मध्यरातमा बाबुले सुतिरहेकी आमामाथि निर्मम तरिकाले गोली वर्षाउँदै हत्या गरेपछि
नेपालगन्ज : घटना बिहीबार मध्यरातको हो। बाँकेको डडुवा गाउँपालिका-३ वनकट्टिीकाकी १२ वर्षीया निशा वर्माले आफ्नी २८ वर्षीया आमा शान्तिदेवी वर्माको हत्या आफ्नै आँखा अगाडि देखिन्। उनकी आमाले दुई हात जोडेर नमार्न अनुरोध गरिरहेकी थिइन्। तर, निर्दयी सञ्जयले पत्नीको चित्कार नै नसुनी दोस्रो पटक बन्दुक लोड गरे र पत्नीमाथि प्रहार गरे।
साँझ मिठा कुराकानी गर्दै सुतेका बाबाले आमाको यसरी हत्या गरेको देखेपछि उनी कोठाबाट भागिन्। तेस्रो पटक बन्दुक लोड गर्दै गरेका बुबा सञ्जयकुमार बर्माले आफूलाई समेत मार्न सक्ने डरले उनी बज्यै भएको कोठमा पुगिन्।
उनले भाग्दै आएकी नातिनीलाई बाहिर निकालिन्। अर्धपागल झै भएका सञ्जय कुमारले श्रीमती मारेको देखेपछि उनकी आमाले बाहिरबाट ढोकाको चुकुल लगाइदिन्। आँखै अगाडि आफ्नै बाबुले सुतिरहेकी आमामाथि निर्मम तरिकाले गोली वर्षाउँदै हत्या गरेपछि निशाको चेत खुल्न सकेको छैन।
तत्कालै मध्यराति १२ बजे नजिकैको प्रहरी चौकी बनकट्टीबाट खटिएको प्रहरी हतियारसहित सञ्जय कुमारलामई नियन्त्रणमा लियो। निशाले बुबाले आफूलाई समेत बन्दुक ताकेको भन्दै अझैसम्म डराइरहेकी छिन्।
छिमेकीले लामो समयदेखि मानसिक रोगका विरामी सञ्जयले औषधि सेवन गरिरहेका थिए। उनले एक पटक आफ्नै आमालाई आक्रमण गरेका थिए। बन्दुकको गोलीबाट शान्तिदेवीको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले घटना भएको कोठमाबाट दुई राउण्ड खोका समेत बरामद गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ३० वर्षीय सञ्जयकुमारले आफ्नी पत्नी परपुरुषसँग सम्बन्धमा रहेकाले आफूले सहन नसकी गोली हानेको स्वीकारेका छन्। उनले आफू डिप्रेशनको बिरामी भए पनि पटक-पटकको आग्रहमा पत्नीले नमान्दा अन्त्यमा रिसले सहन गर्न नसकेर गोली हानेको बताएको प्रहरीले जनाएको छ। इसेन्ससहितको हतियार नियन्त्रणमा लिन छिमेकीले बारम्बार प्रहरीलाई अनुरोध गरेपनि सञ्जयले आफूलाई असुरक्षा भएको भन्दै बन्दुक प्रहरीलाई बुझाएका थिएनन्।