नागरिक पोष्ट News


इतिहास मष्टोदेवको : कर्णालीदेखि मंगोलियासम्म

4.4K
-प्रेम कैदी

मानव सभ्यताको आदिकेन्द्र कर्णाली वि.सं.१८४६ सम्म जुम्ला साम्राज्य हो । दक्षिणमा गंगा, उत्तरमा कुगे, पूर्वमा मुक्तिनाथ र पश्चिममा बद्रिनाथसम्म फैलिएको थियो । बीचमा पाँच हजार योजनको लिंग कैलाश र त्यसवरिपरि खारा समुद्र, उत्तर कुरु, पूर्व विदेह, पश्चिम अवरगोदानीय र दक्षिणमा जम्बुद्वीप र जुम्ला यसै जम्बुद्वीपको ठूलो भूभाग हो । द्वीपहरूमा जम्बु (स्याल)का नामबाट हुनुले आदिकालदेखि जीवको अस्तित्व यसै द्वीपमा मात्र भएकाले देव दानव तथा मानवको सृष्टि तथा धर्म संस्कृति सभ्यताको प्रारम्भ यहीँबाट भयो ।

शिवको जन्म र निवास कैलाशमा भए पनि उनलाई सिर्जना गर्ने आदिशक्ति हिमालयखण्डमा उत्पत्ति भएको स्कन्दपुराण लेख्छ । महादेवले ब्रह्माण्डमाथि शासन गरेको राजधानी कर्णालीको रास्कोट बिजैपुर गाउँमाथिको मौलाकोट हुनुले सभ्यताको आदि थलो यही देखिन्छ । महादेवको २०औँ वर्ष भक्तिसाथ तपस्या गरेकाले आफ्नो राज्य अलकापुरीका राजा सकबहादुरलाई प्रदान गर्दै उनको नाम देवेन्द्र राखेर आफू जोगी भएर हिँडेको हिमवतखण्ड भन्छ । सकबहादुरको राज्यको राजधानी भएकाले कैलाश कर्णालीखण्डलाई साकेतभूमि, ज्ञानकर्म मात्र गर्ने र दूध पिउने दुग्धभोगी दैवी सभ्यताका कारण रक्तपात गर्न नपाइने अवध क्षेत्र, भोतकातुमा यसलाई ग्यागार र संस्कृत ग्रन्थहरूमा सपादलक्ष भनियो । पछि देवराजले आफूले स्वर्गको राज्य लिएर आफ्ना छोरा जयन्तलाई पृथ्वीको राज्य प्रदान गरे ।

समुद्रमन्थनमा अमृत कलस कागरूपी जयन्तले लिएर १२ दिनसम्म उड्दै प्रयाग, हरिद्वार, उज्जैन र नासिकमा सुस्ताएकाले अमृतले छोएको भनेर १२ वर्षे कुम्भमेला लाग्छ । रामायणको उत्तरकाण्डमा इन्द्रले रावण र जयन्तले मेघनाथसँग युद्ध गरेको र अन्तमा रावणका मावली बाजे पुलोमा ऋषिले बेहोस जयन्तलाई लिएर गए । पद्मपुराणमा सुरापद्मन भन्ने राक्षससँग जयन्तले लड्छन् । वायुपुराणमा उर्वशीले अगस्त्य गुरुको सम्मानमा इन्द्रको दरबारमा नृृत्य गरिरहेको वेला जयन्तसँग आँखा जुधाउँदै तालभंग गरेपछि ऋषिले आफ्नो अपमान गरेको ठानी क्रुद्ध भएर जयन्तलाई पृथ्वीमा बाँसको झाङ र उर्वशीलाई देवदासी हुने श्राप दिन्छन् । जयन्तको जीवनमा उर्वशी प्रेमिका देखिन्छन् ।रामायणमा जयन्तले काग भएर सीतालाई ठुङ्दा रामले ब्रह्मास्त्रले एक आँखा फुटालेको उल्लेख छ । यिनै जयन्त नेपालीहरूका कुलदेवता मष्टो हुन् र स्थान विशेष अनि कर्मका आधारमा अनेक रूप लिए पनि एउटै छन् ।

