नागरिक पोष्ट News


के होला शेयरबजार ? वाम गठबन्धनको सरकार आएमा

4.4K

- रामप्रसाद गौतम

नेकपा एमाले र माओवादी केन्द्रबीचमा वाम गठबन्धन भएपछि तरङ्गित भएको नेपाली राजनीति केही स्पष्टता र केही अन्योलमा रूमलिँदै गएको छ । यसबीचमा शेयरबजार बढ्ने र घट्ने भयो । वाम गठबन्धनका एक नायक र सम्भवतः केही दिनपछि नै प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेका केपी शर्मा ओलीले हामीले उदारवाद उन्मुख अर्थतन्त्रलाई कुनै असर पार्दैनौं भनेपछि बजार केही सम्हालिएको छ ।

उनले मौखिक रूपमा जेसुकै भने पनि साम्यवादी अर्थतन्त्र र पूँजीवादभित्र आधारभूत भिन्नता छन् । त्यसकारण अबको शेयरबजार यदि वाम सरकार बनेमा कुनै न कुनै रूपमा प्रभावित हुन्छ । वाम पार्टीहरूले जित्ने मुख्य आधार उनीहरूको समाजवादी चिन्तन हो । यसले गर्दा उनीहरूले बजेट कुनै न कुनै रूपमा पूँजी निर्माण र पूर्वाधारमा भन्दा वृद्ध भत्ता, सामाजिक सुरक्षामा बढी लगाउने गर्छन् । यसले गर्दा बैङ्किङ, बीमा, उत्पादन र कृषिक्षेत्रमा पूँजीप्रवाह कम हुन गई आर्थिक मन्दीसम्म पुग्न सक्छ । त्यतिबेला शेयरमा केही नकारात्मक असर पर्ने देखिन्छ ।

हुनत नेपालमा साम्यवाद एउटा परिकल्पनामात्र हो । एकपटक शीतयुद्धताका विश्वव्यापी भएको र लगभग विश्वका ४० प्रतिशत देशमा फैलिएको साम्यवाद विस्तारै खुम्चिँदै गएको छ । सन् १९९१ मा सोभियत सङ्घ टुक्रिनासाथ नेपालमा कम्युनिजमले पनि बहुदलीय प्रतिस्पर्धा गरेर चुनावको माध्यमबाट सरकार बनाउनुपर्छ भन्ने आवश्यकता महसूस गरी २०४७ सालमा मदन भण्डारीले तत्कालीन माले र पछिको एमालेको राजनीतिक कार्य्दिशा परिवर्तन गरी बहुदलीय जनवादको नारा ल्याएका थिए । यही फ्युजनले २०४८ सालको चुनावमै वामपन्थी एक वैकल्पित शक्तिका रूपमा परिणत भयो । २०५१ को चुनावमा विश्वका सबै दर्शनलाई चुनौती दिँदै चुनावको माध्यमबाट विश्वमै पहिलोपटक वामपन्थीको सरकार बन्यो । उसले पनि पूँजीवादलाई कहिल्यै त्यागेन ।

Image result for share market

यसको अर्थ नेपालको वामपन्थ पूर्णरूपमा जडसूत्रवादी छैन । यसले समयसमयमा आफ्नो रूप, नीति, सिद्धान्तलाई परिवर्तन गर्न सक्छ भन्ने कुरा स्पष्ट छ । जनयुद्ध, शान्ति प्रक्रिया, चुनाव र सरकारसम्मको यात्रा हेर्दा नेपालमा कम्युनिजम नै छैन भन्नेहरू पनि भेटिन्छन् । तर, शब्द सन्त्रासमा यो छ । एकपटक बाबुराम भट्टराईले शेयरबजार भनेको जुवा खेल्नुजस्तै हो भन्दा नेप्से ज्यादै तल झरेको थियो । भोलि कुनै वाम नेताले जुवा नै नभने पनि यो अनिश्चितताको खेल हो मात्र भनी दिए पनि नेप्से तल आउनसक्छ ।

