सलुट ! डिआइजी सर्बेन्द्रलाई जसले काठमाडौँमा सभ्य संस्कारको ट्राफिक अभियान ल्याए
महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०७४ पौष २ गते आइतबारदेखि काठमाडौँ उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने व्यवस्था लागू गरेको छ । अब उपत्यकाको सबैभन्दा बढी यात्रुको चाप हुने एनएसी, रत्नपार्क, भृकुटीमण्डप, सामाखुशी, बानेश्वर, कोटेश्वर, कुपण्डोल, जडीबुटी र चाबहिलमा अब यात्रुले सार्वजनिक यातायात चढ्न लाइन लाग्नु पर्ने छ।
सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सभ्य संस्कारको सडक अभियान अर्थात लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाएको हो ।
लाम बसेर सवारी चढ्दा जो पहिले आएको हो त्यसले पहिलो प्राथमिकता पाउनेछ । अघिल्लो सार्वजनिक यातायातमा चढ्न नपाएका यात्रु लगत्तै पछिल्लोमा जान पाउनेछन् । धेरै यात्रु सवारीमा हुने दैनिक धकेलाधकेलका कारण हिँडेर भए पनि गन्तव्यस्थलमा जान बाध्य छन् । केही महिना अगाडि मात्र काठमाडौँ खरीबोट–वनस्थली हुँदै रत्नपार्क चल्ने सवारी साधनले यात्रुलाई लाममा बसेर सवारी चढ्ने व्यवस्था मिलाएको थियो । उक्त कार्यक्रम अहिले पनि सञ्चालनमै छ ।
‘यात्रु दुःख पाएर सवारीमा जानुभन्दा एकछिन संयम भएर सवारीमा सुरक्षित गन्तव्यस्थलसम्म पुग्नका लागि हामीले यो कार्यक्रम चलाएका हौँ,’ महाशाखाका प्रमुख डिआईजी सर्वेन्द्र खनालले भने। मर्यादित र व्यवस्थित ट्राफिक होस् भन्ने चाहना महाशाखाको रहेको डिआईजी खनालको भनाइ छ।
सो अभियानलाई सहयोग पुर्याउन महाशाखाले स्काउट र स्वयंसेवकसमेत परिचालन गर्नेछ। नयाँ सडकको प्रवेशद्वार एनएसीबाट मात्र काठमाडौं उपत्यकाका ८६ स्थानमा जाने सवारी पाइन्छ । उक्त स्थानमा अभियान सञ्चालन गरे धेरै ठाउँमा सहयोग पुग्ने विश्वास महाशाखाको छ ।
महाशाखाले यो अभियान एक हप्तासम्म प्रत्येक दिन बिहान–बेलुका सवारी साधन भिड हुने कार्यालय समयमा सञ्चालन गर्ने छ। सुरुको समयमा अभियान सञ्चालनमा केही समस्या परे पनि विस्तारै बानी पर्दै जाने महाशाखाले विश्वास लिएको छ ।