प्रजातन्त्र सेनानी स्व. बद्रिराम भण्डारी आज म कहाँ पाउँ - दीपक घिमिरे
प्रत्येक वर्ष मनाइने फागुन ७ गतेको दिन आउनै लाग्दा अथक योगदान दिने प्रजातन्त्र सेनानीका विषयमा केही लेख्न मन लाग्यो। प्रजातन्त्र प्राप्तिका लागि लडेका धेरै योद्धाहरुमध्येको एक महान योद्धा हुनुहुन्थ्यो स्व. बद्रीराम भण्डारी । स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरु प्रजातान्त्रिक अभ्यासहरु भित्र कोरिदै आएको छ, तत्कालिन जहानिँया राणा शाषनका विरुद्धमा उत्रेको जनलहरका अगाडि राणा शाषकहरुको केही जोर चलेन्, जनताको बोलीका अगाडि बन्दुकका गोली टिकन सकेन् अनिआजभन्दा ६६ वर्ष अघि नयाँ नेपालको प्रथम खाकाको प्रथम कदम उचालिएको थियो । बद्रीराम भण्डारी पनि यो आन्दोलनमा योगदान दिनेमा हुनुहुन्थ्यो ।
नेपाली जनआन्दोलनका एक सक्रिय योद्धा प्रजातन्त्र सेनानी स्व. बद्रीराम भण्डारी जहानियाँ राणा शासन बिरुद्ध मात्रै हैन पञ्चायती निरङ्कुशता बिरुद्ध समेत जाइलाग्नु भएको एक अथक योद्धा हुनुहुन्थ्यो । बिक्रम सम्बत् १९८० मा काठमाडौं कमलादीमा जन्मनुभएका भण्डारीले आफ्नो प्राथमिक शिक्षा दरबार हाईस्कुल तथा उच्च शिक्षा त्रिचन्द्र कलेजबाट हासिल गर्नुभएको थियो ।
सानैदेखि निडर र अडिग स्वभाबका बद्रीराम भण्डारी २००२ सालमा गोपालप्रसाद रिमालको नेतृत्वमा निरंकुश राणा शासन बिरुद्ध भएको आन्दोलनमा सक्रिय भूमिका खेल्नु भएको थियो । खेलकुद र साहित्यमा पनि रुची भएका भण्डारीले नरशमशेरको टिम नरेश ११ बाट फूटबल खेल्ने अवसर पनि पाउनु भएको थियो । पछि अन्नपूर्ण क्लबबाट खेल्दा पनि टिमबाटै उहाँ राणा शासनको बिरुद्ध लाग्न पछि पर्नुभएन । उहाँ त्यसबेला प्रकाशित हुने सत्याग्रह नामक पत्रिकाको सम्पादक पनि हुनुहुन्थ्यो ।
प्रजातन्त्र सेनानी स्व. बद्रिराम भण्डारी जन्म- वि.सं. १९८० मृत्यु-२०६७ आषाढ २०
२००२ सालदेखिकै आन्दोलन चर्कदै जाँदा २००३ उहाँ प्रथम पटक गिरफ्तार पर्नुभएको जानकारी छ । तर उहाँलाई सोही दिन आन्दोलन नगर्न चेतावनी दिदैँ रिहाइ दिइएको थियो । उच्च शिक्षा सकिएपछि उहाँ एमबिबिएस अध्ययनकालागि भारतको बनारस हिन्दु विश्वबिद्यालय प्रस्थान गर्नुभयो । भण्डारी बनारसमा रहँदा बिपी कोइराला, सुबर्ण सम्शेर राणा, गणेशमान सिहका संगतले राजनीतिमा लाग्नु भएको थियो । २००७ सालमा कांग्रेसले सशस्त्र क्रान्तिको घोषणा गर्दा भण्डारी एमबिबिएसको पढाई छाडेर क्रान्तिमा होमिनु भएको थियो । राणा शासनअन्त्य भइ प्रजातन्त्रको स्थापना पछि २०१५ सालको आमचुनावमा उहाँ निर्वाचन क्षेत्र नम्बर १०८ नुवाकोटबाट नेपाली कांग्रेसको उम्मेद्वार हुनु भएको थियो । २०१४ सालमा भएको सत्याग्रहमा उहाँ संगठन मन्त्री समेत हुनुभएको थियो । २०१७ साल पौष १ गते राजाले ‘कु’ गर्दै पञ्चायती ब्यबस्था लादिएपछि उहाँ फेरिपनि बिद्रोहमा सरिक हुनुभयो । उक्त घोषणा हुनासाथ वहाँ भूमिगत हुनु भएको थियो । त्यसको केही महिनापछि बेलायतका महारानी एलिजाबेथ द्वितियाको नेपाल सबारी हुने कार्यक्रम थियो । त्यस सबारी बिथोलेमा केही परिवर्तन होला कि भन्ने सोचेर उहाँको नेतृत्वमा सवारीमा बम हान्ने योजना बनेको थियो ।
