पत्रकार पुरुषोत्तम ढकालको जन्मदिन टुहुरा वालबालिकाको शिक्षाका लागि यसरी सामाजिक अभियान बन्यो
डाएसपोराको आवाजलाई समाचार बनाउदै एक दशक देखि अमेरिकामा संचारकर्म गरिरहेका पत्रकार पुरुषोत्तम ढकाललाई रुकुमेली चेली कुसुम थापाले लौन केहि गरौँ बिपन्न टुहुराको लागि भन्ने पटक पटकको अनुरोधले मन मस्तिष्क छोएको थियो । तर उनीहरुलाई सम्बोधन गर्ने कसरी? यो प्रश्नले सताइरहेको बेला पत्नी रन्जना ढकालले दिएको सल्लाह अनुसार जहाँ इच्छा त्यहाँ उपाय निस्कियो । अर्थात् एक बर्ष अघि पूर्वी रुकुममा आफनै पतिद्वारा हत्या गरिएकी बयानसरी विश्वकर्माकि दुई टुहुरा लाला बाला ६ वर्षीय छोरी सुष्मिता विश्वकर्मा र ४ बर्षीय छोरा कमल विश्वकर्माको शिक्षा र भरण पोषणको लागि पत्रकार पुरुषोत्तम ढकालले जन्मदिन समर्पण गरे र उनको यो अभियानमा गैर आवाशीय नेपाली संघ क्यालिफोर्निया च्याप्टर अध्यक्ष रामबाबु पाण्डे, पत्रकार पत्नी रन्जना ढकाल र अन्तराष्ट्रिय साहित्य समाज लसएन्जलस च्याप्टरले संयोजन गरेर जन्मदिनका अवसरमा आयोजित भोजमा सहभागीहरुले साथ् दिए जहाँ नेपाली रुपियाँ एक लाख संकलन भयो ।
भर्खरै निजि क्षेत्रको टेलिभिजन सुरु भएको समय ब्रोड्सिट र रेडियो पत्रकारितामा दुई दशक जमेका पत्रकार ढकाल ७० को दशकमा परिवार सहित अमेरिकामा पत्रकारिता गर्दै आएका ढकाल अमेरिकामा नेपाली समुदायको सामाजिकीकरणको मुद्धामा केन्द्रित रहँदै संचारकर्म मार्फत मातृभूमिको लोक कल्याणको क्षेत्रमा क्रियाशील रहँदै आएको पछिल्लो उदाहरण हो रुकुमका टुहुराहरुको भरण पोषण र शिक्षाको लागि समर्पित उनको यो बर्षको जन्मदिन ।
नुवाकोटको ढिकुरेबजारमा जन्मिएका पत्रकार ढकालले यस अघि विनासकारी भुकम्प पिडितहरुको लागि समेत सहयोग जुटाएका थिए । लसएन्जलसमा साहित्य समाज लसएन्जलस च्याप्टरले आयोजना गरेको माषिक काव्य गोष्ठी र पत्रकार ढकालको जन्मोत्सव समारोहमा ढकाल सम्पादक रहेको संचार माध्यम नेपाल ट्वान्टीफोर आवर्सको तर्फबाट भर्खरै गैर आवाशीय नेपाली संघ, (एनआरएनए) को उत्तर अमेरिका डेपुटी कॉर्डिनेटर निर्वाचित अभियन्ता संगीता सिवाकोटीलाई अमेरिकका लागि नेपाली वाणिज्यदुत ऋषि पुनाखर ढकालले एन ट्वान्टीफोर अनर प्रदान गरेका थिए । दर्जनौ कविहरुले कविता वाचन गरेको समारोहमा पत्रकार ढकालले संचारकर्म मार्फत मातृभूमिको हितमा आफ्नो जन्मदिन समर्पण गर्न पाउनु आफ्नो अहोभाग्य भएको बताउदै नेपाली अमेरिकनलाई अमेरिकी मुलधारमा समाजिकिरणको यात्रामा लाग्न आग्रह गर्नु भएको थियो ।
सम्मानित अभियन्ता संगीता सिवाकोटीले मातृभूमिको सेवामा आगामी दिनमा अझै बढी कल्याणकारी कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । समारोहमा सहयोगी हातहरुले उपलब्ध गराएको रकम अमेरिकी डलर ७४४ मा थपेर अमेरिकी डलर एक हजार पुर्याउने दानबिर रामबाबु पाण्डे मार्फत नेपालमा रहेकी टुहुराहरुको संरक्षक कुसुम थापालाई आगामी साता रकम हस्तान्तरण गरिने भएको छ ।अमेरिकका लागि नेपाली वाणिज्यदुत ऋषि पुनाखर ढकाल प्रमुख अतिथि रहेको समारोह अन्तराष्ट्रिय साहित्य समाज लसएन्जलस च्याप्टरका अध्यक्ष डन बहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।
समारोहमा गैर आवाशीय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद सदस्य बलराम थापा, अमेरिका सल्लाहकार कृष्ण कोइराला, समाजसेवी, अनिल केसी, अभियन्ता दिल श्रेष्ठ, टेक लामा वाइबा, स्थानिय आर्टेशियाका प्लानिङ्ग कमिसन सल्लाहकार भक्त थापा, साहित्यकार दुर्गा दाहाल लगायत स्थानिय नेपाली समुदायको उपस्थिति रहेको थियो ।