नारी दिवसको उपहास : निर्दोष राधामाथि ६ घण्टा मुड्की र लात बर्सियो सबै रमिते किन ?
2074 फाल्गुन २४ गते बिहीबारदेशभर धुमधामसँग अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थिए । पुरुषहरुले पनि महिलालाई समान व्यवहार गर्ने मात्र होइन, महिला हिंसाविरुद्ध हातमा हात मिलाएर लड्ने प्रतिवद्धता जनाए ।
तर, कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा भने २० वर्षीया एक युवती भने लगातार ६ घन्टासम्म कुटपिटमा परिन् । आफूलाई भोले बाबा बताउनले ताण्डव नृत्य देखाइरहँदा सिंगो वस्तीका मानिस घेरा हालेर रमिता हेरिरहे ।
पीडित राधा चौधरी सेती अञ्चल अस्पताल धनगढीमा जीवनमरणको दोषाधमा छिन् । चिकित्सकका अनुसार उनको पेट, छाती, टाउको, खुट्टा, घाटी, नाक, कान लगायत शरीरका धेरैजसो भागमा चोट लागेको छ । तर, कुटपिटमा संलग्नहरुलाई स्थानीय जनप्रतिनिधिले नै रातारात छुटाएर लगेका छन् ।
यसरी कुटिइन् राधा
बिहीबार विहान राधा आफ्नो घरको आगन सफा गर्दै थिइन् । ५/७ जनाको समूह आयो र जबरजस्ती भोले बाबा (रामबहादुर चौधरी) भएको ठाउँमा पुर्याए ।
रामबहादुरले ‘तँ बोक्सी भन्दै राधामाथि जाइलागे । त्यसपछि उनी लगातार कुटिइन् । अस्पतालको शैयामा छपटाइरहेकी उनले भनिन्, बोक्सी झार्छु भन्दै बाबाले कुट्न थाले ।’
उनले आफू बोक्सी नभएको भन्दै रोइकराई गरिन् । तर, न त बाबाले सुने न गाउँलेले रोके । विरामी भनिएकी पार्वती चौधरी पनि बाबासँगै राधामाथि जाइलागिन् ।
पार्वती कहिले राधाको कपाल लुच्छिन् त कहिले उनीमाथि मुड्की र लात्ति बर्साउँछिन् ।