रेहानेको हृदयविदारक चिठ्ठी : फाँसीमा झुण्डिनुअघि भनिन्- ‘आमा मलाई तपाईंको हात एकपटक चुम्न दिनोस
इरानी इन्टेरियर डिजाइनर २६ वर्षिया रेहाने जब्बारीलाई त्यहाँको अदालतको फैसलाबमोजिम शनिबार मृत्युदण्ड दिइयो । सन् २00९ मा इरानको गुप्तचर निकायका एक अधिकारीलाई छूरी प्रहार गरी हत्या गरेको अभियोगमा अदालतले उनलाई फाँसीको सजाय सुनाएको थियो ।
ती गुप्तचर अधिकारीले आफूलाई बलात्कार गर्न खोजेपछि आत्मरक्षा गर्न खोज्दा हत्या हुन पुगेको रेहानेले बताएकी थिइन् ।
फाँसीको तख्तामा जानुअघि उनले आमा सोलेह पक्राभनलाई हृदयविदारक चिठी लेखेकी थिइन् जुन चिठी इरानी अधिकारकर्मीले सार्वजनिक गरिदिएका छन् ।
- Source : treemedianews#भावानुवाद प्यारी ममतामयी आमा, मैले कठोर दण्ड पाउने कुरा मैले आजै थाहा पाएँ । म आफ्नो जीवनरूपी किताबको अन्तिम पानामा आइपुगेकी छु भन्ने तपार्इं स्वयंले मलाई नबताउँदा मेरो मन किञ्चित कुँडिएको छ । यो कुरा मैले थाहा पाउनुपर्छ भन्ने तपाईंले किन सोच्नुभएन ? यो सब कुराले तपाईंलाई भित्रैदेखि मर्माहत् बनाएको छ भन्ने मलाई थाहा छ र यसले मलाई लज्जित तुल्याएको छ । तपाईंको र बुबाको हात एकपटक चुम्ने मौकाबाट मलाई किन वञ्चित राख्नुभयो आमा ?
यो संसारले मलाई १९ वर्षसम्म बाँच्ने मौका दियो । त्यो अलच्छिन रातमै मेरो हत्या भएको भए कति वेश हुने थियो होला ? यदि मैले चिताएजस्तै भएको भए सहरको एउटा गल्लीमा मेरो लास फालिएको हुने थियो । मेरो लास पहिचान गराउन प्रहरीले तपाईंलाई त्यही गल्लीमा लिएर जान्थ्यो । त्यहाँ पुगेपछि तपाईंले थाहा पाउनुहुने थियो कि, तपाईंकी प्यारी छोरीको हत्या मात्र होइन, बलात्कार पनि भएको रहेछ ।
मेरो हत्या गर्नेहरूसँग जस्तै हामीसँग सम्पत्ति र सामर्थ्य दुवै छैन । त्यसैले मेरा हत्याराहरू कहिल्यै पक्राउ पर्ने थिएनन् । त्यसपछिका तपाईंका दिनहरू असिम पीडा र लज्जामा बित्ने थिए । यही पीडाले केही वर्षपछि तपाईंको प्राणपखेरू पनि उड्ने थियो ।
तर खै, कस्तो श्रापले गर्दा हो कुन्नि ? कथा अप्रिय ढंगले पूरै बद्लियो । मेरो शरीर कुनै गल्लीमा मिल्किएन । सहरको कुनै गल्लीमा मिल्काइनुको सट्टा मेरो शरीर इभिन जेलरूपी यो चिहानको सुनसान कालकोठरीमा मिल्काइएको छ । र, अहिले चिहानजस्तै साहर-ए-रे जेलमा मेरो शरीरलाई राखिएको छ ।
आमा, यो सबै नियतिको खेल हो भन्ने सम्झिएर चित्त बुझाउनुहोला, र कुनै प्रकारको दु:ख-मनाउ नगर्नुहोला । मृत्यु जीवनको अन्त्य होइन भन्ने तपाईंलाई राम्रोसँग थाहा छँदै छ नि, हैन र?
