नागरिक पोष्ट News


डीआईजी सर्वेन्द्र खनाल भावी प्रहरी महानिरीक्षक ! यस्ता छन् खनालका लोकप्रिय कामहरू

7.1K

 काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी सर्वेन्द्र खनालाई भावी प्रहरी महानिरीक्षक (आईजी) को रूपमा हेरिन थालिएको छ । उनी प्रहरी अपराध महाशाखाबाट ट्राफिकमा आएका हुन् । व्यावसायिक मूल्य मान्यतामा कहिल्यै सम्झौता नगर्ने, जिम्मेवार भूमिका निर्वाह गर्ने तथा दृढ आत्मविश्वासी खनाल एसएसपी पदमा रहँदा नै ट्राफिक महाशाखाको जिम्मेवारी पाएका हुन् ।

अस्तव्यस्त काठमाडौंको ट्राफिक व्यवस्थापनमा उनले खेलेको भूमिका पछिल्ला उदाहरणीय कार्यको रूपमा लिएको छ । कुनै ट्राफिक प्रहरीले घुस खाएको थाहा पाए कारबाही गर्ने गरेका उनले यातायात व्यवसायी, चालक र सहचालकसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन लागिपरेका छन् । ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच प्रायः सम्बन्ध राम्रो हुने गरेको थिएन । तर, डीआईजी खनालले ट्राफिक महाशाखाको जिम्मेवारी सम्हालेलगत्तै सबै पक्षसँग छलफल गरेर ट्राफिक प्रहरी र यातायात व्यवसायी आफैं सडकमा ट्राफिक व्यवस्थापनमा खटिने वातावरण बनाए ।

व्यवसायी, स्थानीय, व्यापारीसँगको कुशल समन्वयले गर्दा डीआईजी खनालले काठमाडौंको असन, ठमेल र पशुपतिनाथ मन्दिर परिसरमा सवारीसाधन निषेध गर्न सफल भएका छन् । सडक बत्ती र निर्माणाधीन सडक तथा मलेम्ची खानेपानीको पाइप बिछ्याउँदा खनेका सडकमा तत्कालका लागि भएपनि अस्थायी कालोपत्र गराउन सफल भएका उनले ट्राफिक लाइट जडानका लागि विभिन्न पक्षसँग छलफल गरी कार्य अगाडि बढाएका छन् ।

ट्राफिकको मात्रै होइन, २८ वर्ष लामो व्यावसायिक यात्रामा खनालले थुप्रै महत्वपूर्ण मोर्चाको कुशलतापूर्वक कमान्ड सम्हालेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूलाई सुक्ष्म रूपमा अध्ययन गरेर आफूलाई सधैँ अपडेट राख्ने उनी मातहतका प्रहरीलाई हौसला र भरोसा प्रदान गर्ने गर्छन् । उनका पछिल्ला केही उदहारणीय कार्यकाे स‌ंक्षिप्त चर्चा गर्ने हाे भने पनि खनाल नागरिककाे भराेसा याेग्य व्यक्ति देखिन्छन् ।

गुण्डागर्दी नियन्त्रण

बेथिति, अपराध र गुन्डागर्दीप्रति शून्य सहनशीलता अपनाउने गरेका डीआईजी खनालले गुन्डा, डाँका, अपराधीहरूलाई तह लगाएका छन् । प्रहरी अपराध महाशाखा प्रमुख हुँदा खनालले काठमाडौं उपत्यकाको हप्ता असुली, अपहरण, बन्धक बनाएर वा धम्काएर चन्दा असुली कार्यलाई नियन्त्रणमा लिए ।

नाकाबन्दीका बेला नागरिकका सहयोगी

२०७२ वैशाखमा गएको भूकम्पका कारण आहत बनेका नागरिकलाई भारतीय नाकाबन्दीले अर्काे पीडा थपिदियो । अभावको गलत फाइदा लिन खोजेका कालाबजारीहरूलाई तत्कालीन प्रहरी अरापध महाशाखा प्रमुख सर्वेन्द्रले पक्राउ गरे । त्यतिखेर कालोबजारी नियन्त्रणमा गरेको कार्यबाट उनले नागरिकस्तरबाट स्याबासी पाए । विद्युत चुहावटविरुद्ध उनले चालेको कडा अप्रेशनले कुलमान घिसिङको लोडसेडिङ अन्त्यको योजनालाई सहयोगी बन्न पुग्यो ।

म्याच फिक्सिङ गर्ने खेलाडी कारबाही दायरामा

गुण्डागर्दी, अपराधी, कालाबजारीलाई मात्रै होइन आमनागरिकले नसोचेको म्याच फिक्सिङ गर्ने खेलाडीलाईसमेत कारबाहीमा ल्याएर खनालले आफूलाई कुशल प्रहरी अधिकृतको रूपमा प्रमाणित गरे । नेपालको फुटबल क्षेत्रमा गरेको लगानी बालुवाको पानी जस्तै बनेको थियो । त्यही बेला खनालले म्याच फिक्सिङ गरेका राष्ट्रिय टिम खेलाडी कारबाहीको दायरामा ल्याउन सफल भए । जसले गर्दा फुटबल प्रेमीबाट मात्रै होइन आमनागरिकबाटै खनालले स्याबासी पाए ।

म्यानपावर र कन्सल्टेन्सी बेथिति नियन्त्रण

वैदेशिक रोजगारको नाम र विद्यार्थीलाई अध्ययन गर्न विदेश पठाउने बहानामा ठगी गर्ने म्यानपावर व्यवसायी र एजुकेसन कन्सल्टेन्सी पनि तत्कालीन एसएसपी सर्वेन्द्र खनालको तारो बने । ठगी गर्ने म्यानपावर र कन्सल्टेन्सीमा छापा मारेर कारबाही चलाए । उनको सक्रियता वैदेशिक रोजगारमा र विद्यार्थीलाई विदेश पठाउने भन्दै हुने ठगीमा उल्लेख्य कमी आएको छ ।

जहाँ गए त्यहीँ पाए स्याबासी

डीआईजी सर्वेन्द्र खनाल जुनजुन ठाउँमा नेतृत्व लिएर बसे, त्यहाँ ठगी र गुन्डागर्दीविरुद्ध विशेष अप्रेशन चलाए । बारा र पर्सामा सीमावर्ती अपराध र ठगीमा संलग्न धेरै डाकाहरूलाई कारबाही गर्न सफल भए । उनको सक्रियताले सीमावर्ती क्षेत्र शान्त भएको थियो । वीरगञ्जमा अञ्चल प्रमुख भएर बस्दा उनले तस्करी नियन्त्रणमा निकै उदाहरणीय कार्य गरे । चन्दा असुली, चोरी निकासीलाई नियन्त्रण गर्न सफल भएका खनाल सरुवा हुँदा वीरगञ्जका व्यापारी र नागरिक निराश भएका थिए । उनले जनकपुर, पोखरालगायतका स्थानमा पनि उत्तिकै उत्कृष्ट कार्य गरेका थिए ।

श्रोत – मिडिया एन पी

Must View