गोत्र के हो ? यसकारण एउटै गोत्र भएका मानिसहरूको बिच बिहावारी चल्दैन किन ?
नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन सिंधु- घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो। यो हडप्पा सभ्यता र सिंधु-सरस्वती सभ्यताका नामले पनि जानिन्छ, हिन्दूका विभिन्न थरहरू हुन्छन्। ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन्।
उनीहरू आफू विभिन्न ऋषिमुनिका सन्तान भएको विश्वास गर्दछन्। त्यसैले उनीहरूका गोत्र पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित देखिन्छन्। गोत्र उनीहरूको कुल छुट्याउने एउटा भरपर्दो आधार हो। एकै जना बाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका मानिसहरूको बिच बिहावारी चल्दैन।
गोत्र के हो ? कसरी भयो सुरुवात, कुन थरको कुन गोत्र ? तपाईं आफ्नो थाहा पाउनुहोस् …नेपालमा जातका मानिसहरू बाहेक अरूले आफ्नो गोत्रको परवाह गरेको पाइँदैन। हिन्दु समाजमा गोत्र शब्दले एक प्राचिन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ, जुन माथिबाट तल तिर क्रमशः अटुट रुपमा बढ्दै जान्छ । अर्थात एक पुरूषको छोरा, नाति, पनाति, खनाति हुँदै हजारौं हजार वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ ।
एक मुल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषिवंश नै गोत्र हो ।अर्को शब्दमा भन्नुपर्दा गोत्र भन्नाले वैद्विक कालमा ऋषिमुनीहरूले आफ्ना सन्ततीहरूको पहिचानकालागि आफ्नो नामलाई संकेत शब्दको रुपमा प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको देखिन्छ । यसरी थालनी गरेको गोत्रलाई गोत्र पर्वर्तक ऋषिहरूका सन्तानहरूले आफ्नो कुल, वंशको पहिचानको आधार मान्ने गरेको देखिन्छ ।
गोत्र के हो ?
प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनले आफ्नो ‘आदिम समाज’ नामक पुस्तकमा कविला युगमा सामूहिक परिवारमा बस्ने निश्चित एउटै हजुरआमाका सन्तानलाई एउटा गोत्रभित्रका मानिसहरूका रूपमा उल्लेख गरेका छन् (मोर्गन सन् १९६४)। अर्थात् गोत्र भन्नाले एउटै हजुरआमाका सन्ततिहरूको मानव झुण्ड हो। त्यतिबेला बाबुको पहिचान आवश्यक नभइसकेकाले हजुरआमाका सन्तानलाई मानिएको हो, किनकि आमा मात्र निश्चित पहिचान हुने अवस्था थियो। त्यसपछिका सबै जसो समाजशास्त्रीले पनि मानव समाजमा देखापरेको सुरुको गोत्र प्रणालीलाई एउटै हजुरआमाका रक्त नाताका सन्ततिको झुण्ड थिए भन्ने कुरा स्वीकार गरेका छन्।
हिन्दू गोत्र परम्परा भने एक प्रकारले रोचक पनि छ। वास्तवमा हिन्दू परम्परा जसलाई भनिन्छ, त्यो हिन्दू उच्च जातीय गोत्र परम्परा हो किनकि त्यसभित्र दलितहरूलाई राखिन्न। हिन्दू उच्च जातीय गोत्र भनेका ऋषिहरूका नाम हुन् अर्थात हिन्दू फरक फरक ऋषिका सन्तानहरू नै हिन्दू उच्च जात हुन् भन्ने दावी त्यसमा पाइन्छ।
हिन्दू उच्च जातीय ऋषि नामका गोत्र र प्रवरहरू उच्च जातीय श्रेष्ठता सिर्जना गर्न बनाइएका मिथक मात्र हुन् भन्न सजिलै सकिन्छ। तर हिन्दू समाजमा दलितहरूको गोत्र, अझ ठोस गरी भन्दा आर्य–खसभित्रका दलितको गोत्र चाँहि कल्पित मिथकभन्दा बढी वंश परम्पराको ठोस त्यान्द्रोलाई सङ्केत गर्ने खालका छन्। आर्य–खसभित्रका दलितको मूलतः तीन वटा गोत्र छन्। एक, काशी। दुई, कोशल वा कौशल्य। र तीन, काशी कोशल। काशी भनेको हिन्दू तीर्थ काशी होइन। बरु काशी भनेको खस जातिको एउटा शाखा वा एक समयको प्राचीन नाम हो जुन जातिलाई छागल पनि भनिन्थ्यो। त्यसैगरी कोशल पनि खसभित्रको छाग जातिकै अर्को नाम हो। काशी कोशल भन्दा दुई वटै खसभित्रका प्राचीन जाति बुझाउँछ। गौतम बुद्धकालमा भारत वर्षमा भएका सोह्रवटा महाजनपदहरूमध्ये दुई वटा काशी र कोशल जनपदहरू थिए भन्ने तथ्यले पनि काशी र कोशल शब्दले प्राचीन पूर्खा नै जनाउँछन् भनी पुष्ठि गर्दछ।
त्यसैगरी आर्य–खसभित्रका दलितमा प्रवर हुँदैन जुन ऋषिकै नाम हो बरु शाखा भन्ने हुन्छ। थरसँगै शाखा सोध्ने चलन नै थियो र अधिकांशको ब्रह्म शाखा, उदिमा शाखा, साई शाखा आदि हुने गर्दछ। यो ब्रह्मको अर्थ हिन्दू ब्रह्माजी होइन बरु यो ब्रह्मपुत्र नदीसँग सम्वन्धित छ। खसहरू विभिन्न बाटोबाट हिमालय काटेर दक्षिणतिर लागेका थिए। त्यसमध्ये एउटा शाखा ब्रम्हपुत्र नदीसँगै मानसरोवरबाट गङ्गा मैदानतिर लागेको बुझिन्छ। त्यसैले गोत्र र थरसँगै तिनको शाखा ब्रह्म बन्न पुगेको देखिन्छ। गोत्रसँगै आर्य–खस दलितहरूमा शाखा पनि भन्ने चलनले शाखा प्राचीन खसहरूको विभिन्न यात्री झुण्डलाई सङ्केत गर्ने परिचय बुझिन्छ जुन वैदिक आर्य उच्च जातीय गोत्र प्रणालीमा पाइन्न।
जात के हो?