रत्नराज्य क्याम्पसका सहप्राध्यापक प्रबलराज पोख्रेलको भनाइलाई सापटी लिने हो भने नेपालमा वामपन्थ प्रजातान्त्रिक आचरणमा बहुमतमा छ । यदि वामपन्थले आफ्नो लोकतान्त्रिक चरित्र त्याग्ने हो भने यो एउटा सिद्धान्तवादीको सानो झुण्डमा मात्र सीमित रहन्छ । यसलाई जडसूत्रवादी भनिन्छ । यसको अर्थ वाम गठबन्धनको सरकार नै बन्दैन भन्न खोजिएको हो । त्यस्तो भएछ र लोकतान्त्रिककै सरकार बनेछ भने पनि वाम आतङ्कले गर्दा दिगोरूपमा शेयर बढ्ने अवस्था देखिँदैन ।

सबैभन्दा ठूलो कुरा केही दिनपछि कसको सरकार बन्छ, त्यसले मात्र शेयरको मूल्य बढ्ने वा घट्नेको निर्धारण हुनेछ । स्थानीय निर्वाचनमा २९ लाख हाराहारीमा नेकपा एमाले, १७ लाख हाराहारीमा माओवादी केन्द्र्र र २ लाख जति अन्य साना वामदलको मत आएको थियो । प्रस्पिर्धीका रूपमा रहेको कङ्ग्रेसले मात्र २८ लाख मत पाएको छ । यसको अर्थ मतदाताको मनस्थिति अलिकति पनि नबदलिएर स्थानीय निर्वाचनमा जस्तै हुने हो भने वाम गठबन्धनले आरामसँग बहुमत ल्याउने देखिन्छ । अर्थात् त्यतिबेलाको डाटाले त्यही सङ्केत गर्छ । त्यसो भएमा शेयर बजार स्थिर हुनेछ ।

तर, मतदाताले पहिला जता मत दिएका थिए, अहिले पनि त्यतै मत देलान् भन्ने सोच्नु बेकारको परिकल्पना हो । किनकि मतदाताको मनस्थिति परिवर्तनशील हुन्छ । पहिलो र दोस्रो संविधानसभाको मत हेर्ने हो र भारतमा २००९ र २०१४को मत हेर्ने हो भने आकाश जमीनको अन्तर छ । त्यसैले पुरानो तथ्याङ्कलाई आधार मानेर कसको सरकार बन्ला भन्ने अनुमान गर्नु बेकार छ । तराईमा वाम गठबन्धन शून्य नै भयो भने लोकतान्त्रिक गठबन्धनको सरकार पनि बन्न सक्छ । त्यसो भए पनि शेयर ज्यादै उर्लने अवस्था छैन ।

माइकल फुकोको भनाइअनुसार सत्यले शक्ति सृजना गर्छ र शक्तिले सत्य । अर्थात् ट्रुथ क्रियट्स पावर एण्ड पावर क्रियट्स ट्रुथ । यस कुरालाई अन्य प्रतिनिधि वस्तुले प्रमाणित गर्दै जान्छन् । कोही शक्तिशाली छ भन्ने कुरा अर्को प्रतिनिधि पात्रहरूले प्रमाणित गरिरहेका हुन्छन् । जस्तै मिडिया, स्ट्राटेजिक एलायन्सहरू, विदेशी निकायहरू आदिले को शक्तिशाली छ भन्ने कुरा प्रमाणित गरिरहेका हुन्छन् । यो सबै यसपटक वामगठबन्धनकै पक्षमा भएकाले सरकार बन्नेमा ६० प्रतशित वाम र ४० लोकतान्त्रिकको अवसर देखिन्छ ।

यसरी अबको करीब १० दिनभित्र निर्वाचनको परिणामले नै शेयरको भविष्य निर्धारण गर्ने स्पष्ट छ । देशको आजको अवस्था हेर्ने हो भने प्रजातान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन शक्तिशाली छ र मनोवैज्ञानिक मत पनि त्यो समूहलाई प्राप्त छ । किनकि जनताले स्थानीय निर्वाचनमा प्राप्त भएको दुई पार्टीको मत जोडेका छन् र वाम गठबन्धन सोही मतलाई जोडेर गदगद छ । यसमा चामत्कारिक परिवर्तन पनि नहोला ।

