नागरिक पोष्ट News


नेपाली राजनीतिका उदयमान महिलाहरूः हेर्नुहोस् उनीहरुको पावर कति ?

4.1K

महिलाले पनि के चुनाव लड्छन् र भन्दै जतासुकै महिला नेताहरूको क्षमतामा प्रश्न गर्ने र उछिट्टो काट्ने पुरुष मानसिकतालाई आम जनताले देखाइदिए, ‘यसरी जित्छन् महिलाहरू भनेर…।’ २०७४ मंसीर १० र २१ गते सम्पन्न आम निर्वाचनबाट १७ महिलाहरु नेपाली राजनीतिमा उदाएका छन् । जसले महिला राजनीतिमा केही होइनन् भन्ने कुरालाई चुनौती दिदै मर्द भन्दा बलियो शक्तिको रुपमा आफूहरुलाई राजनीतिक उभ्याउन सफल भएका छन् ।

प्रतिनिधिसभामा विजयी महिलाहरूः

बिना मगर

विजयी महिला उम्मेदवार मध्ये कञ्चनपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी बिना मगरले सबै भन्दा बढी मत अन्तरले आफ्ना पुरुष प्रतिस्पर्धीलाई पराजित गरेकी छन् ।

उनले नेपाली कांग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २ सय ४८ मत अन्तरले पराजित गरेकी हुन् । बिनाले ३८ हजार ४ सय ६७ प्राप्त गरिन् भने विष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेका थिए ।

दुर्गा पौडेल

प्रतिनिधिसभा सदस्यका लागि एकमात्र क्षेत्र रहेको प्यूठानमा वाम गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले नेपाली कांग्रेसका उम्मेदवार प्रा.डा.गोविन्दराज पोखरेललाई १६ हजार २ सय २८ मतान्तरले पराजित गरिन् ।

पौडेलले ४७ हजार ५ सय १४ मत ल्याइन् भने कांग्रेस उम्मेदवार तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पोखरेलले ३१ हजार २८६ मत पाए ।

पवित्रा निरौला खरेल

त्यस्तै झापा क्षेत्र नम्बर २ बाट वाम गठबन्धनकी उम्मेदवार नेकपा एमालेकी पवित्रा निरौला खरेलले १३ हजार ७ सय ६७ मत बढी ल्याई नेपाली कांग्रेसका उम्मेदवार उद्धव थापालाई पराजित गरिन् ।

खरेलले ४५ हजार ८ सय १७ मत ल्याईन् भने थापाले ३२ हजार ५० मत ल्याएका थिए ।

कमला रोका

पहिलो चरणमा निर्वाचन भएको रुकुम पूर्व क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी कमला रोकाले ६ हजार २८ मतको फराकिलो अन्तरमा कांग्रेस उम्मेदवारलाई पराजित गरिन् ।

रोकाले १० हजार ४ हजार ३४ मत ल्याईन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत पाए ।

पम्फा भुसाल

ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा पम्फा भुसाल आफ्ना प्रतिस्पर्धी भन्दा १ हजार ७ सय ७ मत बढी ल्याई विजयी भईन् ।

वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रकी नेता भुसालले २४ हजार ३७ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मदन अमात्यले २२ हजार ३ सय २९ मत ल्याएका थिए ।

प्रदेशमा विजयी महिलाहरू

कुमारी मोक्तान

प्रदेशसभा सदस्यमा मकवानपुर क्षेत्र नं १ को (क) बाट वाम गठबन्धनकी उम्मेदवार, माओवादी केन्द्रकी कुमारी मोक्तानले लोकतान्त्रिक गठबन्धनका यतिराज सापकोटा भन्दा १२ हजार ९ सय ९६ मत बढी ल्याई पराजित गरिन् । मोक्तानले २७ हजार १ सय ३२ मत ल्याइन् भने सापकोटाले १४ हजार १ सय ३६ मत ल्याएका थिए ।

बेची लुङगेली

सर्लाही क्षेत्र नम्बर १ (ख) बाट वाम गठबन्धनकी बेची लुङगेलीले नेपाली कांग्रेका शेष साह दुल्लाहलाई पराजित गरिन् । उनले ६ हजार १ सय ६६ मतअन्तरले दुल्लाहलाई पराजित गरेकी हुन् । लुङगेलीले १५ हजार ३ सय ६३ मत ल्याएकी छन् भने दुल्लाहले ९ हजार १ सय ९७ मत प्राप्त गरेका थिए ।

