बैशाख ९ गते हुने पार्टी एकता टर्यो, ओली र प्रचण्डको वार्ता असफल
प्रधानमन्त्री केपी ओली र प्रचण्डबीचको तीन दिनदेखि ‘वान टु वान’ वार्ता असफल भएको छ । शनिबारको अन्तिम वार्ताको पनि ठोस सहमति हुन नसकेको स्रोतले बताएको छ ।
बैशाख ९ गते आइतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकता संयोजन समितिले संयुक्त कार्यक्रम राखेको भए पनि छिट्टै पार्टी एकता गर्ने बाहेकका कुनै ठोस सहमति नआउने एक नेताले बताए । नेताहरुले विश्व मजदुर दिवसको अवसर पारेर वैशाख २२ अर्थात मे ५ मा एकता घोषणा गर्न उपयुक्त हुने बताएका छन् । तर, ओली र प्रचण्डबीच सहमति नभएसम्म एकता कहिले गर्ने भन्न सकिने अवस्था छैन ।
यसअघि दुई दलले सुरूमा ९ वैशाखमै पार्टी एकता गर्ने योजना बनाएका थिए । तर, ओली र प्रचण्डबीच सहमति हुन नसकेपछि एकता प्रक्रिया लम्बिएको हो ।
शीर्ष नेताहरु रहेको दुई अलगअलग कार्यदलले अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदन पनि बुझाइसकेको छ तर, जनयुद्ध, चुनाव चिन्ह, केन्द्रीय समितिको भागवण्डाका विषय मिलेका छैनन् ।
माओवादीले समान हैसियतमा मात्र एकता हुन सक्ने बताएको छ भने एमालेले ५०/५० असम्भव बताएको छ ।
तर, एमाले नेताहरुले भने महाधिवेशनबाट नेतृत्व दिने लिखित सहमति गर्न नसकिने बताउन थालेका छन् । यसले प्रचण्डले यही अडान राखेको बुझिन्छ ।
यद्यपि माओवादी नेताहरु नेतृत्व दाबीबारे अहिले यसबारे खुलेर कुरा गर्न तयार छैनन् ।