अर्को्तिर लोकतान्त्रिक गठबन्धनले के सोचेको छ भने त्यतिबेला वामपन्थीहरूले पाएको मत उनीहरूले लोकतन्त्रलाई स्वीकार गर्दाको मत हो । वामपन्थीहरू प्रजातान्त्रिक थिए, तब मान्य थिए । अब जितेमा लोकतन्त्र नै धरापमा पर्ने किसिमका भाषण गरेका छन् । त्यो अवस्थामा स्वतन्त्रताप्रेमी वाम मतदाता उनीहरूलाई भोट दिँदैनन् भन्ने मनोविज्ञान कङ्ग्रेसको छ । मणि हराइसकेपछि सर्पलाई कसले पो नागमणि भनेर पुज्ला ? त्यसैले वामपन्थको हावा फुस्कन्छ भन्ने मान्यतामा बसेका छन् प्रजातन्त्रवादीहरू ।

गठबन्धन भनेको गठबन्धन नै हो जुन टिकाउ हुने प्रकृति पनि छैन, प्रवृत्ति पनि छैन नेपालमा । एउटा कर्मचारी, एउटा महाप्रबन्धक, एउटा डीएसपीमा तेरो र मेरो गर्नेहरूले ५ वर्षसम्म कसरी सरकार टिकाउलान् ? जनताले यो सबै कुरा सूक्ष्म रूपमा हेरेको छ । अहिले जनता विगतको चुनावमा जस्तो खुलेको पनि छैनन् । उम्मेदवारहरू घरदैलोमा त छन्, घरमा गएका नेतालाई कसैले पनि मैले मत दिन्न भन्दैन, भन्ने कुरा पनि होइन । तसर्थ वामपन्थको स्थायी सरकारको नारा र लोकतान्त्रिक गठबन्धनको प्रजातन्त्र मासिने हल्ला भनौं वा दाबीको बीचमा ३० प्रतिशत अनिर्णित भोटले विजेताको निर्धारण हुने देखिन्छ ।

कुन गठबन्धनले जित्ने भन्ने कुरालाई त्यसको उद्देश्य, त्यहाँको भित्री सम्झौता र डिजाइनरको स्वार्थले पनि भूमिका खेलेको हुन्छ । वाम गठबन्धन हुन अदृश्य तयारीहरू, आन्तरिक बैठक र छलफलहरू निश्चय पनि गहन भए । तर, लोकतान्त्रिक गठबन्धनले त्यो तयारीको मौका पाएन । तसर्थ योजनाबद्ध गठबन्धनले पक्कै पनि धेरै अभ्यास गरेको होला । त्यो अभ्यासको क्रममा भोलिको पार्टीको साङ्गठनिक स्वरूपका बारेमा पक्कै कुरा भएको छ । त्यो कुराकानी भद्र सहमति मात्र हो वा लिखित छ, त्यो जानिएन ।

जसरी मूल्याङ्कन गरिए पनि आगामी ५ वर्ष कसको सरकार बन्ने भन्ने कुरामा पहिलो निर्णयकर्ता जनताको स्वविवेक हो, दोस्रो गठबन्धनहरूको इमानदारी, तेस्रो चुनावी लहर र कतै पैसा र प्रलोभन, जातीय कार्ड, धार्मिक कार्ड आदि छ । चौथो उम्मेदवारको लोकप्रियता र जनसामीप्यका कारण हुन सक्छ ।

अन्तिम र सबैभन्दा निर्धारक तत्त्व भनेको शक्ति नै हो । चुनाव प्रायः उसले जित्छ जसले सत्तामा पुग्ने बढी सम्भावना बोकेको हुन्छ । अहिले जनताको मानसपटलमा वाम गठबन्धनले सरकार बनाउँदै छ भन्ने कुरा घरघरमा र्पुयाउन गठबन्धन लागेको छ । लोकतान्त्रिकले त्यो विश्वास सर्वसाधारणलाई दिनसकेका छैन । यदि वाम गठबन्धनको सरकार बनेमा शेयर घट्नेछ, किनकि उनीहरू सस्तो लोकप्रियताकै पछाडि दौड्नेछन् ।

(आर्थिक अभियानका लागि रामप्रसाद गौतमले लेखेको लेख)

Must View