तपाईंले मलाई भन्नुभएको थियो, मानिस यो संसारमा अनुभव बटुल्न र शिक्षा हासिल गर्न आउँछ । हरेक जन्ममा मानिसको काँधमा केही न केही जिम्मेवारी भिराइएको हुन्छ । यो जन्ममा मैले एउटा कुरा सिकेँ कुनै न कुनै बेला मानिसले पौँठेजोरी खेल्नुपर्दो रहेछ । मलाई मारपीट गर्ने व्यक्तिको विरोध गर्दा एक मानिसले ती व्यक्तिबाट मुखै-मुखमा, टाउकै-टाउकोमा चाबुक खानुपर्यो । उसमाथि चाबुकको वर्षा भयो र यसैले गर्दा उनको प्राणपखेरू उड्यो । त्यसबखत तपाईंले मलाई भन्नुभएको थियो, छोरी, मर्नुपरे पनि मानिसले आफ्नो मूल्यको रक्षा गर्नुपर्छ ।
तर, तपाईंले हासिल गर्नुभएको अनुभवसिद्ध ज्ञान सत्य रहेनछ । जब ममाथि यो घटना घट्यो, तपाईंले मलाई दिनुभएको जीवनका मूल्यसम्बन्धी ज्ञान सबै बेकार साबित भए । तपाईंले भनेबमोजिम गर्दा मलाई नृशंस हत्यारा र निर्मम अपराधीका रूपमा अदालतमा उपस्थित गराइयो । त्यतिबेला मेरो आँसु खसेन । मैले कसैसँग जीवनरक्षाका निम्ति हात फिजाइनँ । मलाई कानुनप्रति विश्वास थियो । त्यसैले बर्खिलापमा म केही बोलिनँ ।
आमा, म कस्तो कमलो मन भएकी छोरी हुँ भन्ने तपाईंलाई राम्रोसँग थाहा छ । मैले कहिल्यै एउटा लामखुट्टे पनि मारिनँ । घरमा कुनै साङ्लो फेला पर्यो भने त्यसको जुँगामा समातेर म बाहिरतिर मिल्काइदिने गर्थेँ, मार्दिनथेँ । तर, आज मलाई नियोजित हत्यारा बनाइयो । जनावरप्रतिको मेरो व्यवहारलाई छोरो मान्छेजस्तो बन्न खोज्ने मेरो अभिलाषाका रूपमा अर्थ्याइयो । तर, यो घटना हुदाखेरि मेरो हातका लामा, पालिस लगाएर चिटिक्क पारेका नङप्रति न्यायाधिश महोदयको ध्यानै गएन ।
न्यायाधिश महोदयबाट न्यायको अपेक्षा गर्नेहरू कति आशावादी हुदा हुन् कठै ? मेरो हात खेलाडीको जस्तो, अझ भन्नुपर्दा बक्सरको जस्तो जब्बर र खस्रो खालको छैन भन्ने तथ्यबारे न्यायाधिश महोदयबाट कुनै प्रश्न भएन । र, यो राष्ट्र, जसप्रति माया गर्नुपर्छ भन्ने भाव तपाईंले ममा जगाइदिनुभयो, यसले पनि मलाई कहिल्यै चाहेन । सोधपुछकर्ताको एकपछि अर्को प्रश्नको प्रहार सहन नसकेर मैले आँसु झारिरहँदा कोही पनि मेरो समर्थनमा आएनन् । मेरो सौन्दर्यको अन्तिम निशानीका रूपमा रहेको कपाल खौरिएपछि मेरो हातमा ११ दिन लामो कालकोठरीबासको उपहार थमाइयो ।
यो सबै सुनेर नरूनुहोला आमा । प्रहरी कार्यालयमा पुगेको पहिलो दिन नै एकजना अविवाहित प्रहरीले मैले पालेका लामा नङका निम्ति मलाई दिनु दु:ख दिएका थिए ।
त्यसपछि मैले बुझेँ, यो युगमा सौन्दर्यताको पारख गरिँदैन रहेछ । सुन्दर हेराई, सुन्दर विचार, सुन्दर कामना, सुन्दर हस्तलिखित अक्षर, सुन्दर आँखा, सुन्दर दृष्टिकोण र सुन्दर आवाजको यो युगमा कुनै कदर हुदैन रहेछ ।
अहिले मेरो जीवनदर्शन बद्लिएको छ । तर, यसका लागि तपाईं जिम्मेवार हुनुहुन्न । मेरा शब्दहरूको कुनै अन्त्य छैन । यी शब्दहरू मैले कसैलाई लेखेर दिएकी छु । जब तपाईंलाई उपस्थित नगराईकन र जानकारी नदिईकन मलाई फाँसी दिइन्छ, त्यतिबेला तपाईंले यो पत्र पाउनुहुनेछ । आफ्नो नासोका रूपमा मैले तपाईंका निम्ति हातले लेखेका यी अक्षरहरू छोडेर गएकी छु ।
