नागरिक पोष्ट News


पहिलो किस्ता ५० हजार लिएर घर नबनाउनेहरुमाथि करवाही हुदै, नाम पनि कालोसूचीमा

3.3K

भूकम्प प्रतिरोधी घर बनाउन राज्यले दिएको पहिलो किस्ताको ५० हजार रुपैयाँको हिसाब किताब राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खोज्न थालिसकेको छ । 

०७३ पुसभित्र अनुदान लिएकाहरुले यो पुस मसान्तभित्र घर निर्माण गरेर दोस्रो किस्ताको आवेदन दिइसक्नुपर्ने थियो । पुननिर्माण प्राधिकरणले ६ लाख ८८ हजार लाभग्राहीसँग सम्झौता गरेर पहिलो किस्ताको ५० हजार अनुदान दिइसकेको छ । तीमध्ये करिव साँढे ४ लाख भूकम्प पीडितले घर निर्माण जारी राखेका छन् ।

पहिलो किस्ताको रकम लिएर घर नबनाउनेको हकमा के गर्ने ? प्राधिकरणमा यसबारे छलफल भइरहेको छ । यसअघिनै राज्यको अनुदान लिएर घर नबनाउनेलाई कालोसूचीमा राखेर कारवाही गर्ने र रकम फिर्ता गराउने निर्णय भइसकेको छ ।

करिब २ लाख ‘भूकम्प पीडित’ भने पहिलो किस्ताको ५० हजार बुझेपछि बेखबर छन् । उनीहरुमध्ये धेरैजसोको काठमाडौं वा अन्यत्र घर भएकाले अनुदान रकम बुझ्ने तर घर नबनाउने नियत देखिएको छ । पहिलो किस्ता लिएर घर नबनाएका तर म्याद प्राधिकरणको चेतावनीपछि धमाधम जग खनेर पहिलो डीपीसी गर्नेहरुको संख्या पनि उल्लेख्य छ ।

प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरे भने अनुदान रकम लिएको एक वर्षभित्र दोस्रो किस्ताको लागि निवेदन नदिनेहरुको छानविनपछि मात्र कसले ५० हजार पचाउन खोेजेको हो र कसले समस्यामा परेर घर निर्माण गर्न नसकेको हो भन्ने यकिन हुने बताए ।

घिमिरेले भने- जसले पुस मसान्तभित्र घरको जग उठाएका छैनन्, उनीहरुले समस्यामा परेर नसकेको हो भने सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्छ,निवेदनका आधारमा घर बनाउनका लागि केही समय दिन सकिन्छ । नत्र अनुदान रकम फिर्ता गराउने प्रक्रिया शुरु हुन्छ ।

अनुदान लिएर घर नबनाउने तथा एक ठाउँमा घर हुँदा हुँदै अनुदान लिने दुवैलाई कारवाहीको दायरमा ल्याउन लागिएको शर्माले बताए । नक्कली पीडितहरुकै कारण भूकम्प पीडितको घर नबनेको हल्ला बढी हुने गरेको प्राधिकरणको बुझाइ छ ।

जो गाउँमै बस्छन् उनीहरुले घर निर्माण गरिसकेका छन् वा निर्माण जारी राखेका छन् । जसको अन्यत्र बसोबास छ र घर बनाउने नियत छैन उसले रातारात जग उठाएर दोस्रो किस्ताको डेढ लाख लिने दाउ गरिरहेको सूचना पनि प्राप्त भइरहेको प्राधिकरणका अधिकारी बताउँछन् ।

Must View