पसमा आएर शिक्षाशास्त्र संकायमा स्नातक गरेँ ।
अनि, सक्रिय राजनीति सुरु गरेँ
म नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दा राजनीतिमा समर्थकको रूपमा मात्र थिएँ । तर, जब पृथ्वीनारायण क्याम्पसमा आएर शिक्षाशास्त्र संकायमा अध्ययन गर्न सुरु गरेँ त्यसपछि सक्रिय विद्यार्थी राजनीतिको भूमिका निर्वाह गरेँ ।
यसैबीचमा म ०३९ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको आठौँ केन्द्रीय समितिको केन्द्रीय सदस्य भएँ । त्यस्तै, गण्डकी र धौलागिरिको उपसंयोजक पनि भएँ । यसैगरी कास्की जिल्लाको विद्यार्थी संगठनको अध्यक्ष पनि भएँ । यसरी विद्यार्थी राजनीतिमा सक्रिय हुँदै गर्दा ०४१ मा पृथ्वीनारायण क्याम्पसको स्ववियु कोषाध्यक्ष भएको थिएँ । त्यसपछि क्रमैसँग पार्टीगत राजीतिमा पनि सक्रिय हुँदै गएँ । जसले गर्दा स्नातकभन्दा माथिको पढाइ अघि बढ्न सकेन ।
कलेजमा कसैसँग झगडा भएन, सकेसम्म मिलाउँथेँ
विद्यार्थी राजनीति गर्ने क्रममा विद्यार्थी संगठनबीचमा अन्तरसंघर्ष त भइनै रहन्थे । कुनै वेला विभिन्न प्रकृतिका झगडा हुन्थे । तर, मचाहिँ झगडामा सामेल हुँदैनथेँ । सकेसम्म साथीहरूबीचमा झगडा हुन दिन्नथेँ । यदि झगडा भइहाल्यो भने साथीहरूलाई मिलाउने कोसिस गर्थेँ ।
विद्यार्थीजीवनमा कसैसँग प्रेम बसेन
हाम्रो पालामा अहिलेको जस्तो कलेज जाने, प्रेम गर्ने परिपाटी थिएन । तैपनि एकले अर्कालाई मन पराउने त भइनै हाल्थ्यो । तर, म आफ्नो पढाइ र राजनीतिमा केन्द्रित थिएँ । अर्को कुरा मेरो कसैलाई प्रेम गर्ने खालको स्वभाव पनि थिएन । त्यसैले पनि विद्यार्थीजीवनमा कसैसँग पनि प्रेम बसेन ।