मष्टोदेवबारे विधिवत् अध्ययन २०१२ सालयता योगी नरहरिनाथको कर्णालीको भ्रमणपछि भयो र पश्चिमाहरूमध्ये मष्टो देवताबारे स्थलगत अध्ययन गर्ने विद्वान् फ्रान्सका मार्क गावोरियो हुन् । यिनको १९६९मा मष्टा कल्ट इन कर्णाली रिजन भन्ने लेख जोहन टी. हिचककको पुस्तक स्पिरिट पोसेसन इन नेपाल हिमालयमा छापियो । हाम्रो इतिहास राम्ररी अनुसन्धान नभएकाले धेरै कुरा भ्रमपूर्ण छन् र त्यसमा पश्चिमका लेखकमध्ये औपनिवेशिक अवधारणाबाट प्रेरितहरूले त नेपाल मात्र होइन, समग्र एसियाकै इतिहासलाई लथालिंग पारे । हुँदै नभएका आर्य, मंगोल, द्रविडजस्ता नक्कली जाति खडा गरेर हाम्रो सामाजिक स्वरूप नै खण्डित पारे । मार्क गावोरियोकै लेख हेर्दा त्यहाँ धेरै कुरा भ्रमपूर्ण छन्, उनले मष्टोका भानिज बाँठपालोलाई मात्र नभनी खापरलाई पनि मष्टो भनेका छन् । उनले मष्टोको उत्पत्ति सम्बन्धमा नर्थ इन्डिया अर्थात् कास्मिरबाट ढ“डार (बझाङ) आएको, मष्टोले नौ बहिनी दुर्गाहरूलाई ढँडारमा भेटेको जस्ता गलत कुरा लेखे । अहिलेसम्म इतिहासकारहरूले लेखेको अध्ययन गर्दा त्यसमा प्रायले जनमानसमा प्रचलित भनाइहरू संकलन गरेका छन् ।

मष्टो इन्द्र पुत्र हुन्, मण्डाल्नी भनिएकी आमा इन्द्रायणी वा शची र १६ बहिनीहरू दुर्गा, सुर्मा, मालिका, जालपा, कालिका, खदारीदेवी, बुढीनन्दा, शैेलेश्वरी, दुग्धेश्वरी, वरदादेवी, चिराशैनी, निगालशैनी, त्रिपुरासुन्दरी (रणसैनी), मैलोली भगवती, बेओट भवानी र उग्रतारा हुन् । यसरी नै मष्टोका छोरा एकोवार मूलमा जन्मेकाले पिँजडामा थुनेर गाडेको तर तिनी मूल फुटाएर बाहिर निस्केर ढँडारभन्दा पाँच किमि तल स्थापित गरिए । महादेवको नाम फागमा महालिंग हो भने उनका ६ भाइ राक्षसले मारेको, त्यसमा एक भाइ बँचेको र मष्टोसँग भएको बाजीअनुसार शत्रु पराजित गरेर महालिंगले दुर्गाहरूसँग विवाह गरे । उनको वाहन नुना हुन् । उनका कर्मचारी शनिसार र कौछ्या भन्ने दिवान छन् । गुरुका रूपमा कुशाभट्ट भए पनि बझाङमा छडाखेती ( बृहस्पति ?) मानिएको लेखक श्यामबहादुर खड्का लेख्छन् । डुँडा केशरी भन्ने लाँकुडा मष्टोका मन्त्री र बहिनी जालपाका पुत्र रिठापाटामा जालपाकै मन्दिरनेर स्थापित छन् । कालिकाका पुत्र कालसैन देवता उनका सेनापति हुन् । सहायकका रूपमा लवासैन भन्ने छन् । सुर्माका छोरा लाँगा र दुर्गाका छोरा बाँठपालोमा शिवपुत्र बाँठपालो वेदका आधिकारिक ज्ञाता हुन् र धवलपुरो देउतालाई राक्षसबाट बचाउँदा वेद ढुंगामा परिणत भएको कथाले मष्टोदेव नै वेदका रक्षक हुन् र वेद नेपालीहरूको आफ्नै ग्रन्थ हो र यसैले मष्टो हिन्दू होइनन् भन्ने विवादको पनि अन्त्य गर्छ ।

हाम्रो इतिहास राम्ररी अनुसन्धान नभएकाले धेरै कुरा भ्रमपूर्ण छन् र त्यसमा पश्चिमका लेखकमध्ये औपनिवेशिक अवधारणाबाट प्रेरितहरूले त नेपाल मात्र होइन, समग्र एसियाकै इतिहासलाई लथालिंग पारे । हुँदै नभएका आर्य, मंगोल, द्रविडजस्ता नक्कली जाति खडा गरेर हाम्रो सामाजिक स्वरूप नै खण्डित पारे ।

