Real Story - मुद्दा जितेर पनि ७० वर्षिया कृष्णमाया फेरि अदालतको तारिख धाइरहेकी छिन्
सिन्धुलीको कमलामाई नगरपालिका ६ धुलाबजारकी कृष्णमाया खड्काको जेठो छोराले पाल्छु भनेर उनको नाममा भएको जग्गा सबै आफ्नो नाममा पारे । त्यसपछि घरबाट निकालिदिए ।
अहिले कृष्णमाया ७० वर्ष पुगिन् । उनको देब्रे गोडा टेक्न समस्या छ । ओत लाग्ने ठाउँ समेत नभएपछि २ वर्षदेखि अदालत धाइरहेकी छिन् । छोराले घरबाट निकालिदिएपछि आफैंले जन्म दिएको छोराविरुद्ध मुद्दा हालिन् । यो मुद्दामा जिल्ला अदालत सिन्धुलीले मासिक ५ हजार रुपैयाँ छोराले दिनुपर्ने गरी फैसला गरिदिएको पनि छ ।
तर छोराले अदालतले आदेश अनुसार पैसा दिएन । फैसला कार्यान्वयन नहुँदा उनी फेरि अदालतको फैसला कार्यान्वयन नगरेको भनेर अदालतको मानहानीमा मुद्दा हालेकी छिन् । हिजोआज फेरि त्यसैको तारिख धाइरहेकी छिन् । उनी भन्छिन्, ‘मर्ने बेला हेर्ला भनेको छोरासँगै मुद्दा लड्नुपर्ने कति अभागी म ।’
अदालतले गरेको फैसला कार्यान्वयन नभएर पीडित बनेकी उनी एक्लो होइनन्, सिन्धुलीकै अर्की एक महिला पनि हिजोआज एक छोरा सहित माइती बस्छिन् बिहे गरेको ७ वर्ष भयो । झण्डै दुई वर्ष अंश मुद्दा लडिन् । मुद्दा फैसला भएको दुई वर्ष पुग्नै लाग्यो तर अदालतले जिताइ दिएको फैसलाको कागज उनले हेर्न मात्र पाएकी छिन् ।
मुद्दा जिते पनि आफ्नो भागमा परेको जग्गा जमिन उपभोग गर्न पाएकी छैनन् । बेच्न खोज्दा ससुरालगायत श्रीमान्को घरपट्टीका व्यक्तिहरुले बेच्न नपाउने भन्दै धम्क्याउने गरेका कारण उनले त्यो उपयोग गर्न पाएकी छैनन् ।
एक त अदालतले फैसला गर्नै समय लगाउँदा महिलाहरु पीडित भइरहेका छन्, ढिलो चाँडो मुद्दा जितेकाहरुले पनि फैसला अनुसारको न्याय पाएका छैनन् । त्यति मात्र होइन, अदालतको लम्बेतान प्रक्रियाले गर्दा पीडितहरुले न्याय पाएको महसुस नै गर्दैनन् ।
सुनकोशी गाउँपालिका झाँगाझोलीका कृष्णबहादुर राउत पनि त्यस्तै पीडामा छन् । घटना भने अलि फरक छ । झण्डै डेढ वर्ष अघि १६ वर्षीया छोरीको सामुहिक बलात्कारपछि हत्या भयो, बल्लतल्ल किटानी जाहेरी दर्ता भएको घटनाका आरोपितहरु १० महिना त थुनामा बसे तर अदालतले सफाइ दियो ।
सिन्धुलीमा छायाँकन भएको समकोण कार्यक्रममा आएर दुखेसो गरे, बलात्कारपछि हत्याको घटनाको देख्ने साक्षी भएन भनेर मुद्दा हारेको रे ।’ उनको प्रश्न छ, बलात्कार पनि कसैले साक्षी राखेर गर्छ र ? छोरीको घटनाभन्दा अगाडि भारतमा काम गर्ने उनी डेढवर्ष यता उनी मुद्दामामिलामा अल्झिरहेका छन् । घटनामा आरोपित भनेर थुनामा राखिएका ३ जनालाई नै अदालतले सफाइ दिए पछि फेरि उनका लागि पुनरावेदन आश बाँकी छ ।
तर ४ महिना बितिसके पनि फैसलाको पूर्णपाठ अदालतबाट तयार नहुँदा यो घटना पुनरावेदन जान ढिलाइ भइरहेको जिल्ला सरकारी वकिलको कार्यालयले बताएको छ ।
Source - महिला खबर