त्रिशूली नदी जलविद्युत् हब बन्ने, नुवाकोट त्रिशुली आसपासका जनता यसरी मालामाल हुने
विदुर : त्रिशूली नदी जलविद्युत् हब बन्ने क्रममा छ। त्रिशूली नदीकै पानीलाई सदुपयोग गरी निर्माण भइरहेका जलविद्युत् आयोजनाको काममा कुनै पनि अवरोध नआए अबको पाँच वर्षभित्र त्रिशूली विद्युत् करिडोर क्षेत्र बन्ने निश्चित छ। नेपाल-चीन सीमानामा रसुवागढीदेखि नुवाकोट हुँदै पृथ्वी राजमार्गको गल्छीसम्म त्रिशूली नदीकिनारामा मात्रै १२ जलविद्युत् आयोजनाको काम भइरहेको छ। रसुवा र नुवाकोटमा विद्युत् विकास विभागबाट ५५ जलविद्युत् आयोजनाले अनुमति लिएका छन्। जसमध्ये दुई दर्जन जलविद्युत् आयोजना निर्माण चरणमा छन्।
हाल दुई जिल्लाअन्तर्गत रसुवाको स्याफ्रुबेसीमा चिलिमे जलविद्युत् आयोजनाले २१ मेगावाट, नुवाकोट त्रिशूलीमा त्रिशूली जलविद्युत्ले २१ मेगावाट र सोही विद्युत् गृहको पानीलाई सदुपयोग गरेर देवीघाट जलविद्युत् केन्द्रले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले जनाएको छ। चिलिमे १०, त्रिशूली ४० र देवीघाट जलविद्युत् केन्द्रले ३० वर्षदेखि विद्युत् उत्पादन गर्दै आएका छन्। प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट निर्वाचित सांसदले नुवाकोट र रसुवालाई विद्युत् बैंक बनाउने प्रतिबद्धता जनाएका छन्।
नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नारायणप्रसाद खतिवडाले बगेर खेर गइरहेका त्रिशूली, तादी, लिखु, सामरी खोलाको पानीलाई सदुपयोग गरी विदेशबाट विद्युत् आयात बन्द गर्न आफूले योजना बनाउने बताए। उनले अब जलविद्युत् उत्पादनका योजनालाई स्थानीय तथा प्रदेश तहसँग मिलेर गुरुयोजना बनाउने उल्लेख गरे।विद्युत् उत्पादनका लागि ठूलो सम्भावना रहेको त्रिशूली नदीबाट बिजुली उत्पादनको ठूलो तयारी भइरहँदा नुवाकोट र रसुवाको आर्थिक तथा सामाजिक विकासमा पनि महत्वपूर्ण योगदान पुग्नेछ। नुवाकोट पहाडी र रसुवा हिमाली जिल्ला हुन्।
जलविद्युत् उत्पादन गरी नुवाकोटका समथर टारमा सिँचाइ सुविधा पुर्याउने पहिलेदेखिकै योजना रहेको उल्लेख गर्दै नुवाकोट २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले जलविद्युत्को विकासबिना जनताको आर्थिक स्थिति मजबुत नहुने उल्लेख गरे। विद्युत् क्षेत्र करिडोरअन्तर्गत रसुवागढी-भोटेकोसी-त्रिशूली-गल्छीसम्म एक दर्जन जलविद्युत् आयोजनाले विद्युत् उत्पादन अनुमति पत्र प्राप्त गरेका छन्। जसमध्ये चिलिमे, त्रिशूली जलविद्युत् नुवाकोट र देवीघाट जलविद्युत्ले बिजुली उत्पादन गरिरहेका छन्। यस विद्युत् करिडोर क्षेत्रबाट मात्र आठ सय २७ मेगावाट विद्युत् उत्पादन हुने योजना छ।
जसमध्ये भोटेकोसीबाट मात्र तीन सय २४ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिइएको छ। ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निर्माण ७० प्रतिशत सकिएको आयोजनाका प्रमुख फणिन्द्र जोशीले जानकारी दिए। ३७ दशमलव १ मेगावाटको त्रिशूली थ्री बी, नेपाल विद्युत् प्राधिकरणले बनाउँदै छ भने बाँकी सबै जलविद्युत् आयोजना निजी लगानीमा निर्माण भइरहेका छन्। त्रिशूली करिडोरअन्तर्गत निर्माण भइरहेका आयोजनामध्ये त्रिशूली थ्री ए, चीनको एक्जिम बंैकको सहुलियत ऋण सहयोगमा बनिरहेको छ। त्रिशूली करिडोरअन्तर्गत २१६ मेगावाटको माथिल्लो त्रिशूली १, चीनको निजी क्षेत्रको कम्पनी हाइड्रो चाइना कर्पोरेसनले बनाइरहेको छ।
माथिल्लो त्रिशूली २ (१०२) मेगावाट हाइड्रो चाइनाको लागतमा, (२२९) मेगावाटको माथिल्लो त्रिशूली २ ए, १० मेगावाटको माथिल्लो मैलुङ सोही पानीको बहावबाट ५ मगावाटको मैलुङ खोला जलविद्युत्, त्यसभन्दा तल ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए, नुवाकोट किस्पाङ गापाको मनकामनामा निर्माणाधीन त्रिशूली बी (३७) मेगावाट, त्यस्तै नुवाकोटको तुप्चेमा निर्माण हुन लागेको ६५ मेगावाटमध्ये त्रिशूली गंगा आयोजना, गल्छीमा निर्माण हुने ७५ मेगावाटको गल्छी जलविद्युत् रहनेछन्। रसुवाको भोटेकेसी नदीसँगै विभिन्न खोलामा निर्माण भइरहेका आयोजनाअन्तर्गत प्यारेन्ट प्लान्टको रूपमा चिलिमे जलविद्युत् आयोजनाको लगानीमा निर्माणाधीन ४२ मेगावाटको सान्जेन, १४.६ मेगावाटको माथिल्लो सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत्ले उत्पादन अनुमति लिइसकेको विद्युत् विकास विभागले जनाएको छ। यी सबै जलविद्युत् आयोजना काठमाडौंबाट ५० देखि एक सय ५० किलोमिटरको दूरीमा छन्।
विद्युत् विकास विभागले अनुमति दिएको आयोजना समयमै निर्माण भए नुवाकोट र रसुवाबाट मात्रै एक हजार पाँच सय मेगावाट विद्युत् उत्पादन हुनेछ। विद्युत् उत्पादन अनुमति लिएका आयोजनामध्ये रसुवागढी, माथिल्लो त्रिशूली थ्री ए, माथिल्लो त्रिशुली १, सान्जेन तल्लो र माथिल्लो सान्जेनसहित एक दर्जन जलविद्युत् आयोजनाको काम भइरहेको छ।
- Source : कान्तिपुर डायरी