योजना अनुसार नै काठमाडौं तथा भक्तपुर को केही ठाउँंमा बम पड्काइयो पनि । त्यही कारणले राजधानीमा उहाँको ब्यापक खोजी भयो । उहाँ भागेर नुवाकोट पुग्नु भएको थियो । सुराकीको आधारमा फागुन २३ गते उहाँलाई अहिले रसुवामा पर्ने तत्कालीन नुवाकोटको चिती भन्ने ठाउँंबाट समातियो । उहाँलाई त्यसपछि हनुमान ढोका लगिएको थियो । उक्त घटनामा संलग्न अन्यको नाम खुलाउन लगाइयो तर उहाँले कसैको नाम खुलाउनु भएको थिएन । ३ महिनासम्म कहिले रानीपोखरी त कहिले चारखाल खोर गर्दै यता उति घुमाइयो त्यसपछि उहाँलाई दमन गर्ने, सर्बश्वहरण गर्ने र आजन्म कैद गर्ने फैसला गरेर सेन्ट्रल जेल चलान गरियो । त्यतिबेलाको जेल अहिलेको भन्दापनि धेरै दयनीय अवस्थामा थियो ।
उदुस , उपियाको गोलभित्र राखियो । आदिकवि भानुभक्त आचार्यले आफ्नो कवितामा लेखे जस्तै खानेपानी पनि प्रसस्त नपाईने त्यहाँभित्र पनि उहाँले आन्दोलन सुरु गरेका थिए र अनसनै पनि बसेका थिए । त्यस पश्चात तत्कालीन अञ्चलाधीश बिष्णुमणिले जेलकालागि ५०,००० निकासा गरिदिएका थिए त्यही पैसाले डिडिसी छरेर उडुस, उपिया मारियो, जेलका भित्ता माटोले बनेका थिए त्यसमा प्लास्टर गराएका थिए । खानेपानीकालागि इनार खनाए । पढ्न लेख्न पनि नपाइने थियो त्यसबेला । त्यसकालागि पनि आन्दोलन गर्नुभयो उहाँले । पछिगएर बत्ती लगेर विद्यालय पनि खोल्नु भएको थियो उहाँले। उहाँनै उक्त विद्यालयको गुरु हुनुभयो र कैदीहरुलाई पढाउन थालनुभयो । मनमोहन अधिकारी, शेर बहादुर देउवा र ॐ प्रकाश श्रेष्ठ लगायतका नेताहरु सबै त्यही पढे । उहाँहरुलाई भण्डारीले नै पढाएका थिए ।
जेलबाट छुटेपछि पनि आन्दोलनमा सक्रिय रहँदै आउनु भएका भण्डारी २०४६ साल्को जनाअन्दोलन पश्चात गठित अन्तरिम सरकारको पालामा जेल सुधार आयोगको अध्यक्ष हुनुभयो । आयोगपछि समितिमा पारिणत भयो त्यसपछि पनि उहाँ दुई पटक त्यो समितिको अध्यक्ष हुनुभयो । प्रजातन्त्र सेनानी भण्डारीको वि।सं। २०६७ साल आषाढ २० गते निधन भएको थियो । उहाँको श्रद्धाञ्जलीमा सबै पार्टीको प्रायः नेताहरुको उपस्थिति थियो र उहाँहरु भाबुक हुनुहुन्थ्यो । सादा जीवन उच्च बिचार, लोकतान्त्रिक आन्दोलनका निष्ठावान, संघर्षशील ब्यक्तित्व नै उहाँको परिचय रहेको श्रद्धाञ्जलीमा उपस्थित नेताहरूले वताउनुभएको थियो । सेनानी भण्डारीका श्रीमती, एक छोरा र दुई छोरीहरु छन। उहाँको छोरा बिबेकराम भण्डारी हाल भारतमा चार्टड एकाउन्टेन्सी कोर्सको फाइनलमा अध्ययन गर्दै हुनुहुन्छ। सिए नेबिसंघ (भारत) को संस्थापक सदस्य भै २०७० सालबाट राजनीतिमा आफ्नो उपस्थिति जनाएका भण्डारी आफ्नो पिताको योगदानलाइ अझै उचाइमा पुर्याउने लक्ष्यका साथ लाग्नु भएको छ ।
यस्ता महान योद्धालाई आज नुवाकोट कांग्रेसले बिर्सिएको महसुस भएको छ । प्रजातन्त्र सेनानी स्व. बद्रिराम भण्डारीले दिएको योगदानलाई अहिले नेपाली काँग्रेसका नेताहरुले सम्झन सकेको अनुभुत हुन सकेको छैन । त्यागी, लोकतान्त्रिक समाज निर्माणका स्वप्नद्रस्टा प्रजातन्त्र सेनानी स्व. बद्रिराम भण्डारी आज हामी सामू हुनुहुन्न । उहाँले पुर्याएको योगदान अजरअमर बनेर हामी सामू रहेको छ ।
हिजो योगदान दिनेहरु थिए, आज योगदानको फल लिनेहरु हावी भएका छन् । स्व. बद्रीराम भण्डारी जस्ता योगदान दिने अथक योद्धाहरु पाउन गाह्रो छ । गुटउपगुटमा रमाउँदै चोचोमोचो मिलाउन तल्लीन काँग्रेसका नेता तथा कार्यकर्ताहरुले स्व। बद्रीराम भण्डारीलाई भुलेको भाग भैरहेको छ । नुवाकोट कांग्रेसले बिर्सिएको प्रजातन्त्र सेनानी स्व. बद्रिराम भण्डारी आज म कहाँ पाउँ ।