नागरिक पोष्ट News


अमृता गिरी गजुरेलको मर्मस्पशी तर प्रेरणादायी कथा, अपांगताभित्रको सामाजिक जलन र पीडा

5.3K

अमृता गिरी गजुरेल 

 ‘मिसेस नेपाल यूके २०१७’ मा सेकेन्ड रनर अप,  अब गृहिणीमात्र छैनन्  । बेलायतका विभिन्न स्टेजमा नाच देखाइरहेकी हुन्छिन् उनी । प्रेरणादायी मन्तव्य, नाटक अनि गायन पनि निरन्तर । 

अमृता अन्य आम महिला भन्दा कसरी फरक छिन् भने उनको एउटा हात छैन् । तर, उनी २०० माइलसम्म निरन्तर मोटर वेमा कार हाँक्छिन् । गृहिणी पनि भएकाले घरायसी सबै काम, दुई सन्तानको रेखदेख अनि परिवारिक दायित्व समेत निभाउँछिन् । सारी देखि अरु लुगा लगाउन उनलाई कसैको सहारा जरुरत छैन् । मेकअप आफैं गर्छिन् । कुकिङ गरेर साथी भाइ, पाहुना निम्त्याइरहने त उनको रुची । अचेल प्राय कार्यक्रममा उनको नाच डिमाण्ड हुन्छ । गीत गाउंछिन् उनी ।

अपांगता सुन्दरीको कारुणिक कथा

मामाघर गएर रमाइलो गर्ने त्यो उत्साह । उमेर केवल ९ वर्ष थियो । निजगढ नेर उनी चढेको बस दुर्घटना भयो र बसले च्यापिएर एउटा हात चुँडियो । बीरगन्ज हुँदै काठमाडौं बी एण्ड बी हस्पिटलमा चार महिना उपचारपछि उनी घर फर्किइन् । जिन्दगीभर अपांगता हुनुको पीडा आफूसँग त छँदै थियो, त्यसमाथि समाजले हेय दृष्टिकोणले हेर्न थाल्यो । उनकी आमा अम्बिका गिरीलाई समेत ‘डुंडी’ अमृताकी आमा भनेर खिसी गर्थे कोही । केही पारिवारिक सदस्यले नै उनलाई तिरस्कृत गरे । दुर्घटनापछि उनले आफ्नो कपाल केटाको जस्तै काटिन् ।

‘सुरुका दिनमा त आत्महत्या नै गरौं कि जस्तो हुन्थ्यो,' अमृता विगत सम्झिन्छिन्, ‘साथीहरुले जिस्क्याउलान भनेर दुई तीन महिना त स्कुल पनि गइन । म आफ्नो अनुहार ऐनामा कहिल्यै हेर्थिन ।’ तर, आफ्नो पारिवारिक साथले अमृताले हरेस खाइनन् । उनी घर सिन्धुपाल्चोकको सट्टा काठमाडौं होस्टेलमा पढ्न थालिन् । अल्बर्ट आइन्सटाइन स्कुल थियो ।

जेठी छोरीको एकाएक फेरिएको रुपले बाबु आमा चिन्तित नहुने कुरै भएन । आमाले छोरीलाई कहिल्यै कमजोर हुन दिइनन् । उनका बाबु सेतु गिरी पेशाले सेफ, उनी लन्डनमा थिए । बाबुकै कारण सन् २००६ मा अमृता लन्डन आइन् । लन्डन आएपछि नेपाली समाजको तिरस्कार त झेल्नु परेन तर आफ्नो लागि केही गर्ने दृढता उनले लिइरहिन् । आत्मबल पनि बढ्यो । लन्डनग्रीनफोर्ड हाइ स्कुलबाट जिसिएसइ पास गरिन् । स्कुलमा उनको विषय नाटक र गायन थियो । ए लेभलमा हेल्थ एण्ड सोसियल र ब्याचलर्समा मनोविज्ञान पढिन् । ब्याचलर्स पढ्दा पढ्दै सन् २०१० मा प्रेम बिवाह भयो शंकर गजुरेलसँग । श्रीमान र परिवारको साथले उनलाई अगाडि बढ्न हौसला मिलिरहेको छ । अमृतालाई मिसेस नेपालकै विजेताहरु गिता बस्नेत पाण्डे र प्रिमा भट्टराईले हरेक पाइलामा साथ दिएका छन् ।

लन्डनमा शारिरीक रुपमा फरक क्षमता भएका (डिसेबल) लाई खुब सम्मान हुने अमृता बताउंछिन् । अलाउन्स, बेनिफिट, केयर टेकर आदि उपलव्ध हुन्छ सरकारबाट । ब्लु ब्याजले पार्किङ जहां पनि निशुल्क । तर, उनले सरकारबाट बेनिफिट नलिएको बताइन् । 

अमृता भविष्यमा आफू जस्ता अपांगहरुको हितका लागि केही गर्ने सोचमा छिन् । छिट्टै गीत रेकर्ड गर्ने योजनामा छिन् अमृता । समयले साथ दिए स्काई डाइभिङ गर्ने उनको सपना छ ।

- साभार : Kantipurdaily.com

Must View