कला घले

उदयपुर क्षेत्र नं.२ (ख) प्रदेशसभामा वाम गठबन्धनका साझा उम्मेदवार कला घलेले निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामकुमार खत्रीलाई पराजित गरिन् । उनी खत्री भन्दा ४ हजार ४ सय ८४ मत बढी ल्याई विजयी भइन् । घलेले १३ हजार ४ सय ५९ मत ल्याएर विजयी भएकी हुन् । खत्रीले ८ हजार ९ सय ७६ मत प्राप्त गरेका थिए ।

कृष्णा केसी (नमुना)

बाँके क्षेत्र नं १ प्रदेशसभा (क) बाट बाम गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी नेता कृष्णा केसी (नमुना)ले निकतम प्रतिद्वन्द्वी काँग्रेसका शरद चन्द्र बर्मालाई ३ हजार १ सय ९६ मत अन्तरले पछि पार्दै विजयी भइन् । केसीले १३ हजार ४ सय ३६ मत प्राप्त गरिन् भने काँग्रेसका बर्माले १० हजार २सय४० मत प्राप्त गरेका थिए ।

नरदेवी पुन

म्याग्दीको प्रदेशसभा ‘ख’ बाट वाम गठबन्धनकी उम्मेदवार नेकपा एमालेकी नरदेवी पुन मगरले २ हजार ८ सय ७८ मत बढी ल्याई आफ्ना निकटतम् प्रतिस्पर्धी कांग्रेसका अमलाल फगामीलाई पराजित गरिन् ।

मगरले १० हजार ८ सय ६८ मत ल्याईन् भने फगामीले ७ हजार ९ सय ९० मत ल्याएका थिए ।

देवकी मल्ल थापा

बझाङ प्रदेशसभा ‘ख’ बाट वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी देवकी मल्ल थापा २ हजार ५ सय १ मत अन्तरले विजयी भईन् । मल्लले १६ हजार ७ सय ४३ मत ल्याएकी छिन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत ल्याए ।

रमा आलेमगर

यस्तै काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ बाट वाम गठबन्धनकी उम्मेदवार एमालेकी रमा आलेमगरले प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार धर्मनन्द्र श्रेष्ठलाई २ हजार ८ सय ३२ मत बढी ल्याएर पराजित गरिन् । रमाले ९ हजार ९ सय ३ मत ल्याएकी छिन् भने श्रेष्ठले ७ हजार १७ मत ल्याएका थिए ।

लालकुमारी पुन

ललितपुर क्षेत्र नं. १ को (क) को प्रदेशसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी लालकुमारी पुनले कांग्रेसका ऋषिराम घिमिरेलाई २ हजार ७ सय ३६ मत अन्तरले पराजित गरिन् ।

पुनले १२ हजार ८ सय ४१ मत ल्याएर विजयी भइन् भने घिमिरेले १० हजार १ सय ५ मत प्राप्त गरी पराजित भए ।

आशा कोइराला

तनहुँ क्षेत्र नं २ को ‘क’ बाट प्रदेशसभा सदस्यमा आशा कोइरालाले पाँच मतको अन्तरले कांग्रेसका उम्मेदवार प्रदिप पौडेललाई पराजित गरिन् ।

कोइरालाले १६ हजार ६ सय ४६ मत प्राप्त गरी विजयी भईन् भने पौडेलले १६ हजार ६ सय ४१ मत पाएका छन् ।

ज्वाला साह

यस्तै बारा क्षेत्र नम्बर ३ (क) बाट वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी ज्वाला साह प्रदेशसभा सदस्यमा कांग्रेसका रामनन्द परसाद यादवलाई पराजित गर्दै विजयी भईन् । उनले १ हजार ६२४ मत अन्तरले यादवलाई पराजित गरेकी हुन् । साह ११ हजार ७ सय ७१ मत प्राप्त गरिन् भने गरिन् भने यादवले १० हजार १ सय ४७ मत प्राप्त गरे ।

शारदा थापा

महोत्तरी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभामा वाम गठबन्धनकी उम्मेदवार नेकपा एमालेकी शारदा थापाले १ हजार २ सय ५१ मत बढी ल्याई नेपाली कांग्रेसका प्रल्हाद कुमार क्षेत्रीलाई पराजित गरिन् । उनले १० हजार २ सय ८२ मत पाएकी छन् भने क्षेत्रीले ९ हजार ३१ मत पाए ।

प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दलबाट ३६ महिलाले उम्मेदवारी दिएका थिए । जसमा प्रतिनिधि सभातर्फ १६ र प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट ३ महिलाले उम्मेदवारी दिएका थिए ।

प्रदेशसभातर्फ २० जना महिला मध्ये ६ महिलाले ठूला दलबाट उम्मेदवारी दिएका थिए । यस्तै दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशतर्फ २ सय ९ महिलाले उम्मेदवारी दिएका थिए ।

-News Source : खेमा बस्नेत

 

Must View