हिन्दू वर्णव्यवस्था अनुसार तोकिएको पेशागत नाम र तह नै जात हो। सुरुमा चार वर्ण ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्र भनेको पेशागत क्षेत्रको मानव समुह र तहगत व्यवस्था थियो। त्यसमा क्रमशः पेशा थपिदै गए र त्यही अनुसार पेशाकै आधारमा जातको नाम र त्यसको तह निर्धारण गर्दै लगियो। ब्राह्मण र क्षेत्रीय जुन मूल शासक हुन्, उनीहरूको पेशा र तह स्थिर राखियो अर्थात ज्ञान र सत्ताको पेशा।
त्यसबाहेक वैश्य र शूद्रहरूको पेशागत क्षेत्रहरू बढ्दै गए। श्रम क्षेत्र बढ्दै जाँदा वैश्य अन्र्तगत र शूद्र अन्तरगत आवश्यकता अनुसार जात र तह पनि बढाउँदै लगियो। ब्राह्मणभित्र उपाध्याय, जैशी, पूर्वीया, कुमाई जस्ता केही भेद भए पनि धेरै तहगत जात हुँदैनन्। त्यसैगरी क्षेत्रीमा पनि झर्रो, घर्ती केही भेद भए पनि धेरै तहगत जात हुँदैनन्। त्यसको एउटै कारण हो कि उनीहरूको ज्ञान र शासनको मूल श्रम क्षेत्र कायम राखियो। वैश्य र शूद्रभित्र मात्रै तहगत आशयका जात किन बनाइयो भन्दा उनीहरूबाट नै सबैथरी श्रमको काम गराइयो।
थर के हो?
थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो। वंश र थर पुरुषबाट सन्तानमा जाने पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत लहरोको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ। नेपालमा एउटै थरभित्र विवाह गर्नै नहुने, आफ्नै थरभित्र मात्र विवाह गर्न मिल्नेदेखि थरलाई नामसँगै जोडेर भन्ने परम्परा नै नभएका जातिसम्म बस्दछन्। नेपालका हिन्दूहरूमा सामान्यतया कूलको अर्थ बोकेका एउटै थरकाबीच विवाह हुँदैन। नेवारमा एउटै थरभित्र मात्र विवाह हुन्छ। हिमाली भोटे जातिमा नामसँगै थर भन्ने परम्परा नै थिएन तर अहिले नामसँगै थर भन्ने अरुसँगको अन्तरक्रियाले गर्दा उनीहरूले पनि नामसँगै थर लेख्न थालेका छन्। जनजातिमा र मुस्लिम समुदायमा पनि थरले महत्वपूर्ण स्थान ओगटेकै छ। त्यसैले नेपालमा रहेका फरक फरक समुदायका निम्ति थरको अर्थ र उपादेयता फरक फरक हुन्छन् भन्ने कुरालाई ध्यानमा राख्न जरुरी छ।
थरहरू यसप्रकारले निम्नानुसार बनेका छन्ः
क) उद्गम स्थानसँग सम्बन्धित जस्तै, दुल्लुबाट हिँडेका दुलाल, पौडीबाट हिडेका पौडेल।
ख) पेशासँग सम्बन्धित जस्तै, प्रशासनको काम गर्ने कार्की।
ग) पदसँग सम्बन्धित जस्तै, मन्त्री खलक अमात्य।
घ) पद्वीसँग सम्बन्धित जस्तै, दीक्षित गर्ने आचार्य, लामा।
ङ) सामाजिक हैसियतको सङ्क्रमणकालसँग सम्बन्धित जस्तै विटुला।
च) जाति वा जातसँग सम्बन्धित, सीधै जात नै नाम थरको रूपमा प्रयोग यसभित्र पर्छन्।
छ) राष्द्रियतासँग सम्बन्धित जस्तै, भारती, नेपाली।
ज) आस्था, मान्यतासँग सम्बन्धित जस्तै शिवभक्ति, खेवा।
झ) ऐतिहासिक घटना वा कूलसँग सम्बन्धित जस्तै वर्मशाखा।
नेपालका आर्य–खस, मधेसी र नेवारभित्रका दलितहरूको थर निर्माणको प्रक्रिया र विद्यमान थरहरू पनि अन्य सबै जाति समुदायको जस्तै नै हो। यी तिनै जाति/समुदायभित्रका दलितको थुप्रै थरहरू र ती जाति समुदायभित्रका गैरदलितको थुप्रै थरहरू मिल्छन होइन बरु एउटै हुन्। त्यसैगरी प्रत्येक जाति/जात/समुदायमा मात्र पाइने थर भए जस्तै दलितभित्रका विभिन्न जातहरूमा मात्र पाइने थर पनि छन्।