कृषि विकास बैंक न्यूरोड शाखामा भएको ५करोड भ्रष्टाचार काण्ड यस्तो
काठमाडौंको न्यूरोडस्थित कृषि विकास बैंकको शाखा कार्यालयमा झण्डै ५ करोड रकम हिनामिना गरेको अभियोगमा बैंकका सहायक टेलर दिपिका रेग्मी, शुरुमा पक्राउ परिन् । यति ठूलो भष्टाचार काण्डमा दीपिका एक्लैमात्र थिइनन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा शाखाका प्रबन्धक पनि तानिएका छन् । थप ३ जना पक्राउ परेका छन् । प्रहरीले शाखाका मुख्य प्रबन्धक प्रेमहरि ढुंगेलसहित इसीसी प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर मरहट्टालाई पक्राउ गरेको छ ।
यसअघि प्रहरीले बैंकका सहायक टेलर दिपिका रेग्मी, तेह्रथुम घर भइ हाल काठमाडौंको बालाजु बस्दै आएका प्रकाश घतानी र दोलखा घर भइ हाल काठमाडौं बस्दै आएका रमेशकुमार थापालाई पक्राउ गरेको थियो ।
उनीहरुले बैंकको अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको सीआइबीले जनाएको छ । पक्राउ परेकाहरुमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको छ ।
रेग्मी मुख्य याेजनाकार
कृषि विकास बैंकको न्यूरोड शाखाको भ्रष्टाचार प्रकरणको मुख्य योजनाकार बैंककी सहायक टेलर दिपिका रेग्मी भएको प्रहरीको भनाइ छ । उनले सेवाग्राहीले जम्मा गरेको चेक ‘इलेक्ट्रोनिक चेक क्लियरेन्स’ (ईसीसी) मार्फत सम्बन्धित सेवाग्राहीको खातामा जम्मा गरेपछि भुक्तानी वापत जेनेरेट गरेको रिपोर्टलाई इडिट गरेर त्यही चेक पुनः प्रयोग गर्ने गरेकी थिइन् । र, त्यो रकम बैंकमा रहेको आफ्नो र आफन्तको खातामा रकम जम्मा गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
भ्रष्टाचार भएको रकम मध्ये केही प्रकाश घतानीको खातामा जम्मा हुने गरेको थियो । त्यो रकम वापत उनले रेग्मीलाई सुनका गरगहना दिने गरेको खुलेको छ । त्यस्तै, रमेश थापा भने रेग्मीको सहयोगीको रुपमा भ्रष्टाचार प्रकरणमा संलग्न भएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।