नागरिक पोष्ट News


कृष्णबहादुर महरा सभामुखमा निर्विरोध, पावरमा महराको राजनीति यात्रा यसरी

2.9K

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा, प्रतिनिधिसभा सभामुखमा निर्विरोध भएका चयन छन् । १० वर्षको छोटो अवधिमा तीन पटक उपप्रधानमन्त्री, पाँच पटक मन्त्री भएका महरा ५ पटक सांसद भइसकेका छन् । अब ५ वर्षका लागि उनको सभामुख पद सुरक्षित भएको छ । 

माओवादीमा महरा पार्टी अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र रामवहादुर थापापछि चौथो बरियताका नेता हुन् । उनी सभामुख भएसँगै उनीपछिका एक नेताले पार्टीमा उनको स्थान लिनेछन् । अर्थ, गृह, परराष्ट्र र सूचना तथा सञ्चार जस्ता प्रभावशाली मन्त्रालय चलाइसकेका महरा सभामुखमा गएसँगै उनको सक्रिय राजनीति स्थगन भएको छ ।

को हुन् महरा ?

२०१५ असार १५ गते रोल्पाको लिवाङ-७ धारापानीमा जन्मिएका महराले स्नातक तह उत्तीर्ण गरेका छन् । उनले २०३६ देखि २०४८ सम्म विज्ञान र गणित पढाए । २०४८ को आमनिर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाबाट रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वचित भएका उनी माओवादी जनयुद्धमा सुरुदेखि सक्रिय रहे ।

२०५८ सालमा माओवादी र तत्कालीन सरकारसँग भएको पहिलो वार्तामाउनी संयोजक थिए । त्यसपछि सरकारसँगभएको वार्ताहरुमा लगातार संलग्न रहेका महरा २०६३ पुसमा अन्तरिम व्यवस्थापिका-संसदको सदस्यसँगै संसदीय दलको नेता बने ।

२०६३ चैतमा अन्तरिम सरकारको सञ्चारमन्त्री बनेका उनी यो बीचमा पाँच पटक मन्त्री बनेका छन् । यो अवधिमा माओवादी सहभागी दुई सरकारमा मात्र उनी अटाएनन् ।

तत्कालीन प्रधानमन्त्रीहरु झलनाथ खनाल, प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री समेत बनेका महराले सञ्चार तथा सञ्चार, गृह, अर्थ र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

तीन पटक उपप्रधानमन्त्री, पाँच पटक मन्त्री भएका महरा ५ पटक सांसद भइसकेका छन् । अब ५ वर्षका लागि उनको सभामुख पद सुरक्षित भएको छ । माओवादीमा यति भाग्यमानी नेता सायदै कोही होलान् ।

माओवादीमा उनलाई गणतन्त्रका विजयकुमार गच्छदार पनि भन्ने गर्छन् । पद र पावरभन्दा बाहिर बस्नै नसक्ने प्रवृतिलाई बिजय गच्छदार प्रवृति भनेर व्यंग्य गरिन्छ । 

राजनीतिमा लागेपछि महराले पार्टीसत्ता र राज्यसत्ताको उकालो यात्राबाट कहिल्यै ओह्रालो लाग्नुपरेको छैन । यसपटक महरा सभामुख हुनुलाई भने उनका निकटस्थहरुले रहर भन्दा पनि बाध्यता हो भनेर बुझिदिन आग्रह गरेका छन् । 

पाँच वर्षका लागि सभामुख भएपछि महराको पार्टी सत्ताको उकालो यात्रामा भने ब्रेक लागेको छ । सभामुख भएसँगै उनले पार्टीको जिम्मेवारीबाट राजस्नामा दिनुपर्नेछ ।

- Source : अनलाइनखबर

Must View