नेप्से १ हजार तल झर्ने संकेत, शेयर बजार निरन्तर घट्नुको भित्री रहस्य र यर्थाथता यस्तो छ
नेपाल स्टक एक्सचेन्चमा नेप्से परिसूचक गिरावटले हाफ सेञ्चुरी पूरा गर्दा नेप्से परिसूचक १ हजार १ सय ६८ अंकमा झरेको छ । करिब दुई महिनादेखि लगातार घटेको नेप्से परिसूचक सोमबार २६ महिनाकै न्यून बिन्दूमा पुगेको छ ।
बैंकिङ क्षेत्रमा देखिएको तरलता, शेयर बजारप्रति सरकारको बेवास्था तथा अर्थमन्त्री डा. युवराज खतिवडाको बजारप्रतिको अभिव्यक्तिले बजारमा नकारात्मक प्रभाव परेको बताइएको छ । यी सबै कुरा हुँदाहुँदै पनि बैंक तथा वित्तीय संस्थाको हकप्रद, बोनस तथा एफपीओ शेयर जारी गरेका कारणले पनि बिक्री चाप अत्याधिक भएकाले पनि बजार घट्न सहयोग पुगेको हो ।
त्यस्तै बैंक तथा वित्तीय क्षेत्रमा तरलता अभावको कारण ऋणबाट कारोबार गर्ने लगानीकर्ताको शेयर खरिद तथा बिक्री गर्ने क्षमता दिन प्रतिदिन घट्दै गएको छ । निरन्तरको गिरावटले कतिपय लगानीकर्ता शेयर बजारबाट पलायन भएको अवस्था छ ।
नेप्सेको इतिहास हेर्ने हो भने जब नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्ने अवस्थामा बजारले उचाई प्राप्त गरेको छ ।
अहिलेको अवस्थामा पुराना लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा छन् भने नयाँ लगानीकर्ता बजारमा नरहेकाले पनि भयावह अवस्थाको सिर्जना भएको छ ।
बहुमत प्राप्त सरकार गठन तथा आर्थिक क्षेत्रका बिज्ञ अर्थमन्त्री रूपमा नियुक्त भएको सन्दर्भमा मुलुकको आर्थिक विकास तथा नेपालीको पुँजी बजार दीर्घकालीन रुपमा नयाँ अध्यय शुरू हुने अपेक्षा थियो । शुरुका दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शेयर बजार अघिल्लो सरकारको कारण घटेको हो, वामपन्थीको सरकार आए, शेयर बजार घट्छ भनेर भ्रम फैलाइएको छ भन्ने अभिव्यक्तिको कारणले शेयर बजारका लगानीकर्ता उत्साहित भएको थियो।
अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति लगानीकर्ता विश्वस्त हुने सकेको देखिँदैन । कतिपय शेयर बजारप्रति भएका नकारात्मक टिप्पणीले अझ् आतिएको स्थिति छ । आइतबार उद्योग संगठन र मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको ‘आर्थिक विकास र समृद्धि, सरकार र निजी क्षेत्रको प्रतिबद्धता’ विषयक छलफल कार्यक्रममा अर्थमन्त्रीले शेयर बजारलाई आफ्नै बाटोमा हिँड्न दिएका छौं, हस्तक्षेप नगरेको बताए । साथै शेयर थपिने क्रमले बजार अझ् घट्न सक्ने तथा कुनै पनि कम्पनीको प्रोफाइल नहेरी लगानी नगर्न र लहडबाजी लगानी नगरी दीर्घकालीन रुपमा लगानी गर्नु अर्थशास्त्रको सामान्य सिद्धान्त हो, आपूर्ति बढ्दा बजार मूल्य घट्छ बताए।
गत वर्षको चैत महिनामा कुल बजार पुँजीकरण १९ खर्ब रहेकोमा करिब ३५ प्रतिशतले घटेर १४ खर्बको वरपर आएको छ । यसरी हेर्दा करिब एक वर्षको समय अवधिमा बजारले ५ खर्बभन्दा बढी गुमाएको स्थिति छ । त्यस्तै सर्वसाधारणलाई मात्र जारी शेयर गणना गर्ने फ्लोट इन्डेक्स बजार पुँंजीकरण गत वर्षको चैत महिनामका ६ खर्ब १२ अर्ब रुपियाँ रहेकोमा यस वर्ष चैत महिनाको पछिल्लो कारोबारमा ४ खर्ब ४० अर्ब मात्र रहेको थियो । यसरी हेर्दा फ्लोट इन्डेक्स कुल बजारीकरण करिब २७ प्रतिशतभन्दा बढीले घटेर १ खर्ब ३२ अर्ब रुपैयाँ लगानीकर्ताले गुमाएको अवस्था रहेको छ ।
एक वर्षको अवधिमा करिब १ अर्ब १२ करोड १७ लाख कित्ता शेयर हकप्रद, बोनस, साधारण शेयर तथा थप साधारण शेयर निष्कासन भएको देखिन्छ । यसले बजारको आकार ठूलो बनाए पनि कारोबार गर्ने लगानीकर्ताको संख्या उलेख्य मात्र बढ्न नसकेकाले अहिले सिर्जना भएको हो । नियमक निकायले वित्तीय साक्षरता, नेप्सेले समयमा नै अनलाइन ट्रेडिङ प्रणाली तथा राष्ट्र बैंकले वित्तीय क्षेत्रमा देखिएको तरलता समस्याको उपचार तथा सरकारले पुँजीगत खर्चको बारेमा तत्काल कुनै कदम नचाल्ने हो भने अहिलेको भन्दा अझ भयावह अवस्था सिर्जना हुन सक्छ ।