आईजीपी र सबै एआईजीले अवकाश पाउँदै, खरेल, खनाल र कार्की मध्ये को आइजीपी ?
2074 चैत २९ पछि आईजीपी प्रकाश अर्यालसँगै १५ जना एआईजीले ३० वर्षे अवधिका कारण अवकाश पाउँदैछन् । त्यसो त आईजीपी र एआईजीहरु १ महिनाअघि नै बिदा पनि बस्न सक्छन् ।
फागुन २९ गते आईजीपी र एआईजीहरु विदामा बसे भने डीआईजीको संख्या बढ्ने देखिन्छ । पछिल्लो ब्याचलाई हेर्ने हो भने नेपाल प्रहरीमा डीआईजीबाट सिधै आईजीपी बनेको अवस्था छ । यसअघि उपेन्द्रकान्त अर्याल झण्डै ४ दिन एआईजी बनेर आईजीपी भएका थिए । हालका आईजीपी प्रकाश अर्याल पनि डीआईजीबाटै आईजीपी भएका हुन् ।
यस्तो अवस्थामा अब प्रहरीको नेतृत्व डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीको ब्याचबाट हुने निश्चित छ । उनीहरुमध्ये एकजना आईजीपी र अरु एआईजी बन्नेछन् ।
यसपछि उत्तम कार्की, धिरु बस्नेतलगायतको समूह एआईजीमा बढुवा हुनेछ । अहिले डीआईजीबाट १६ जना एआईजी हुँदा डीआईजीको पद संख्या हाल रिक्त रहेको १२ बाट बढेर २७ सम्म पुग्ने अवस्था देखिन्छ । यसबाट एसएसपी केदार रिजालको समूह र एसएसपीहरु विश्वराज पोखरेल, धिरजप्रताप सिंह, उत्तम सुवेदीहरु एकैपटक डीआईजीमा बढुवा हुने अवस्था देखिन्छ । नियमअनुसार नेपाल प्रहरीमा एसएसपीमा ६ वर्ष, डिआईजी र एआईजीमा ५ वर्ष सेवा गरेको हुनुपर्छ ।
आईजीपीको कार्यकाल ३ वर्षको हुन्छ । तर, ३० वर्षे सेवा अवधिले यो समस्या विकराल बन्दै गएको बहालबाला एक एआईजीको भनाइ छ । प्रहरी नेतृत्वको दौडमा रहेका सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की डीआईजी भएको ६ महिनामै एकजना आईजीपी र अरु एआईजी हुनेछन् । प्रहरीमा हाल १२ डीआईजी, १७ एसएसपी, २३ एसपी, ४७ डिएसपी र झण्डै एक सय इन्सपेक्टरको पद रिक्त छ । वर्षौंदेखि रोकिएको सईहरुको बढुवा हुन सकेको छैन ।