हेर्नुहोस् एमालेबाट मन्त्री बन्नेहरुको नामावलीसहित
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तारको तयारी गरेका छन्। संघीय समाजवादी फोरम नेपालले सरकारमा आउने निर्णय गरेसँगै ओलीले सरकार विस्तारको तयारी थालेका हुन्।
प्रधानमन्त्री ओलीले सुरुमा मन्त्रिमण्डल बनाउँदा 'सरप्राइज' दिँदै लालबाबु पण्डित र थममाया थापालाई रोजेका थिए। त्यसपछि दोस्रो चरणमा डा. युवराज खतिवडा र ईश्वर पोख्रेल मन्त्री बने। उनीहरुसँगै माओवादी केन्द्रबाट रामबहादुर थापा र मातृका यादवले मन्त्री बन्ने अवसर पाए।
एमालेबाट को को ?
प्रधानमन्त्री ओलीले सातै प्रदेश समेट्ने गरी एक/एकजनालाई एमालेबाट मन्त्री बनाउने तयारी थालेका छन्। उनी निकटस्थहरूका अनुसार प्रम ओली सकेसम्म विवादस्पद व्यक्तिलाई मन्त्री बनाउने पक्षमा छैनन्।
प्रदेश १ बाट
ओली मन्त्रिमण्लमा पर्नका लागि प्रदेश १ बाट एमालेका सांसदहरुले तीब्र लबिङ गरिरहेका छन्। यो प्रदेशबाट ओली मन्त्रिपरिषद्का लागि एमाले सचिव तथा ताप्लेजुङबाट निर्वाचित योगेश भट्टराई, पाँचथरका सांसद वसन्त नेम्बाङ र त्यसैगरी मोरङ ३ का सांसद तथा पार्टी पोलिटब्युरो सदस्य भानुभक्त ढकालको नाम चर्चामा छ।
निर्वाचनअघि प्रचारका क्रममा ताप्लेजुङ पुगेका ओलीले ‘योगेशलाई जिताएर पठाउनू मन्त्री बनाउने काम मेरो’ भन्दै भाषण गरेका थिए। तर, एमालेभित्रको चर्को गुटगत राजनीतिले अहिले योगेशको मन्त्री बन्ने सम्भावना कम्जोर भएको छ।
शीर्ष नेताहरूले अब विश्राम लिनुपर्ने भन्दै दिएको अभिव्यक्तिका कारण योगेश र ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबीच सामाजिक सञ्जालमा चलेको जुहारीले पनि एमालेभित्रको गुटगत चलखेल छरपष्ट पारेको थियो।
पाँचथरबाट विजयी वसन्त नेम्बाङलाई मन्त्री बनाउन एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्बाङलले लबिङ गरिरहेका छन्। ओली एक सहयोगी सुवास नेम्बाङलले वसन्तलाई मन्त्री बनाउनैपर्ने दबाब दिइरहेका छन्। तर, योगेश र भानुभक्तको तुलनामा बसन्तको प्रोफाइल सानो भएको तर्क पनि एमालेवृत्तमा छ।
प्रदेश २ बाट
यो प्रदेशबाट एमाले उपाध्यक्ष वामदेव गौतमका प्रियमध्ये एक रघुवीर महासेठ मन्त्री बन्ने सम्भावना छ। वामदेवले रघुवीर र चार नम्बर प्रदेशबाट रवीन्द्र अधिकारीलाई मन्त्री बनाउनुपर्ने लबिङ गरिरहेका छन्।
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महातेका जुवाइँसमेत रहेका रघुवीरलाई मन्त्री बनाउन अहिले चर्को लबिङ भइरहेको छ।
प्रदेश ३ बाट
प्रदेश ३ बाट मन्त्री बन्नेहरुको सूचि लामै थियो। तर पछिल्लो चरणमा सूचि घटेर दुईजनामा सीमित भइसकेको छ। मन्त्रीका लागि लबिङमा रहेका दोलखाका पार्वत गुरुङ र सिन्धुपाल्चोकका शेरबहादुर तामाङ रेसबाट बाहिरिसकेका छन्।
ओली मन्त्रिपरिषद्मा पर्नका लागि अहिले काठमाडौँका कृष्णगोपाल श्रेष्ठ र काभ्रेका गोकुल बास्कोटाले चर्को लबिङ गरिरहेका छन्। कृष्णगोपाललाई ओलीले पार्टी कार्यालय सचिवको पनि जिम्मेवारी दिएका छन् भने बास्कोटा पनि ओलीका निकट नेतामा पर्छन्।