मर्नुभन्दा अघि म तपाईंबाट केही चाहन्छु । मैले इच्छाएको कुरा पूरा गर्न तपाईंले दिलोज्यान लगाउनुहोस् भन्ने मेरो चाहना छ । वास्तवमा भन्ने हो भने यो संसार, यो देशबाट र तपाईंबाट मैले चाहेको यो नै एक मात्र कुरा हो ।
बिन्ती, नरोईकन मैले भनेको सुन्नुहोस् । अदालत पुगेर मेरो तर्फबाट एउटा आग्रह गरिदिनुहोस् । किनकि, म जेलका यी चार पर्खालभित्रबाट त्यस्तो आग्रह गरिएको चिठी पठाउन सक्दिनँ । किनकि, हरेक चिठी जेलप्रमुखबाट अनुमोदन गराउनुपर्ने हुन्छ । जेलको यस्तो नियमले गर्दा तपाईंले मेरो कारण पुन एकपटक असिम मर्मान्तकारी क्षण बेहोर्नुपर्ने भएको छ । मैले खोजेको कुरा मेरा निम्ति मागिदिनुभयो भने म किञ्चित दु:खी हुने छैन । मलाई फाँसीबाट जोगाउने याचनाचाहिँ कहिल्यै नगर्नुहोस् भनेर मैले यसअघि नै तपाईंलाई पटक-पटक भनिसकेकी छु ।
मैले आफ्नै जीवनभन्दा पनि बढी माया गरेकी मेरी प्यारी आमा,
म माटोमुनि पुरिएर कुहिन चाहन्नँ । म मेरा आँखा र मेरो स्वस्थ्य जवान मुटु माटोमा विलीन होस् भन्ने चाहन्नँ । त्यसैले मेरा लागि एउटा भिख मागिदिनुहोस् ।
मलाई फाँसीको तख्तामा झुन्ड्याउनासाथ मेरो मुटु, मेरा मिर्गौला, मेरा आँखा, हड्डी र प्रत्यारोपण गर्न मिल्नेजति सबै अंगहरू मेरो शरीरबाट निकालियोस् र आवश्यक भएका व्यक्तिलाई ती अंग मेरो अन्तिम उपहारका रूपमा दिइयोस् । अंग पाउने व्यक्तिले मेरो नाम थाहा भने नपाओस् । उसले मेरा लागि पुष्पगुच्छा अर्पण गरोस् अथवा मेरा लागि खुदासँग प्रार्थना गरोस् भन्ने म चाहन्नँ ।
यो कुरा म अन्तरहृदयदेखि भनिरहेकी छु । मेरो कुनै चिहान बनोस् भन्ने चाहना पनि म राख्दिनँ, किनकि मेरो चिहानमा पुगेर निरन्तर शोक गर्ने र पीडा प्राप्त गर्ने अवसर तपाईंलाई प्राप्त भएको अवस्था म निम्त्याउन चाहन्नँ । मेरा लागि तपाईंले शोक जनाउने खालको कालो लुगा लगाउनुहोस् भन्ने पनि म चाहन्नँ । मेरा दु:खका दिन बिर्सिने हरसम्भव चेष्टा गर्नुहोस् । मलाई यो पवनको जिम्मामा छोडिदिनुहोस् ताकि यसले मलाई निर्वाध रूपमा उडाएर पर-पर अनन्तमा पुर्याउन सकोस् ।
यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यको मूल्यप्रति यो संसारले कुनै इच्छा देखाएन । अब म यी सबैबाट मुक्त भएर मृत्युलाई अँगाल्दै छु ।
तर, भगवानको अदालतमा फेरि मुद्दा चल्नेछ आमा । त्यहाँ म निरीक्षकविरुद्ध मुद्दा हाल्नेछु, न्यायाधीश महोदयविरूद्ध मुद्दा हाल्नेछु, यो देशका सर्वोच्च अदालतका न्यायाधीशहरू सबैविरूद्ध मुद्दा हाल्नेछु ।
सृष्टिकर्ताको अदालतमा म ती सबैविरूद्ध मुद्दा हाल्नेछु, जसले अज्ञानता अथवा झुटको वशमा परेर देखिएको सत्य कहिलेकाहिँ वास्तविक सत्यभन्दा भिन्न पनि हुन सक्छ भन्ने तथ्यतर्फ निर्ममतापूर्वक आँखा चिम्लिए ।
कोमल हृदय भएकी प्यारी आमा, परलोकमा आरोप लगाउनेहरूको आसनमा हामी हुनेछौँ र आरोपित व्यक्ति उभिने कठघरामा अरूहरू हुनेछन् ।
हेरौँ, भगवान् के चाहँदा रहेछन् । म तपाईंलाई नमरून्जेलसम्म अँगालोमा कसिरहन चाहन्छु ।
तपाईंलाई माया गर्ने- रेहाने