बिस्केटको लिङ्गो ढालियो, बिस्केटलाई सहकालको देवताको प्रतिक
बिस्केट जात्राको पाँचौ दिन अर्थात नयाँ वर्षको पहिलो दिन वैशाख १ गते अघिल्लो दिन उभ्याइएको लिङ्गो ढालिएको छ । चैत्र मसान्तको दिन राती भेलुखेलमा बाजा गाजा सहित तान्त्रिक विधि पूर्वक उभ्याइएको ५५ हात लामो लिङ्गो दिनभर पूजाआजा गरी शनिबार साँझ ढालिएको हो । तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीक स्वरूप दुईवटा ध्वजा बाँधी अष्टमातृकाको प्रतीक आठ वटा डोरीले बाँधी उभ्याइने प्रचलन छ । लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाश भैरवका ध्वजा समेत भनिन्छ । भक्तपुरको प्रसिद्ध बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छ भन्ने धार्मिक मान्यता रहेको स्थानीयको भनाई छ । अष्टमात्रिकाको प्रतिक मानिने लिङ्गोमा नागनागिनाको प्रतिक स्वरुप हलिपतका ध्वजा बाँधेर फहराइन्छ ।
त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकापसमा जुधाईने परम्परा छ । लिङ्गो ढालिसकेपछि भेलुखेलबाट भैरवनाथ र भद्रकालीको रथ गा:हिटी पुर्याएको छ । जात्राको आठौं दिन भक्तपुरमा रहेका सम्पूर्ण देवीदेवताको सगुन पूजा गरिन्छ । यसलाई स्थानीय नेवारी भाषामा ‘द्यो सगँं बिइगु’ भनिन्छ । जात्राको नवौं दिन बैशाख ५ गते बिहान तालाक्व स्थित उभ्याइएको ज्याठा गणेशको हात नभएको लिङ्गो ढालिन्छ र बेलुका जात्राको पहिलो दिन जस्तै भैरवनाथ र भद्रकालिको रथ तानेर जात्रा सम्पन्न गरिने परम्परा छ । नेपाल सम्वत २६८ अर्थात लिच्छवी कालभन्दा अगाडि देखि राजाजगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल सम्वत् ८२७ मा राजा भूपतिन्द्र मल्ल बिस्केट जात्रालाई थप व्यवस्थित गरी आठरात र नौं दिन सम्म मनाउने प्रचलन बसाएको उल्लेख गरिन्छ ।
विक्रम संवत् अनुसार सौर्य मासको आधारमा मनाईने बिस्केट जात्रा बि:सीत अर्थात नागनागिन मर्यो भन्ने भावका आधारमा लिच्छवीकाल देखि मनाइँदै आएको बताइन्छ भने, विश्व केतुको पछिल्लो रुपान्तरणका रुपमा समेत विश्वनाथ एवं भैरवनाथ तथा शिवशक्तिको प्रतिकका रुपमा जात्रा मनाउने प्रचलन रहेको इतिहास एवं संस्कृतिकर्मीहरु बताउँछन् । बिस्केटलाई सहकालको देवताको प्रतिकका रुपमा समेत लिइने इतिहासविद् डा.पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् । त्यसैगरी, नयाँवर्षको अवसरमा जिल्ला जात्रामय बनेको छ ।
सूर्यविनायक नगरपालिका सिरुटार र दधिकोटको सङ्गमस्थल चरखण्डी मन्दिरमा शनिबार स्नान गरी जात्रा मनाएको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर चरखण्डीश्वर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई पूण्य प्राप्त हुने जनविश्वास रहेको स्थानीय बताउँछन् । सूर्यविनाक नगरपालिकाका चित्रपुर, ललितपुरको टीकाथली स्थित गुप्तेश्वर महादेव, चाँगुनारायण नगरपालिका सुडाल लगायत स्थानहरुमा खट सहितको जात्रा मनाएको छ । मध्यपुरथिमि विष्णुवीर, सिद्धिकाली, बालकुमारी, दक्षिण बाराही लगायतको जात्रा मनाएको जनाएको छ ।
प्रकाशित:वैशाख १, २०७५ ekantipur.com