प्रदेश ३ बाटै काठमाडौँका रामवीर मानन्धरले पनि मन्त्रीका लागि पहल गरिरहेका छन्। तर, उनलाई कम्तिमा पनि राज्यमन्त्रीमा व्यवस्थापन गर्ने प्रयास थालिएको छ।
प्रदेश ४ बाट
यो प्रदेशबाट यसअघि संविधानसभाबाट रुपान्तरित संसदमा विकास समितिका सभापति भइसकेका कास्कीका रवीन्द्र अधिकारी ओली मन्त्रिमण्डलमा पर्ने सम्भावना बलियो छ।
उनलाई र प्रदेश २ का रघुवीरलाई मन्त्री बनाउन एमाले उपाध्यक्ष गौतमले नै लबिङ गरिरहेका छन्। तर, ओलीले दुवैलाई बनाउन नसकिने बताएको अवस्थामा वामदेवले रवीन्द्र र रघुवीरमध्ये एकलाई रोज्नुपर्ने अवस्था छ।
यहाँबाट स्याङ्जाकी पद्मा अर्याल पनि मन्त्री बन्ने दौडमा छन्। गत निर्वाचनमा बहालवाला उपप्रधामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेकी अर्याललाई पनि सके मन्त्री नसकेमा कम्तिमा राज्यमन्त्रीसम्म बनाउने तयारी गरिएको छ।
प्रदेश ५ बाट
प्रदेश नम्बर ५ बाट यो पटक गुल्मीका गोकर्ण विष्टको मन्त्री बन्ने सम्भावना कम छ। यस्तो अवस्थामा यो प्रदेशबाट गुल्मीकै प्रदीप ज्ञवाली र रुपन्देहीका छबिलाल विश्वकर्मा मन्त्रीको दौडमा अग्रपंक्तिमा छन्।
यस्तो अवस्थामा ज्ञवालीले यो दौडमा पहिले हुने अवस्था छ। प्रधानमन्त्री कार्यालय मातहत बनाउने भनिएको एउटा शक्तिशाली मन्त्रालयको जिम्मेवारी ओलीले ज्ञवालीलाई दिने सम्भावना छ। एमालेमा बौद्धिक नेताका रुपमा परिचित ज्ञवाली एमालेका दस्तावेज लेखनका काममा ओलीका विश्वासपात्र पनि हुन्।
तर, विश्वकर्माले पनि आफूलाई मन्त्री बनाइनुपर्ने विभिन्न आधारसहित पार्टी नेतृत्वसँग तीब्र लबिङ गरिरहेका छन्।
कर्णाली प्रदेशबाट
कर्णाली प्रदेशबाट ओली मन्त्रिपरिषद्का लागि कुनै नेताको ठूलो चर्चा छैन। यहाँबाट विजयी एकजनालाई राज्यमन्त्रीसम्मको जिम्मेवारी दिने चर्चा छ। यो प्रदेशमा दैलेख १ र २ बाट एमालेका रवीन्द्रराज शर्मा र राजबहादुर बुढाक्षेत्री विजयी भएका थिए।
त्यसैगरी डोल्पबाट धनबहादुर बुढा र मुगुबाट गोपालबहादुर बम प्रतिनिधि सभामा विजयी भएका थिए ।
प्रदेश ७ बाट
यो प्रदेशबाट तीन नेतको नाम चर्चामा छ। डोटीका प्रेम आले, कैलालीका नारदमुनि राना र अछामका भीम रावलको नाम चर्चामा छ। तर, यो पटक भीम रावल मन्त्री बन्ने सम्भावना कम छ।
यस्तोमा डोटीमा बहालवाला मन्त्री वीरबहादुर बलायरलाई हराएका आले र कैलाली ५ मा तत्काली प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवालाई पराजित गरेका रानाको नाम चर्चामा छ।
डोटीमा बहालवाला मन्त्रीलाई हराएका आले जिल्लामा विकासप्रेमी नेताका रुपमा स्थापित छन्। उनलाई मन्त्री बनाउनका लागि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि लबिङ गरेका छन्।
वरिष्ठ नेता नेपालसँगै आले प्रधानमन्त्री ओलीका पनि विश्वासपात्र मानिन्छन्। उनी दोस्रो संविधान निर्वाचन पछि पनि मन्त्री बन्ने चर्चामा थिए। तर यो पटक भने प्रदेश ७ बाट एमालेले उनलाई मन्त्री बनाउने चर्चा छ।
त्यसैगरी कैलाली ५ का सांसद रानाले आफूले प्रधानमन्त्री पत्नीलाई हराएको भन्दै मन्त्रीका लागि लबिङ गरिरहेका छन् । उनले राज्यको सारा शक्ति लगाउँदा पनि आफूले प्रधानमन्त्री पत्नीलाई हराएको जिकिर गरिरहेका छन्।