काठमाडौंका ट्राफिक प्रहरीको मर्मस्पशी कथा, डिआइजी खनालले यसरी गरे सुधारको प्रयास
ट्राफिकका कष्टका कथा अनेक छन् । मापसे गरेर आफ्नै अगाडिबाट भाग्न लागेका अटेरी चालकलाई रोक्न खोज्दा खुट्टा भाँचिएर ट्राफिक प्रहरी घाइते भए । यस्तै-यस्तै घटनामा परेका ८ जना ट्राफिक प्रहरीहरु यतिबेला न्युरो, बीएण्डबी र अर्थोपेडिक अस्पतालमा उपचार गराइरहेका छन् । मापसे गरेका मोटरसाइकल चालकले गरेको दुर्व्यवहारका कारण घाइते भएर अर्का एकजना ट्राफिक अस्पतालमा भर्ना भएका छन् ।
रक्सी अरुले पिउँछन्, तिनको मुख सुँघ्दै चिसो सडकमा रातभर ड्युटी गर्नुपर्ने बाध्यता छ ट्राफिक प्रहरीलाई । जँड्याहाहरु परैबाट भाग्छन् । तर, तिनको बाटो कुर्दै शून्य डिग्रीको चिसोमा रातको १२ बजाउनुपपर्छ जवानहरुले ।
काठमाडौंका ट्राफिक प्रहरीः कसैको खुट्टो भाँचियो, कसैलाई क्यान्सरकाठमाडौं ट्राफिकमा पोस्टिङ भएपछि सडकमा व्यहोर्ने तनावकै कारण उच्च रक्तचापका कारण १६ जना ट्राफिक प्रहरीहरु रगत पातलो बनाउने ट्याब्लेट खाएर काममा जान थालेका छन् ।
काठमाडौंको धुँवाले एकजना ट्राफिकलाई क्यान्सर भएको छ । उनी भक्तपुरमा उपचार गराइरहेका छन् । ठाडो लाइन ड्युटीमा बसेकै कारण नशा च्यापिने, ढाड सड्किने, र श्वासप्रश्वासको समस्या आएर तीनजना ट्राफिक ड्युटीमा जान सकेका छैनन् ।
एकजना ट्राफिक प्रहरी मृगौलाको अपरेशन गरेर ब्यारेकमा थन्किएका छन् ।
विरामी परेका ट्राफिकलाई उपचार खर्च दिने व्यवस्था नेपाल प्रहरीले गरेको छैन । तर, २२ जना प्रहरी ड्युटीकै क्रममा, अर्थात् कर्तव्य पालनाका सिलसिलामा अस्पतालमा छन् ।
डीआइजी सर्वेन्द्रको सुधार प्रयास
काठमाडौंको ट्राफिकलाई कमाण्ड गरिरहेका डीआइजी हुन्, सर्वेन्द्र खनाल ।खनाल बिहान उठेदेखि राति सुत्नेबेलासम्म सडकका समस्यासँग जुधिरहेका छन् ।
ट्राफिकले सार्वजनिक सवारी साधन देख्यो कि चिट काट्न थाल्ने क्रमलाई सर्वेन्द्रले ट्राफिकमा हाजिर भएकै दिनदेखि कम गराए । बाटो-बाटोमा चिट काटिएपछि ट्राफिक महाशाखा, बग्गीखानामा कारवाही गरिएका मानिसहरुको भिड, साँझको असन-इन्द्रचोकजस्तो । ‘चिट काट्ने हैन, नियम सिकाउने, चेतावनी दिने, गल्ती दोहोर्याएपछि बल्ल कारवाही गर्ने’, सर्वेन्द्रले हरेक रोलकालमा भन्ने गरेका छन् ।
मापसेजत्तिकै लेन अनुशासन उल्लंघन गर्नेलाई पनि क्लास लिनुपर्ने र धेरै जरिवाना तिर्नुपर्ने गरी कारवाही हुने गरेको छ । सर्वेन्द्रले लेन अनुशासनको कारवाहीको स्वरुपमा परिवर्तन गराए । पहिला दुई सय जरिवाना तिरेपछि लेन अनुशान गर्नेले मुक्ति पाउँथे । तर, अब पहिलोचोटि उल्लंघन गर्नेलाई पाँच सय रुपैयाँ र एक घन्टाको क्लास, दोस्रोचोटि उल्लंघन गर्नेलाई हजार रुपैयाँ जरिवाना, क्लास लिनुनपर्ने र तेस्रोचोटि वा सोभन्दा बढी उल्लंघन गर्नेलाई १५ सय जरिवाना, क्लास लिनुनपर्ने नियम लगाइदिए ।
अफिस टाइम सुरु भएपछि भद्रकाली, सुन्धारातिर लडाइँ लडेजस्तै हुन्छ, माइक्रो चढ्ने यात्रुहरुको अवस्था । तर, आजकल त्यस्तो छैन । कारण हो- ट्राफिकले लाइन लागेर गाडी चढ्ने नियम बनाइदियो ।
सर्वेन्द्रले चमत्कार गरिदिए, ठमेललाई सवारीमुक्त बनाएर । अहिले ठमेलको नरसिंह चोकमात्र सवारी मुक्त छ । उनलाई पहिला त्यहाँका व्यवसायीले नगर्न सुझाव दिए । तर, अत्यधिक सवारी चापका कारण शहरको मुख्य पर्यटकीय क्षेत्र अस्तव्यस्ता हुँदा त्यहाँको रौनक नै घटेपछि ‘पेलेरै’ सर्वेन्द्रले ठमेललाई सवारी मुक्त बनाए ।
आजकल कहिले होटल व्यवसायी, कहिले थान्का व्यवसायी त कहिले स्थानीयवासीले दिनैपिच्छेजस्तो दोसल्ला र खादा ओढाएर उनलाई सम्मान गर्न थालेका छन् ।
News Source : Onlinekhabar