नक्कली लाइसेन्स ‘ट्रायल छल्ने धन्दा’ ३१ सय लाइसेन्स छानबिनको दायरामा
२०७३ साल चैत ३ मा नमराज कुनुवारका नाममा यातायात कार्यालयले लाइसेन्स जारी गर्यो । आवश्यक कागजात र प्रमाणपत्रबिना नै ०४–०६–००१७७०१२ नम्बरमा उनको नाममा लाइसेन्स जारी गरेको भेटियो ।
सोही दिन सोमबहादुर राई, रोशन योञ्जन र अप्सन अधिकारीलगायतका नाममा पनि यसैगरी लाइसेन्स जारी गरेको भेटियो ।
अर्को फाइल खोल्दा ०७३ साल चैत २४ मा वितरण गरिएको उमेश बुढामगर, चोमनारायण थनेत, दलबहादुर सिपिली, अनिश तामाङ र मानवीर तामाङको लाइसेन्ससमेत प्रक्रिया नपुर्याई जारी गरेको भेटियो । ‘यिनीहरू भारतको आसामका थिए, स्मार्टकार्डबिना नै प्रक्रिया मिचेर लाइसेन्स वितरण गरेका रहेछन्,’ यातायात व्यवस्था विभाग स्रोतले भन्यो ।
यातायात व्यवस्था विभागमा केही महिनाअघि गम्भीर प्रकृतिको सूचना आयो । मातहतका सवारी चालक अनुमतिपत्र कार्यालयहरूमा प्रक्रिया नपुर्याई ‘घूस’ खाएका भरमा धमाधम लाइसेन्स जारी भएको सूचनाका आधारमा विभागले छानबिन थाल्यो ।
विभागका शाखा अधिकृत किरण ढकाल र नासु श्रीराम भुर्तेलको टोलीले चालु आर्थिक वर्ष (साउनयता) मा करिब ३१ सय लाइसेन्स ‘नेपालीकरण’ भएको प्रतिवेदन दिँदै तीमध्ये करिब सबैजसो छानबिन हुनुपर्ने भनी सिफारिस गरेको छ ।
‘छानबिनका क्रममा केही गम्भीर अनियमितताका लक्षण देखिएकाले हामीले फाइल अख्तियारमा पठाएका हौं,’ बिहीबार नै अख्तियारमा प्रतिवेदन बुझाएका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले भने ।
‘ट्रायल छल्ने धन्दा’ सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कुनै पनि सवारी हाँक्न लाइसेन्स लिनुपर्ने व्यवस्था छ । लाइसेन्सका लागि तोकिएको मापदण्डमा रही ट्रायल पास गर्नुपर्छ । ट्रायलमा कडाइ हुन थालेपछि र फेल भएकालाई जथाभावी लाइसेन्स बाँड्न कडाइ गरेपछि यातायातका केही कर्मचारीले दलालसँग मिलेर नेपालीकरणको धन्दा सुरु गरेका हुन् ।
यातायात व्यवस्था ऐनमै ‘कसैले विदेशमा सवारीचालक अनुमतिपत्र पाएको भए नेपालमा सवारी साधन चलाउन निवेदन दिएमा यातायात कार्यालयले लाइसेन्स दिन सक्ने व्यवस्था छ । साथै ऐनमै ‘त्यस्ता व्यक्तिले चालक अनुमतिपत्र लिन कुनै परीक्षा दिनुपर्ने छैन’ भनी व्यवस्थासमेत गरिएको छ ।
यातायातका कर्मचारीहरूबीच ‘नेपालीकरण’ भनेर चिनिने यो प्रक्रियामा पछिल्लो समय नक्कली कागजात पेस गर्ने र आवश्यक कागजात पेस नगरी लाइसेन्स ‘किन्ने’ क्रम धमाधम बढेको हो । यही व्यवस्थाको फाइदा उठाई धमाधम लाइसेन्सको ‘नेपालीकरण’ को कारोबार सुरु भएको हो ।
‘कर्मचारीकै मिलेमतोमा नक्कली विदेशी कागजातका आधारमा धमाधम लाइसेन्स बनिरहेको छ,’ यातायात स्रोतले भन्यो, ‘ट्रायल परीक्षा दिन नसक्नेका लागि दलालले नै आवश्यक नक्कली कागजात तयार गरी लाइसेन्स मिलाइदिन्छन् । अलि बढी खर्च गरे पुग्छ ।’
Source : कान्तिपुर दैनिक