कालान्तरमा वेदको अन्त्य गरेर वेदान्तको सिद्धान्त अघि सारियो । दक्षिण एसियाकै केही लेखकहरूले मष्टोलगायत कतिपय देवीदेवता र वेदलाई पन्छाएर भिन्नै शास्त्र तयार गरे, जसलाई यवन, मुस्लिम र युरोपीय औपनिवेशिक प्रपञ्चले सभ्यता र इतिहासजस्तै धर्म संस्कृतिमाथि ठूलो घात गर्‍यो । वैदिक सभ्यतामाथि एउटा कालखण्डमा बाहिर र भित्रबाट हमला भयो । शून्यवादको प्रभाव र त्यसलाई नियन्त्रण गर्न खोज्ने वेदान्तलगायतको पुनरुत्थानको अभियानसँगै आएका कर्मकाण्ड र पौराणिक युगमा समाजको प्रवेशसँगै वेदको अध्ययन अध्यापन तथा अभ्यास ओझेलमा पर्‍यो । मष्टोदेवलाई जगाइराख्ने भूभाग मुक्त रह्यो तर जहाँ वेद र मष्टोदेवको उपेक्षा भयो, त्यो वैदेशिक हमलाको सिकार भयो  जरथुष्ट्रले लेखेको अभेस्ताले मूलदेवताका रूपमा अहुरमज्दा (मष्टोदेव) लाई मान्छ । मंगोलिया, तिब्बत, चीन, साइबेरिया, हंगेरी, बुल्गेरिया तथा सिङक्याङदेखि टर्कीसम्मको तार्तारमा मूलदेवता मष्टो हुन् । बु¥यात आमा र जर्मन बाबुबाट अमेरिकामा जन्मेकी जुली आन स्टेवार्डले सारान्जेरेल ओडिगोन नाम राखेर मंगोलियाको प्राचीन धर्म संस्कृतिको अध्ययन, लेखन र झाँक्रीसमेत बनिन्, उनैले सबभन्दा लामो अनुवाद गरेको राजा गेसार महाकाव्यका नायक हान होरमष्ट टेन्जर (मष्टोदेव) का माइला छोरा हुन् । गेसार (अभय केशर) अथवा बुखे बेलिग्टे बाटर भए पनि कथाको मूलमा उनका जन्मदाता, मार्गदर्शक र समग्र रीतिथितिका नियन्त्रक हान होरमष्ट टेन्जर हुन् । हान होरमष्ट पश्चिमका ५५ टेन्जरका अगुवा हुन् र उनका प्रतिद्वन्द्वी पूर्वका ४४ टेन्जरका अगुवा अताई उलान छन् । यिनीमध्ये क्षेत्रका देउता सेगिन सेब्डेग टेन्जरको राज्य तथा राजकुमारी सेसेग नोगुनका लागि युद्ध हुन्छ र अताई उलान टेन्जर मारिएर पृथ्वीमा खस्छन् र अरहन हारा सुत्जेर भन्ने राक्षस बन्दछन् र उनका अन्य अंगबाट अनेकौँ दुष्ट आत्मा र सयौँ दानव जन्मेर पृथ्वीवासीहरूलाई दुःख दिन्छन् । त्यसलाई नियन्त्रण गर्न गेसारलाई जिम्मेदारी दिन्छन्, जसले अरहन हारा सुत्जेरको सफाया गर्छन् ।

मष्टोलाई हान होरमष्ट नाम दिएबाट चिनियाँहरू हान भनिएको मष्टोको सन्तान भएर हो र मष्टोसँग होर शब्द जोडिनुले नेपालदेखि पर्सियासम्म जनाउँछ । चिनियाँहरू सधैँ नेपालीहरू प्रति किन आदरभाव राख्छन् भन्ने भेद पनि हान शब्द नेपालका कुलदेवता मष्टोबाट बनेकाले हो भन्न सकिन्छ । बुर्‍यात पुराणमा एक जिजुबजै छन् मञ्जन गुर्मे तुदेई जसका छोरा एसेजे मलान टेन्जर र बुहारी एखे युउरेन इविई हुन् । यिनका छोरा सबै टेन्जर मध्यपश्चिमी टेन्जर होरमष्टलाई गाल्टा उलान भनिन्छ र उनकी धर्मपत्नी मायास हारा तुदेई हुन् । हान होरमष्टका तीन छोरामा जेठा जस मरसेन बाटर, माइलो बुखे बेलिग्टे बाटर र कान्छो हबट जेरेल बाटर र तीन छोरी जेठी एरजेन गुहान, माइली दुरन गुहान र कान्छी सेवेल गुहान हुन् ।

