सचिवहरूको सरूवा, को कहाँ - कहाँ ? विवरणसहित
सरकारले विभिन्न मन्त्रालय र निकायमा रहेका सचिवहरूको सरूवा गरेको छ । मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्री कार्यालयमा रहेका सचिव प्रेमकुमार राईलाई गृहसचिव, गृह मन्त्रालयमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद सचिवको जिम्मेबारी थमाएको छ । शिक्षा सचिवमा खगराज बराललाई ल्याइएको छ ।
यता, महेन्द्रमान गुरूङलाई सञ्चार सचिवको जिम्मा दिइएको छ भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रहेका सचिव राजन खनाललाई अर्थसचिवको जिम्मेबारी दिइयो । अख्तियारमा भने सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपाने पुगेका छन् । राष्ट्रिय योजना आयोगका विष्णु लम्साल रक्षा सचिव बनेका छन् भने प्रधानमन्त्री कार्यालयका सचिव शरच्चन्द्र पौडेल योजना आयोगमा पुगेका छन् ।
पर्यटन, कानून र सामान्य प्रशासन मन्त्रालयमा सचिव यथावत राखिए पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव मधुसुदन अधिकारीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिइएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम तथा रोजगार मन्त्रालयमा, नेपाल ट्रष्ट कार्यालयमा कार्यरत अर्जुनकुमार कार्कीलाई पुनिर्निर्माण प्राधिकरणमा पुराइएको छ ।
वनसचिव डा. युवकध्वज जीसीलाई कृषि मन्त्रालयको सचिव बनाइएको छ भने पशुपंक्षी सचिव विश्वनाथ ओलीलाई वन मन्त्रालयमा तानिएको छ ।
अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा गरिएको छ भने शिक्षा सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा गरिएको छ ।