कोरियादेखि पोल्यान्डसम्म राज्य गरेका सम्राट् चंगेज खाँ र इनका सन्तान हिमाल तल हमला गर्न नआएको मष्टोदेवकै आस्थाले हो भन्न सकिन्छ । चंगेज र उनका सन्तति (पाँचाैँ पुस्ताका राजा उज्वेग खान १४औँ शताब्दीमा धर्मान्तरण भएर मुस्लिम हुनुअघि) सबै मष्टो भक्त थिए, त्यसैकारण उनीहरू आधा पृथ्वी विजय गर्न सफल भए । मेहमेट इरोजले १०औँ शताब्दीमा क्रिस्तानहरूले कब्जा गर्नुअघि हंगेरीको राष्ट्रिय धर्म टेङरिज्म थियो र बुल्गेरिया, साइबेरिया, टर्की, मंगोलिया आदिको मूलधर्म यही भनेका छन् ।

फागहरूमा उल्लेख मष्टोदेवको आदिभूमि जलन्धर राजाको राज्य रास्कोट (कालिकोट) सँग ५५ टेन्जरहरू उत्पन्न भएको आकाशगंगाको सम्पर्क देखिन्छ । बुर्‍यातका पौराणिक कथाहरूले ९९ सय टेंग्रीमध्ये नीलो शक्तिशाली अनन्त स्वर्गलाई तीनवटा देवतामा बाँडेर कोके माेंङ्के टेन्ग्रीलाई सर्वोच्च देवता मान्दै दृश्य र अदृश्यका रचनाकार र उनीभन्दा दोस्रो खोरमष्ट टेन्ग्रीलाई राजा र आगोका मूली भनेको छ ।

ब्रह्माण्ड र प्रकृतिसँग मिलेर बस्ने टेन्जर धर्मलाई कास्य युगबाटै पृथ्वीको आदिधर्म मान्दै यसको अन्त्य ३३०० बिसीदेखि १२ सय बिसीसम्म भएको र पूर्वी युरोपमा प्रारम्भमा हुण तथा बुल्गारियनहरूले फैलाएको देखिन्छ । उइगुरमा ८औँ शताब्दीसम्म यो मूल धर्म थियो । बीचमा मनी, बौद्ध, मुस्लिम आदि सम्प्रदायबाट दमन र प्रतिबन्ध लगाए पनि अहिले फेरि मंगोलियामा जस्तै किर्गिस्तान, कजाकस्तान, सख, बुर्‍यातिया, टुभा, टर्की जताततै पुनः जागरण आएको छ । सेरेन्जेरेलको संघर्ष, संगठन र लेखनबाट त्यहाँ टेन्जेरिज्म पुनरुत्थान भयो भने साइबेरियादेखि अलास्कासम्म कैयौँ संस्था सक्रिय छन् । मंगोलियामा जस्तै किर्गिज र कजाग क्षेत्रमा सोभियत संघको विघटनपछि धार्मिक पुनः जागरणको लहरमा किर्गिज राज्यका सचिव तथा राज्य सुनखानी कम्पनीका प्रमुख डास्टान सरिगुलोवले १९९० पछि टेन्गिर ओर्डो (देव सेना) टेन्ग्री धर्मको पुनरुत्थानका लागि एक समाज बनाउँदै बिसकेकमा उनले पाँच लाख समर्थकको अध्ययन केन्द्र खडा गरे ।

राष्ट्रपति नुरसुल्तान नजर बायव र पूर्वराष्ट्रपति अस्कर अकायावले किर्गिज र कजाक पत्रिकाहरूमा टेन्ग्रिज्म तार्तारहरूको प्राकृतिक धर्म भने । मध्यएसियाका धेरै देशमा टेन्गरिज्म १९९० पछि तार्तार राष्ट्रवाद अर्थात् तार्तारिस्थानवादकै रूपमा आयो र १९९७ मा मासिक पत्रिका बिज्नेङ–युल प्रकाशन भयो । यो आन्दोलन सन् २००० सम्म किर्गिजस्तान, कजाकस्तान हुँदै बुर्‍यातिया र मंगोलियासम्मै फैलियो । बुर्‍यातकी विदुषी इरिना एस. उर्वानायेवाले टेन्ग्रिस्ट धर्मका रहस्यवादी परम्पराहरूको सैद्धान्तिक व्याख्या गरिन् । त्यहाँ मुस्लिम सम्प्रदायलाई बाहिरबाट लादिएको र स्थानीय धर्म टेङरिज्म हो र यो जरथुष्ट्रवादको पुनरुत्थान हो भन्ने बहस चल्यो । २०११ मा कुवानिच्वेक तेजेक्वाएवलाई सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा थुन्दै किर्गिज मुस्लिम मुल्लाहरू पहिलेका खुंखार जँड्याहा र हत्याराहरू हुन् भनेको आरोप लगाइयो । जोराष्ट्रियनिज्मलाई पारसीमा मज्दायास्ना (मष्टोदेव) भनिन्छ । उइगुरहरूले पूर्वी तुर्किस्तान जितेपछि मनी (मनिक्याज्म) धर्म अँगालेर टेन्गरिज्मलाई निषेध गर्दा यसको दबदबा खस्क्यो । ८४० पछि तुर्किस्तान मुस्लिमले लिएर परम्परागत धर्म पूर्ण निषेध भयो ।

००४ मा भित्री मंगोलियाको धार्मिक स्थितिबारे मिन्जु विश्वविद्यालयको अनुसन्धानले चिनियाँहरूले सियान भन्ने टेन्ग्री मान्नेहरूको जनसंख्या ८०.०, बौद्वमार्गी १२.१, क्रिस्तान २.० र मुस्लिम ०.९१ प्रतिशत देखियो । मंगोलिया जनगणतन्त्र (१९२४–९२) मा टेन्जर धर्म दबाइएको र महाराज चंगेज खाँको तीर्थस्थल र मूर्तिहरू ध्वस्त पारिएको थियो । जनगणतन्त्र चीनको स्थापनापछि चिनियाँले मंगोल राष्ट्रियताको उत्थान गर्दै चंगेज खाँको समाधिस्थल पुनर्निर्माण गरेर चीनको युयान राजघरानाको आधारशिला नै चंगेजलाई माने । यसैले भित्री मंगोलियाको ओडोस मरुभूमिनजिक उक्सिन ब्यानरको सुल्दे टेन्ग्रीको मन्दिर र समाधिस्थल ज्यादै महत्वपूर्ण स्थल बन्यो ।

स्वस्तिक चिह्न पूर्ण वैदिक हो । मंगोलियाको सुल्दे टेन्ग्रीको मन्दिरमा पनि स्वस्तिक चिह्न सजाइएको छ । स्वस्तिकको अर्थ संस्कृत, पाल्ही र प्राकृतमा राम्रो छ, असल छ, शुभ छ भन्ने हुन्छ । यसलाई चीनमा वान, जापानमा मन्जी, बेलायतमा फिल्फोट, जर्मनीमा हाकेनक्रेउज, ग्रिसमा टेट्रासकेलिओन भनिन्छ । हिन्दूहरूले मष्टोका साथ भगवान् विष्णु र गणेशको प्रतीक मान्छन् । शैवमार्गी, बोन, जैन, नागा, लिंगायत, बौद्ध आदिले कैलाश पर्वतको प्रतीक भन्छन् । यो बायाँ फर्कियो भने कालिका, वाममार्ग, तन्त्र, कालाजादु र बोन धर्मसँग सम्बन्धित हुन्छ । यो चिह्न युरोपका केल्ट, नोर्डिक र डु«इडस जातिहरूले समेत प्रयोग गर्दछन् ।

स्वस्तिक चिह्न युक्रेनको मेजाइनमा बाह्रहजार वर्षपहिले प्रयोग भएकाले मष्टोको इतिहास व्यापक देखिन्छ । युरोपका सर्बिया, क्रोसिया, बोस्निया, हर्जगोविना आदि क्षेत्रमा प्रचलित भिन्का संस्कृतिमा आठ हजार वर्षदेखि स्वस्तिकको प्रयोग देखिन्छ । रोमका क्रिस्तानहरूले जोटेको जोटेकोे (जीवनको जीवन) भनी स्वस्तिकको पूजा गर्थे । इथियोपियाको चर्च बनाइएको लालिवेला चट्टानमा स्वस्तिक चिह्न देखिनुले विष्णु वा मष्टोको मन्दिर भत्काएर चर्च बनाएको मानिन्छ । यसरी मष्टोदेवको महिमा वैदिक स्वस्तिक चिह्नबाट पनि प्रमाणित गर्न सकिन्छ ।

Must View